पोखरा महानगर प्रमुखमा आचार्य, उपप्रमुखमा गुरुङ विजयी

पोखरा महानगर प्रमुखमा आचार्य, उपप्रमुखमा गुरुङ विजयी


ग्लोब नेपाल
162
Shares

कास्की । पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको बुधबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरेका हुन् । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याए ।

यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरे । पोखराको प्रमुखमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए ।

यसैगरी उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी भइन् । गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी रानाभाटले ५६ हजार ६६३ मत ल्याइन ।

उपप्रमुखमा राप्रपाका रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशील साझाका माधव भण्डारीले २६४ र आमुल परिवर्तन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी मैदानमा थिए ।