भोट कसलाई दिने त ?

भोट कसलाई दिने त ?



मुख्यतय: जवाफ यिनै हुन्- पहिलो, जस्तो मान्छे उठोस् मतलब भएन भोट आफ्नै पार्टीकाे मान्छेलाई दिने हो । दोस्रो, चिनेको, नाता पर्ने वा सम्बन्ध भएको मान्छे छ भने उसलाई दिने हो । तेस्रो, हैन कसैले नि केही गर्ने हैनन्, म त भोट नै नदिने ।

सायद मैले तपाईंहरुको मनकै कुरा भनेँ होला ! जबसम्म मतदातामा यस्ता सोच हुन्छन्, परिर्वतन कदापी हुँदैन । याद राख्नुहोस्, यिनै कारणले हामी जस्ता युवाका कलिला सपनाहरूमाथि तुषारापात हुनेछ । तपाईँहरुकै सन्ततिमाथि घात हुनेछ ।

यतिबेला देश स्थानीय निर्वाचमा होमिएको छ । आम मतादाता आफ्नो स्थानीय सरकारका प्रतिनिधि छान्ने तरखरमा छन् । मतदान कुनै व्यक्तिले बिहान लगाउने लुगाको छनोट वा मेनुमा रहेको खानाको निर्णय होइन । मतदान व्यक्तिगत सम्पत्ति होइन, साझा विरासत हो ।

तपाईं हामीले पुरानै शैलीमा भोट हाल्यौँ र बिक्याे भने याद राख्नुहोस्, तपाईंका ती साना–साना छोराछोरीका कलिला सपनाहरुको धारिलो छुरिले हत्या गर्दै छौँ । तपाईंको भोट बिक्री भयो भने लेखेर राख्नुहोस्, तपाईकै कारणले तपाईंको आफ्नै छोराछोराछोरीको भविष्य बिक्री हुनेछ ।

भाषणमा, मिडियामा प्रगतिशील देखिनका लागि नक्कली प्रगतिशीलहरुले बर्षौँ देखी बनाएको नक्कली भाष्य होइन, अब असली कुरा गरौं ।

नेपालमा हुँदै आएको चुनावी अभियानको अभ्यास झुटा आश्वासन, हिंसा, शक्तिको दुरुपयोगका जालाहरुले घेरिएको छ । अब त्यो जालो तोड्नु भएन भने तपाईंकै घरको कसैले ताल्चा तोड्दापनि तपाईं टुलुटुलु हेर्ने भन्दा केहि गर्न नसक्ने अवस्था नआउला भन्न सकिन्न ।

राजनीतिक निर्णयहरूले हाम्रो दैनिक जीवनमा कसरी असर गर्छ भन्ने कुरालाई अक्सर बेवास्ता गरिन्छ, जुन कुरा बिल्कुलै गलत छ ।

“आफ्नै पाखुराको आधार चाहियो अब हामीलाई
आफ्नै पैतालाको संसार चाहियो अब हामीलाई ।
धाराको जस्तो हैन जिन्दगी
आफ्नै नदीको किनार चाहियो अब हामीलाई ।
देशप्रेमी, धैर्यशील, स्वाभिमानी र राष्ट्रिय अभिभारा बोक्न सक्ने
भिजन भएको नेतृत्व चाहियो अब हामीलाई ।”

देश अधोगतीतिर लागिरहेको छ । मोती फल्ने हिमाल, चिरञ्जीवी जडिबुटी फल्ने पहाड र तराईका सम्पदाको सही सदुपयोग गर्न नसक्दा मेरी आमा नेपाल गरिब भएकी छिन् । वातावरण भएर हैन, वातावरण नभएर हैन, वातावरण बनाउन नसकेर हैन, वातावरण नबनेर हैन आज यो देशमा भ्रष्टाचार र बेरोजगारी जस्ता समस्या बड्दै छन् । यस्तो अवस्थामा तपाई र म कसरी चुप बस्न सक्छौ ?

मतदान कुनै व्यक्तिले बिहान लगाउने लुगाको छनोट वा मेनुमा रहेको खानाको निर्णय होइन । मतदान व्यक्तिगत सम्पत्ति होइन, साझा विरासत हो ।

देशलाई सही मार्गमा लान, सही नेतृत्व चाहिन्छ; सही नेतृत्व, सही जनप्रतिनिधिलाई मतदान गरेपछि आउँछन् । मतदान गर्नु तपाईंको स्वतन्त्र अधिकार हो । मतदान बाध्यात्मक हुँदैन, तर जसले गर्छ उसले आफ्नो निर्णयको जिम्मेवारी बुझ्नुपर्छ । तपाईंको मतदान सही भएन भने स्वयं तपाईंलाई, मलाई, समाज र राष्ट्रलाई ठूलो नोक्सानी हुन जान्छ । तपाईंको मत तपाईंको योग्यता झल्काउने कसी पनि हो ।

अब कुरा आउन सक्छ सहि जनप्रतिनिधि कसरी चिन्ने त ? कसलाई भोट दिदा सहि नेतृत्व प्रदान गर्ला ?

चुनाव राजनीति दाउपेचको षड्यन्त्र हैन राजनीतिक यज्ञ बन्नुपर्छ । मतदाताहरु भोट हाल्ने मेसिन मात्र हैन सचेत नागरिक बन्नुपर्छ । घोषणपत्र कसैको पनि नराम्रो हुदैन, नेपाललाई सिंगापुर बनाउने सपनाहरू सजाईन्छ तर मेरो देश सिंगापुर हैन नेपाल; नेपाल जस्तो बनाउने नेतृत्व चाहिएको छ ।

यो पाँच वर्षको कार्यकाल हेर्दा चाटुकारहरुलाई वरिपरि राखेर दलाल अर्थतन्त्रमा रमाउने बाहेक केहि गरेको देखिन्न । मतदान गर्नुपूर्व याद गर्नुहोस्, म के र कसका लागि मतदान गर्दैछु ?

मेरो मतको सही सदुपयोग हुन्छ कि हुँदैन ?

तपाईंको मत लिने मान्छेले समाज, गाउँ शहर, तपाईंको क्षेत्र र सम्पूर्ण देशका लागि के गर्न सक्छ भन्ने कुराको हजार पटक सोचेर मात्र मत खसाल्नुहोस् । तपाईंको मत मतपेटीकामा खस्दै गर्दा तपाईंलाई यस्तो अनुभुती हुनुपर्यो कि मैले अबको पाँच बर्षलाई पुग्ने पुन्यको काम गरें । मतपेटिकालाई मन्दिर सम्झेर मतदान गर्नु भयो भने मलाई बिश्वास छ तपाईंको निर्णय गलत पक्कै हुनेछैन ।

मलाई काम गर्ने मान्छे चाहिएको हो, चुनाव चिन्ह र फलानो पार्टीसँग मेरो कुनै सम्बन्ध छैन भनेर मतदान गर्नुस् । सामान्य जागिर खानका लागि समेत न्यूनतम योग्यताको जरुरी पर्छ भने राजनीतिमा आउनका लागि किन पर्दैन तपाईं आफैं सोच्नुहोस त ?

झन् राजनीतिमा त समाजको आर्थिक, सामाजिक, सांस्कृतिक कुराहरूको विषयमा राम्रो ज्ञान भएको र सबैलाई समायोजन गरेर लान सक्ने भिजन र दुरदर्शिता भएको मान्छे चाहिने हैन र ? के अब यो राम्रा हैन हाम्रा हेर्ने अभ्यास परिवर्तन गर्नुपर्दैन ? कहिलेसम्म धानिरहने ‘भेडा’हरूको शासन ? भन्नुस् न चुपचाप बस्ने आखिर कहिलेसम्म ?

म यसको जवाफ यहि बैशाख ३० गतेको देशभरका मतदानबाट मुल्यांकन गर्नेछु । मलाई विश्वास छ, चुनावमा पक्कै यहाँहरूले गतिलो जवाफ दिनुहुनेछ । मलाई यो पनि विश्वास छ मजस्ता युवा जो आफ्नै देशमा केही गर्न चाहन्छन् ती युवाहरूलाई तपाईले पक्कै निराश बनाउनु हुने छैन ।

म र म जस्ता कयौँ युवा मतगणनाको नतिजा पर्खिरहेका छौ, देशमै केही नयाँ गर्ने जोशसहित ।