देउवाप्रति कोइराला-निधि असन्तुष्ट

देउवाप्रति कोइराला-निधि असन्तुष्ट

कम्युनिस्ट पार्टीहरू टुटफुटको स्थितिमा रहेको भन्दै तालमेल नगरी निर्वाचनमा जाँदा कांग्रेस पहिलो हुने


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन निर्वाचनमा जाँदै गर्दा गठबन्धनको नेतृत्वदायी दल कांग्रेसमै कलह बढेको छ । संस्थापनइतर पक्षका नेता डा. शशांक कोइराला, निवर्तमान उपसभापति विमलेन्द्र निधिलगायत नेताहरू प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग सन्तुष्ट देखिएका छैनन् ।

निर्वाचन आउन चार दिन बाँकी छँदासम्म डा. कोइराला गठबन्धन दलका उम्मेदवारहरूलाई खुलेरै मत मागिरहेका छैनन् ।
कोइरालानिकट एक नेताका अनुसार संस्थापन (देउवा) पक्षले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्दा एक्लौटी गरेको छ । त्यसप्रति कोइरालाले असन्तुष्टि जनाउँदै आएका हुन् ।

हुन पनि कोइरालाले गठबन्धन दलहरूबीच तालमेल भएर ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता लगत्तै भनेका भनेका थिए, ‘अहिले दुःखका भन्नुपर्छ, टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताहरूप्रति समान रूपले न्याय गर्न सक्नु भएन ।’ डा. कोइराला निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेलमा अरुची राख्ने नेता हुन् । कम्युनिस्ट पार्टीहरू टुटफुटको स्थितिमा रहेको भन्दै तालमेल नगरी निर्वाचनमा जाँदा कांग्रेस पहिलो हुने उनको तर्क थियो ।

तर, १४ चैतमा सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा बहुमतले तालमेल गरेर निर्वाचनमा जाने निर्णय पारित गरेको थियो ।
त्यसप्रति पनि उनको असन्तुष्टि रहँदै आएको छ । उनले विज्ञप्ति जारी गरेर उनले सभापति देउवाविरुद्ध पार्टीमा लडिरहने उद्घोष यसअघि नै गरिसकेका छन् ।

‘हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं । तर, पनि हामी लड्छौं’, उनको भनाइ थियो । कोइराला मात्र होइन, निवर्तमान उपसभापति विमलेन्द्र निधि पनि देउवाप्रति सन्तुष्ट छैनन् । पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले चुनावी सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा आफूलाई नराखेको भन्दै असन्तुष्ट भएका हुन् ।

त्यही भएर उनले मधेस प्रदेशको राजधानी जनकपुर उपमहानगरपालिकामा आयोजित गठबन्धनको चुनावी सभा बहिस्कार गरे । जुन सभालाई सम्बोधन गर्न पार्टी सभापति देउवालगायत गठबन्धन दलका शीर्ष नेताहरू पुगेका थिए ।

निधि निकट नेता मनोजकुमार साहलाई उक्त उपमहानगरपालिकाको प्रमुख बनाउन चाहन्थे । तर, तत्कालीन राष्ट्रिय जनता पार्टी र हाल जनता समाजवादी पार्टीमा रहेका उपमहानगरपालिका पूर्वप्रमुख लालकिशोर साहलाई प्रमुख बनाउनेगरी देउवा भागबन्डा गरेपछि निधि रुष्ट थिए । सोही कारण पार्टीको तर्फबाट उपमहानगरपालिकाको सभापतिसमेत रहेका साहले १० वैशाखमा राजीनामा दिएर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिए ।

साहको स्वतन्त्र उम्मेदवारी निधिकै कारण परेको चर्चा छ । तर, साहले भने निकट भएकै कारण निधिले आफूलाई समर्थन गरेको भन्न नसुहाउने न्युज कारखानालाई बताए ।

यसरी एकातिर जनकपुर उपमहानगरपालिका गठबन्धन दलहरूबीच तालमेल हुँदा कांग्रेसले नपाउनु र अर्कोतिर आफ्नो राजनीति सिध्याउन देउवाले मधेसबाट नेता महेन्द्र यादवलाई अघि सारेको रूपमा निधिले बुझेको बताइन्छ ।

तर, देउवानिकट सहमहामन्त्री भीष्मराज आङ्देम्बे पार्टीभित्र नेताहरूबाट सन्तुष्टि/असन्तुष्टि व्यक्त भइरहने बताउँछन् । यसलाई अस्वाभाविक मान्न नहुने उनको भनाइ छ ।

‘जायज सवाल सम्बोधन हुन्छ । कतिपय सम्बोधन गर्न चाहँदा चाहँदै पनि प्राविधिक रूपमा हुँदैन । अहिले त्यस्तै भएको हो । र, केही नेताले असन्तुष्टि जनाउनु भएको होला । यसलाई स्वाभाविक मान्नुपर्छ’, आङ्देम्बेले बताए ।

कांग्रेसमा यसअघि देउवालाई घरिघरी आलोचना भने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहले गर्दै आएका थिए । तर, हाल पूरै साथ दिइरहेका छन् ।