केशव स्थापितले मागे माफी

केशव स्थापितले मागे माफी

‘केही महिला वृन्दहरूलाई यो मान्छे कठोर छ कि भन्ने लागेको छ भने यो मान्छे फूलजस्तो हो । सेवा गर्न पाउँ । माफ पाउँ मैले केही गल्ती गरेको भए । क्षमाको कमी भएको भए स्वीकार (कन्फेस) गर्छु’


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । नेकपा एमालेका काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले माफी मागेका छन् । मेयरमा उम्मेदवारी दर्ता गरेदेखि प्रचारप्रसारमा दिएका अभिव्यक्ति र व्यवहारलाई लिएर शाक्यले माफी मागेका हुन् । स्थानीय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा स्थापितले माफी मागेका हुन् ।

उनले भने, ‘मैले माफी माग्नुपर्छ । यो चुनावी युद्धमा, युद्ध नै हो भने हतियार प्रयोग गरिन्छ । मिसाइल प्रयोग हुन्छ । हामीमाथि पनि हमला होला, आरोप होला । त्योभन्दा चर्को हमला हामीले पनि गर्‍यौँ । अझ जिउ फुलाएर देखायौँ । नदेखाए त हेप्छ नि १ मैले नाचेँ होला, गाएँ होला र तिक्त भाषा बोले होला ।’

आफ्नो जित निश्चित भएको भन्दै स्थापितले थप माफी मागे, ‘मेरो वाणीले कसैलाई अप्ठ्यारो परेछ, माफ पाउँ । मेयर हुने मान्छेले माफ माग्न सिक्नुपर्छ । क्षमा पाऊँ । मेरो हाउभाउले दुःख भएछ, पीडा भएछ माफ पाउँ । मेरो लेखनले पीडा भएछ भने माफ पाउँ ।’

आफूमाथि आक्रमण भएको बेला छेकेको स्थापितको भनाइ थियो । ‘केही महिला वृन्दहरूलाई यो मान्छे कठोर छ कि भन्ने लागेको छ भने यो मान्छे फूलजस्तो हो । सेवा गर्न पाउँ । माफ पाउँ मैले केही गल्ती गरेको भए । क्षमाको कमी भएको भए स्वीकार (कन्फेस) गर्छु’ भन्दै उनले माफी मागेका हुन् । उनले कार्यक्रममा पटक पटक माफी मागेका थिए । स्थापितलाई लागेको महिलालाई यौन दुर्व्यवहारको आरोप चर्चामा आएको थियो ।