कांग्रेसले पार्टीबाट निकाल्यो कर्णबहादुर मल्ललाई

कांग्रेसले पार्टीबाट निकाल्यो कर्णबहादुर मल्ललाई


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीविपरीत गतिविधि गरेको भन्दै कांग्रेसले आज सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका मल्ललाई कांग्रेसको सदस्यबाट निकालेको हो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर मल्ललाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको उल्लेख गरेका छन्।

‘कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसको १४ औं महाधिवेशनदेखि नै मल्ल र सभापति शेरबहादुर देउवा पक्षबीच डडेल्धुरामा विभिन्न विषयमा विवाद थियो। मल्ल पक्षबिनै कांग्रेसले डडेल्धुरामा अधिवेशनसमेत गरेको थियो। पछिल्लो समय मल्ल पक्षले डडेल्धुरामा नेकपा एमालेसँग मिलेर चुनावमा उठ्ने निर्णय गरेपछि उनलाई कांग्रेसले पार्टीबाट निकालेको हाे ।