माओवादीको ‘साइज’ मा एमाले

माओवादीको ‘साइज’ मा एमाले

पछिल्लो निर्वाचन परिणामलाई विश्लेषण गर्ने हो भने एमाले र माओवादी केन्द्रको साइज लगभग उस्तै निर्धारण भएको छ । तत्काल माओवादीभन्दा १७ स्थान बढी जितेको नेकपा एमालेका लागि सत्ता गठबन्धन घाँडो बनेको देखिन्छ भने माओवादी केन्द्रलाई सहयोग पुगेको छ ।



काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आउने क्रम जारी छ । यो मत परिणामले राजनीतिक दलको साइज निर्धारण गर्ने बताइएको छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रहेका छन् ।

पछिल्लो मत परिणामलाई विश्लेषण गर्ने हो भने एमाले र माओवादीलाई स्थानीय निर्वाचनले झन्डै बराबरी साइजमा ल्याइदिएका छन् । २ सय ४३ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले १ सय २० स्थानमा जीत हासिल गरेको छ भने १ सय ९२ स्थानमा अग्रता कायम राखेका छन् ।

सुरुदेखि अग्रता लिएको नेकपा एमालेले यतिबेला दोस्रो स्थानमा छ । उसले ६६ स्थानमा जीत हात पारेको छ भने १ सय १६ स्थानमा अग्रता कायम राखेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ४९ स्थानमा जीत निकालेको छ भने ६० स्थानमा अग्रता कायम गरेको छ ।

यता, नेकपा एकीकृत समाजवादीले भने चार स्थानमा जीत हात पारेको छ भने १५ स्थानमा उसको अग्रता छ । उसका दुई स्थान भने निर्विरोध भएका हुन् । चार स्थानमा स्वतन्त्र निर्वाचित भएका छन् भने अझै पाँच स्थानमा स्वतन्त्र विजयी हुने सम्भावना छ ।

पछिल्लो निर्वाचन परिणामलाई विश्लेषण गर्ने हो भने एमाले र माओवादी केन्द्रको साइज लगभग उस्तै निर्धारण भएको छ । तत्काल माओवादीभन्दा १७ स्थान बढी जितेको नेकपा एमालेका लागि सत्ता गठबन्धन घाँडो बनेको देखिन्छ भने माओवादी केन्द्रलाई सहयोग पुगेको छ ।

एमाले अझै ११६ स्थानमा अगाडि छ, यद्यपि गठबन्धनका उम्मेदवारले उनीहरुलाई पछि पार्ने सम्भावना प्रशस्त छ । किनभने धेरै स्थानमा जीत नजिक पुगेका एमाले उम्मेदवार अन्तिममा पराजित हुनुपरेको थियो । माओवादीले ६० स्थानमा अग्रता लिएको छ । उसले यो अग्रता अझ बढाउने सम्भावना छ ।

अन्ततः गठबन्धनविरुद्ध हुँकार गरिरहेको नेकपा एमालेलाई जनताले माओवादी केन्द्रकै साइजमा ल्याइदिने सम्भावना बढेको छ । एमालेको साइज कत्रो हुने भन्ने कुराको निक्र्योल भने सम्पूर्ण मत परिणाम कुर्नुपर्ने हुन्छ ।