पार्टीमा भित्रिने नेतालाई टिकट उपहार

पार्टीमा भित्रिने नेतालाई टिकट उपहार


ग्लोब नेपाल
216
Shares

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ बिजयखर्कका टंक पोखरेल एमालेकातर्फबाट वडाध्यक्षका आकांक्षी थिए । एमालेबाटै मनोनयन दर्ताका लागि १२ वैशाखमा मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेल पुगे । तर, साँझ कांग्रेसकातर्फबाट वडा सदस्यको उम्मेदवार बनेर फर्किए ।

नेताले वडाध्यक्षमा उठाउने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुर्‍याए पनि अरूलाई टिकट दिएर मनोनयन गर्ने समय घर्काउने षडयन्त्र भएकाले तत्काल कांग्रेस प्रवेश गरेर वडा सदस्यको उम्मेदवार बनेको पोखरेलले बताए । पोखरेल एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी सदस्य थिए ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका कांग्रेस वडा सभापति महेश अधिकारी वडाध्यक्षमा उठ्ने तयारीमा थिए । साथीभाइलाई वडाध्यक्षमा सहयोग गर्न अपिल गर्दै आएका थिए ।

१२ वैशाखमा मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगे । तर, कांग्रेसबाट वडाध्यक्षमा टिकट पाउने अवस्था भएन । तत्काल उनी एमाले प्रवेश गरेर वडाध्यक्षको उम्मेदवारी दर्ता गरेर फर्किएका छन् ।

उसो त २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसका तत्कालीन वडा सभापति भलाराज राई एमाले प्रवेश गरेर वडाध्यक्षमा टिकट लिएर विजयी भएका थिए । कांग्रेसबाट एमाले बनेर वडाध्यक्ष बनेका राईले त्यही शैलीमा कांग्रेसका अधिकारीलाई एमाले भित्र्याएर ठाउँ छाडिदिएका छन् ।

कांग्रेसमा युवालाई अवसरबाट वञ्चित गरिराखिएकाले त्यसका विरुद्ध विद्रोह गर्नुपरेको अधिकारीले बताए । च्यास्मीटारमा कांग्रेसकातर्फबाट भुपालसिं राई वडाध्यक्षका उम्मेदवार छन् । उनी पूर्वगाविस अध्यक्ष पनि हुन् ।

यस्तै, एमालेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सदस्य चक्रप्रसाद रिजाल आसन्न स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा उठ्न बार्गेनिङ गरिरहेका थिए । तर, उनलाई एमालेले उम्मेदवार बनाउने अवस्था रहेन । त्यही झोकमा रिजाल तत्काल नेकपा एकीकृत समाजवादी प्रवेश गरेर वडा सदस्यको टिकट लिएर फर्किएका छन् ।

रिजाल र मोतीराम आचार्यलाई प्रदेश १ का सामाजिक विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य राजन राईले दिक्तेलस्थित पार्टी कार्यालयमा पार्टी प्रवेश गराएका थिए ।

टिकटका लागि पार्टी फेर्नेमा जिल्ला तहका नेतासमेत अगाडि देखिएका छन् । केही समयअघि कांग्रेस खोटाङका पूर्वकोषाध्यक्ष जीवन राई एमालेबाट बराहपोखरी गाउँपालिका उपाध्यक्ष पाउने सर्तमा एमाले प्रवेश गरे । सर्त अनुसार उनी एमालेका उपाध्यक्षका उम्मेदवार बनाइएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट अध्यक्षमा निर्वाचित सालिकराम बञ्जरा पुनः सोही पदमा दोहोरिने गरी उम्मेदवार बनेका छन् । गठबन्धन गर्नेक्रममा उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ । त्यसपछि राईले टिकटकालागि एमाले प्रवेशको बाटो रोजेका हुन् ।