रुसद्वारा युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा भिषण आक्रमण

रुसद्वारा युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा भिषण आक्रमण



युक्रेन । रुसले युक्रेनको मारिओपोलस्थित एजोभस्टल स्टिल कारखानामा ठूलो आक्रमण गरेको छ । कारखानाभित्र सैयौं संख्यामा मानिसहरु आश्रय लिइरहे पनि रुसले फेरि आक्रमण थालेको हो । युक्रेनी सेनाले रुसी आक्रमणविरुद्ध सशक्त प्रतिकार गरिरहेको त्यहाँका कमाण्डरले बताएका छन् ।

कारखानाको सुरुङमा बालबालिकासहित अझै पनि २ सय भन्दा बढीले आश्रय लिइरहेको विश्वास गरिन्छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ बसेकाहरूको जीवन बचाउन मद्दतका लागि संयुक्त राष्ट्रसंघलाई अपील गरेका छन्।

यसअघि त्यहाँबाट सयौं नागरिकको उद्धार गरिएको थियो । यता रुसले कारखानाबाट थप मानिसलाई बाहिर निकाल्न आजदेखि युद्धविराम लागू गर्ने जनाएको छ । रुसी सेनाले मस्कोको सैन्य अभियानका लागि महत्वपूर्ण रहेको मारिओपोललाई घेराबन्दी र बमबारीमा हप्ता दिन बिताएका छन्।

यता क्रेमलिनले आगामी दिनमा युक्रेनमा सर्वत्र युद्ध घोषणा गर्ने अनुमानलाई खारेज गरेको छ। मस्कोले अहिलेसम्म युक्रेन युद्धलाई विशेष सैन्य अपरेशन भनेको छ।