लोकतन्त्रको जीत र गठबन्धनको निरन्तरता

लोकतन्त्रको जीत र गठबन्धनको निरन्तरता

एमालेलाई गम्भीर ढंगले आत्मसमीक्षा गर्न र वाम आन्दोलनको हितमा उभिन भन्दै सहकार्यको हात फैल्याउन आतुर पात्र र प्रवृत्तिप्रति गठबन्धनका नेता बेलैमा सचेत बन्नु जरुरी छ ।



भयरहित वातावरणमा शान्तिपूर्ण र निष्पक्ष तबरबाट सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाममा सत्तारुढ गठबन्धनले शानदार जीत प्राप्त गरेको छ । तोकिएकै समयमा भब्यताका साथ स्थानीय चुनाव सम्पन्न हुनु लोकतन्त्रको विजय हो । प्रतिगमन भर्शेस लोकतन्त्रको राजनीतिक ध्रुविकरणमा लोकतन्त्र पक्षधर गठबन्धनलाई प्राप्त जनमतले संघीय लोकतान्त्रिक गणतन्त्र थप मजबुत बनेको छ ।

सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा, उम्मेदवार चयनमा चुक्दा तथा राजनीतिक इमानदारीता प्रदर्शन नहुँदा एमालेलाई चुनावी फाइदा पुगेको देखिन्छ । नभए एमालेले अहिले प्राप्त गरेजति सिट पनि जित्ने थिएन । क्विन्टल र किलोका ढकको लेखाजोखा गफाडीको गफमा होइन जनमतको तराजुमा जोखिएको छ । प्रतिगमन र अहंकार विरुद्ध जनताले गरेको फैसलालाई अपब्याख्या गरेर अझै पनि चुनावमा धाधली भयो भन्दै एमालेले गरिरहेको रोइलो दिउँसै टर्च बालेर हिड्नु जस्तै हो ।

चुनावी परिणामलाई लिएर पाँचदलीय गठबन्धनभित्रकै शीर्ष नेताहरुबाट व्यक्त बिचारहरु पनि जनभावना अनुकूल पटक्कै देखिदैन । गठबन्धनको फाइदा कांग्रेसले मात्र उठायो भन्नु र कांग्रेस माओवादीले मात्रै राजनीतिक फाइदा लिए भन्नु दुवै अतिरञ्जनापूर्ण देखिन्छ । गठबन्धनको जीतलाई समग्रतामा मुल्यांकन गरेर थप कसिलो पार्दै लैजाने तथा कमजोरीलाई सुधार्ने मौकाका रुपमा उपयोग गर्नेतर्फ ध्यान दिनु पर्दछ । चुनावी परिणामबारे गठबन्धनको बैठकमा गम्भिर समीक्षा हुनु जरुरी छ ।

काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उमेदवारको अग्रतालाई पनि लोकतन्त्रकै सुन्दर पक्षका रुपमा लिनुपर्दछ । राजनीतिक दलहरुप्रतिको वितृष्णा या विकल्पको खोजिको अर्थमा यसलाई अपब्याख्या गर्नु जायज होइन ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन गठबन्धनलाई चुनावी प्रतिस्पर्धामा पनि कायमै राख्ने पक्षमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उठाएको राजनीतिक जोखिमलाई जनताले अनुमोदन गरिदिएका छन् । स्थानीय सरकारमा अत्याधिक सिट जितेर कांग्रेसलाई पहिलो पार्टी बनाउने र गठबन्धनलाई जोगाएर संघीय चुनावसम्म कायमै राख्ने देउवाको योजनालाई आम मतदाताले दिएको समर्थन यसैको उदाहरण हो ।

काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उमेदवारको अग्रतालाई पनि लोकतन्त्रकै सुन्दर पक्षका रुपमा लिनुपर्दछ । राजनीतिक दलहरुप्रतिको वितृष्णा या विकल्पको खोजिको अर्थमा यसलाई अपब्याख्या गर्नु जायज होइन । लोकतन्त्रमा राजनीतिक दलको विकल्प दलहरुनै हुन् । पार्टीभित्र आन्तरिक लोकतन्त्र बढाउदै लैजाने, निर्णय प्रकृयामा पारदर्शीता र जवाफदेहीता अपनाउने एवं जनभावना अनुरुप रुपान्तरित हुदै जाने तर्फ दलहरु अग्रसर हुनै पर्दछ । नेता र दलहरु अझै सच्चिन जरुरी छ भन्ने सन्देश स्थानीय चुनावको मतपरिणामले दिएको देखिन्छ । राजनीतिमा युवाहरुको जवरजस्त हस्तक्षेपलाई अब कसैले रोक्न सक्दैन । सक्षम युवाको खोजि गरि अवसर र उचित जिम्मेवारी दिन कन्जुस्याई गरेमा त्यसले पार्टीलाईनै क्षति पुर्याउने निश्चित छ ।

स्थानीय चुनावको नतिजा सार्वजनिक भएसँगै वाम एकता र वाम आन्दोलनको हितको पक्षमा विभिन्न कोणबाट धारणाहरु सार्वजनिक हुन थालेका छन् । संसद अवरोध खुलाउने एमालेको निर्णयबाट हौसिएर एमालेमा विवेक पलाएको देख्नेहरु सलबलाउन थालेका छन् । एमालेलाई गम्भीर ढंगले आत्मसमीक्षा गर्न र वाम आन्दोलनको हितमा उभिन भन्दै सहकार्यको हात फैल्याउन आतुर पात्र र प्रवृत्तिप्रति गठबन्धनका नेता बेलैमा सचेत बन्नु जरुरी छ ।

चुनावी गठबन्धन लगत्तै पार्टी नै एकीकरण गरेर झण्डै दुइतिहाई जनमतको सरकार चलाउन प्राप्त अवसरको चरम दुरुपयोग गरेर पटक पटक संसद विघटन गर्ने, प्रतिगामी षड्यन्त्रमा सामेल हुने र अहंकारको हुँकार पिट्दै हिड्ने ओली प्रवृत्तिलाई चटक्कै भुलेर विवेक पलाएको देख्नु दृष्टिभ्रम मात्र हो । वाम आन्दोलनको रक्षा या अरु कुनै नाममा ओलीसंगको सहकार्य माओवादी केन्द्रका लागि मात्र होइन संघीय लोकतान्त्रिक गणतन्त्रकै लागि आत्मघाति कदम बन्ने छ । तसर्थ वाम लोकतान्त्रिक गठबन्धनलाई कायमै राखेर प्रतिगामी निरंकुश र अहंकारी प्रवृत्ति विरुद्ध बनेको एकता र सहकार्यलाई कायमै राख्नु गठबन्धनका शीर्ष नेताहरुको दायित्व हो ।

समग्रमा स्थानीय चुनावको नतिजाले लोकतन्त्रको सुन्दर भविष्यलाई सुनिश्चित गरेको छ । वाम लोकतान्त्रिक गठबन्धनको मार्गलाई थप फराकिलो बनाएको छ । यो जीतलाई अवसरको रुपमा लिएर घरदैलोकै सरकारका रुपमा रहेका जनप्रतिनिधिहरुलाई जनताप्रति थप जिम्मेवार बनाउन प्रशिक्षण तथा निरन्तर खवरदारी गरिरहनु जरुरी देखिन्छ । स्थानीय सरकारका निर्बाचित प्रतिनिधिहरु जनताको सेवामा भन्दा व्यक्तिगत हितमा तल्लिन हुन थाले भने त्यसले पार्टी र लोकतन्त्रलाइ नै कमजोर बनाउन भूमिका खेल्ने निश्चित छ ।