ओली-धर्मेन्द्र पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटायो

ओली-धर्मेन्द्र पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटायो

संयोजकको जिम्मेवारी बास्तोलालाई


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ । बुधवारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो ।

भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले बताए । पार्टीको बहुमत केन्द्रीय सदस्यहरूको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बास्तोलालाई जिम्मेवारी दिइएको लोहनीले बताए ।

‘पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवजीहरूले उल्टाउनुभयो । पार्टीको विधि विधान विपरीत स्थानीय चुनावमा जान थाल्नुभयो । हामीले पार्टी निर्णयलाई समाएर बस्यौँ । उल्टै उहाँहरूले हामीलाई कारबाही गर्नुभयो’ लोहनीले भने, ‘हामीले विप्लवजीलाई महासचिवबाट हटाएर पार्टी संयोजक धर्मेन्द्र सरलाई बनायौ ।’

पार्टी केन्द्रीय समिति सदस्यको बहुमत भएकाले आधिकारिकता आफूहरूले पाउने लोहनीले बताए । भोलि सकिने ओली–बास्तोला पक्षको भेलाले पार्टीका सबै निर्णय सार्वजनिक गर्ने भएको छ । चितवन भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको छ ।