निर्वाचन, पैसा र देवी न्यौपाने !

निर्वाचन, पैसा र देवी न्यौपाने !



‘पर्याप्त पैसा’ नभएको कारणले नै ‘शहिद’ बनाइएका नेपाली कांग्रेसका नेता देवी न्यौपानेको निधन भएको एक वर्ष व्यतित भएको छ । उपरोक्त वाक्यमा धेरै सहमति, असहमति हुनसक्छ, दृष्टिकोण, धारणा, विश्लेषण फरक हुनसक्छ । कारण ‘पर्याप्त पैसा’ नहुनु, मात्र नहुन सक्छ । यसभित्र अन्य सहायक कारणहरु, अवस्थाहरु हुन सक्छन् । ‘शहिद’ भन्ने शब्दसँग पनि असहमति हुन सक्छ । पद प्राप्ति नहुने बितिक्कै शहिद हुने होइन । वैचारिक, सैद्धान्तिक राजनीतिको अवसान भएपश्चात् राजनीति जोगी हुन गरिएको हुँदैन भन्ने मान्यता सान्दर्भिक बन्छ । चाहना नराखेको भए भिन्नै कुरा हुन्थ्यो, न्यौपानेभन्दा राम्रा र असल मानिसहरुले अवसर पाएर उहाँले नपाएको भए ‘शहिद’ बनाएको सन्दर्भ असामयिक हुन सक्थ्यो ।

निर्वाचनको माहोल भएर पनि होला, पैसा नभएर धेरै पुराना त्यागी र इमान्दार मानिस जसरी हिजोदेखि नै ‘शहिद’ बन्दै आएका थिए, त्यो क्रम अरु विस्तारित हुनेछ । हात पाखुरा बलिया भएर बडीविल्डर, मनी विल्डर तथा हाउस विल्डरहरु नै हावी हुनेछन् दिनप्रति दिन । त्यस अर्थमा देवी न्यौपानेहरु साँच्चै नै बहुदलीय व्यवस्था पुनस्र्थापना भए पश्चात् पार्टी सत्तामा गएकै अवस्थामा आफूले जेलनेल, त्याग, प्रचार संघर्ष गरी ल्याएको शासन प्रणाली नै औपचारिक रुपमा अभ्यास गरेकै कालखण्डमा ‘शहिद’ बनाइएका कांग्रेसका इमान्दार नेता थिए ।

कांग्रेसका सभापति शेरबहादुर देउवाभन्दा औपचारिक उमेरमा तीन वर्ष मात्र कान्छा, सँगसँगै राजनीतिक यात्रा आरम्भ गरेका, निरन्तर पार्टी राजनीतिमा क्रियाशील भएका देवी न्यौपानेले भूमिका प्राप्त गर्न नपर्ने कुनै तार्कित कारण छैन । निर्वाचनको समयमा एउटै मात्र अयोग्यता देखाइयो कि उहॉसँग पर्याप्त पैसा छैन, खर्च गर्न सक्नुहुन्न, त्यसैले चुनाव जित्न सकिदैन । दोलखा जिल्लामा पर्याप्त पैसा भएकाहरुले पनि चुनाव नजितेको नजिर छ । पैसा नभएका भीमबहादुर तामाङले कांग्रेसको चुनाव जितेको इतिहास छ । तर पैसा भएकाहरुले हारेकै अवस्था हो ।

माओवादी द्वन्द्वको समयमा काठमाडौंमा विस्थापित जीवन बिताइरहनु भएका न्यौपानेसँग विरामी हुँदा सिटामोल किन्ने पैसा नभएको समेत घटना मेरो स्मृतिबाट जाँदैन ।

मृत्युपश्चात् न्यौपानेप्रति आस्था र सम्मान देखाउनेहरुले पनि मौकामा उहॉसँग पैसा छैन भनी असहयोग नै गरेका हुन् । विचार, सिद्घान्त, आदर्श र निष्ठा भरेको राजनीतिमा इमान्दारिता र योग्यता पराजित हुनु अस्वभाविक होइन । त्यो रोगले धेरैलाई खान्छ नै । अनुभूति गर्ने समयसम्म समयले नेटो काटिसकेको हुनेछ । त्यतिबेला धेरै न्यौपानेहरु ‘शहिद’ भइसक्ने छन् र उनीहरुसँग पछुताउनुको विकल्प हुने छैन । निर्वाचनको मौषम भएकाले स्वर्गीय न्यौपानेलाई पुण्यतिथिमा स्मरण गर्दा योग्यता निर्धारिण गर्ने महत्वपूर्ण विषय बनेको भनी र यसलाई प्रसँग कोट्याउनु सान्दर्भिक नै लागेर यहाँ उठानसम्म गरिएको हो । निर्वाचन महँगो भएको चर्चा चलिरहँदा पर्याप्त पैसा नभएको भनी आन्दोलनको ऊर्जालाई नजरअन्दाज गरी भूमिकाविहीन गराउनु अन्यायको पराकाष्टा नै हो । यसले नेपालको लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गर्न सहयोग पु-याउँदैन, बद्नाम गराउँछ, गराउँदै लगेको छ ।

सामान्य असावधानीका कारण अकल्पनीय किसिमको मृत्युवरण गर्नप-यो– स्वर्गीय न्यौपानेले । मेरो अति निकटको अभिभावक र गुरु भएकाले धेरै किसिमका अनुभूतिहरु छन् । नेपाली कांग्रेसको अविचलित योद्धा देवी न्यौपाने मेरो शैक्षिक यात्राको प्रारम्भिक दिनका औपचारिक गुरु हुनुहुन्थ्यो । उहाँबाट औपचारिक ज्ञान मात्र प्राप्त भएको छैन, अनौपचारिक र राजनीतिक शिक्षा तथा इतिहासको जानकारी समेत प्राप्त भएको छ । पार्टीप्रतिको निष्ठा सम्झदा मलाई एउटा प्रसँगले झस्काइ रहन्छ । उहाँ जिल्लाको भीम दाइपछिको वरिष्ठ नेता हुनुहुन्थ्यो । तर पनि २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन जफे गाविसको अध्यक्षको उम्मेदवार हुन कसैले पनि इच्छा नराखेपछि म बन्छु भनी स्वीकार गर्नुभएको थियो ।

२०५१ सालमा नै प्रतिनिधिसभा सदस्यका निम्ति दाबी गर्नुभएका न्यौपानेले २०५४ को स्थानीय निर्वाचनमा जफे गाविसको अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु अन्य व्यक्तिहरु तयार नभएपछि म नै पार्टीको प्रतिनिधित्व गर्छु भनी उम्मेदवार हुनु पार्टीप्रतिको निष्ठा, इमान्दारिता र त्याग थियो । त्यसलाई स्मरण गर्न आज कोही तयार छैन । आफूलाई अनुकूल हुने अवस्था आउँछ, आउँदैन भन्ने चिन्ताबाट मात्र पार्टीका नेता तथा कार्यकर्ता निर्देशित र परिचालित छन् । दोस्रो खड्किने विषय २०५६ को आम निर्वाचनमा प्रचार प्रसारको क्रममा जफेकै तल्लो भागमा आएपछि छरछरे भन्ने ठाउँमा एमालेका नेता कार्यकर्ताले माथिबाट ढुंगा बर्साउन थाले । न्यौपानेको हात भाँचिएर प्लास्टर गरिएको थियो । उहाँ भाँचिएको हात लिएर कसरी खेतको गह्रा गह्रा भाग्नुभयो भन्ने म कल्पना नै गर्न सक्दिनँ । उक्त घटनामा म चाहिँ भागिन, जे पर्ला पर्ला भनेर मुकाबिला गरे, अरु सबै भाग्नुभएछ । पूर्व सभापति उद्धव काफ्लेलाई एमालेका नेता हाल तामाकोशी गाउँपालिका अध्यक्षले नराम्रोसँग लठी नै लठीले हिर्काएको मेरो स्मृतिमा ताजै छ । मलाई त्यस घटनामा भाइ सरोज काफ्लेले साथ दिएको छ । हामी दुई भाइमाथिबाट हानिएका उद्धव काफ्लेको उद्दार गरी उपचारका लागि चरिकोट ल्याउन सफल भएका थियौं । स्वर्गीय न्यौपाने कसरी जोगिनु भयो र भाग्नुभयो भन्थे मैले अहिलेसम्म अनुमान गर्न सक्दिनँ । त्यसै गरी माओवादी द्वन्द्वको समयमा काठमाडौंमा विस्थापित जीवन बिताइरहनु भएका न्यौपानेसँग विरामी हुँदा सिटामोल किन्ने पैसा नभएको समेत घटना मेरो स्मृतिबाट जाँदैन । यस्ता धेरै घटना छन्, जसलाई समयक्रममा कोट्याउँदै जाउला । स्वर्गीय न्यौपानेको पुण्यतिथीमा उहाँप्रति हार्दिक श्रद्धासुमन !