निगमले थाल्यो काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु

निगमले थाल्यो काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ । निगमले आजदेखि सुरु गरेको जनाएको छ । नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान आज सवा पाँचबजे प्रस्थान गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि उडान अनुमति प्राप्त भएपश्चात् उक्त गन्तव्यमा निगमले आफ्नो गन्तव्य विस्तार गरेको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

निगमले हाल भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेशियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएकोमा नयाँ गन्तव्यको रुपमा साउदी अरेबियाको रियाद बनेको छ ।

यससँगै अब ८ मुलुकका १० वटा गन्तव्यहरुमा निगमले उडान सञ्चालन गर्ने भएको छ । उक्त गन्तव्यहरुमध्ये निगमले दिल्लीमा दैनिक २ वटा उडान सञ्चालन गर्दै आएको छ भने अन्य गन्तव्यहरुमा साप्तहिक रुपमा क्रमशः मुम्बई, बैङ्लोर, क्वाललम्प र बैंककमा ३-३ वटा, दोहामा ५, दुबईमा ५, हङकङमा १ र नारितामा ३ वटा उडान सञ्चालन गर्दै आएको छ । त्यस्तै, दोहा र क्वालालम्पुरको उडान छिट्टै दैनिक रुपमा सञ्चालन गर्ने तयारी रहेको निगमले जनाएको छ ।

उल्लेखित गन्तव्यका अन्तर्राष्ट्रिय उडानहरुमा हाल निगमको सिट अकुपेन्सी ८० प्रतिशत भन्दा बढी रहेको निगमको दाबी छ ।