काठमाडौ, ३ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ ।
नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो । जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूत देशबन्धु बस्नेतले नेपाली पर्वतारोही फुर्वा ओङगेल शेर्पाले सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फहराएको जानकारी दिए । उनले १५ मे अर्थात चार दिन बिहान ४ बजेर ५८ मिनेटमा उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाइलो टेकेका थिए ।
सगरमाथामा जाम्बियाको झण्डा फरफराउनुको उद्देश्य दुई देशबीच द्विपक्षीय व्यापार र द्विपक्षीय सम्बन्ध सुदृढीकरण गर्न ध्यान आकर्षित गर्नु रहेको बस्नेतले बताए ।
नेपाल र जाम्बियाले १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध स्थापित गरेका हुन् । दक्षिण अफ्रिकाको प्रिटोरियामा रहेको नेपालको दूतावासले जाम्बिया र नयाँ दिल्लीस्थित जाम्बियाको दूतावासले नेपाललाई आधिकारिक मान्यता प्रदान गरेका छन् ।
तत्कालीन राजा महेन्द्रले सन् १९७० को सेप्टेम्बर १० देखि १२ सम्म तेस्रो एनएएम शिखर सम्मेलनमा भाग लिन जाम्बियाको भ्रमण गरेका थिए । नेपाल र जाम्बिया संयुक्त राष्ट्रसंघ, एनएएम, जी–७७, र डब्ल्यूटीओका सदस्य रहेका छन् । दुबै देशहरू कम विकसित (एलडीसी) र ल्याण्ड लक (एलएलडीसी) रहेका छन् र विश्वव्यापी विकास सहयोग र साझेदारीको धेरै एजेन्डामा समान धारणा व्यक्त गर्दै आएका छन् ।
दुबै मुलुकले संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा योगदान पुर्याइरहेका छन् । नोभेम्बर २०१७ सम्ममा, नेपालले ५३५३ सेना र जाम्बियाले ११२८ सेनाले संयुक्त राष्ट्र संघको शान्ति सुरक्षा अभियानमा योगदान पुर्याएका छन् । यद्यपि हालसम्म नेपाल र जाम्बियाबीच द्विपक्षीय व्यापार भने नगण्य छ ।
जाम्बिया एक शान्तिमय र राजनीतिक रूपले स्थिर देश हो । जाम्बियामा सन् १९९१ मा सत्ताको राजनीतिक हस्तान्तरण बहुदलीय चुनावमार्फत भएको थियो । अफ्रिकी मुलुकहरुमध्ये जाम्बिया सुरक्षित देशका रुपमा रहेको छ । जाम्बियामा स्वतन्त्र प्रेसको व्यवस्था रहेको छ भने सक्रिय नागरिक समाज र अर्थव्यवस्थामा केही प्रतिनिधि समूहहरू पनि सक्रिय छन् ।
जाम्बियासँग विदेशी प्रत्यक्ष लगानी आकर्षित गर्न धेरै विशेषताहरू रहेका छन् । यो एक खनिज अर्थव्यवस्था भएको मुलुक हो जहाँ खनिजसम्बन्धित गतिविधिहरूमा दशकौंको अनुभव रहेको छ । । विश्वको तामा भण्डारको ६ प्रतिशत जाम्बियामा रहेको छ । यस्तै जाम्बियाले बहुमूल्य पत्थरहरू जस्तै पन्ना, नीलम, एक्वामारिन, सुन, र हीराको उत्खनन गर्दछ । जाम्बियासँग विश्वकै सबैभन्दा उत्तम इमेराल्डको दोस्रो ठूलो भण्डार रहेको छ र विश्वको कुल खपतको २० प्रतिशत आपूर्ति जाम्बियाले गर्दै आएको छ । अहिलेसम्म जाम्बियामा धेरै लगानीहरू खानीका क्षेत्रहरूमा भएको छ । तामा र कोबाल्टको विशाल भण्डारको साथ खनिज क्षेत्रहरूले विकास र थप विस्तारको व्यापक सम्भावना रहेको छ ।
कृषि : जाम्बियाको ७५२,००० वर्ग किलोमिटर जमिनमध्ये ५८ प्रतिशत भूभाग कृषियोग्य रहेको छ । जाम्बियासँग कृषि, सिंचाई र कृषि–व्यवसायमा ठूलो अवसर रहेको छ । जाम्बियन सरकारले कपास, फूल, कफी, सुर्ती, उखु, अनानास, काजू, कासावा र अन्य बागवानी र फूलबाली बालीलाई लगानीका लागि प्राथमिकतामा राखेको छ ।
पर्यटन : जाम्बियाको पर्यटन सम्भावना यसको विशाल प्राकृतिक स्रोतहरूमा निहित रहेको छ । जुन प्रायः प्राचीन र उत्खनन हुन बाँकी छन् । जाम्बियामा पर्यटकहरुले मनमोहक दृश्यहरू, मरुभूमि र वन्यजन्तुहरू, साहसिक गतिविधिहरू, विविध संस्कृति, र राष्ट्रिय विरासतसहित विविध अनुभव प्राप्त गर्न सक्छन् । यद्यपि जाम्बिया युनेस्कोको विश्व सम्पदास्थल विश्वप्रसिद्ध भिक्टोरिया फल्सका लागि मुख्य रूपले परिचित छ । जाम्बियामा पर्यटकका लागि १९ वटा नेसनल पार्कसहित अन्य धेरै आकर्षणहरू रहेका छन् । जाम्बियाको वन्यजन्तु संरक्षण सो उप–क्षेत्रको सबैभन्दा ठूलो हिस्सामा रहेको छ । जहाँ वन्यजन्तु संरक्षित क्षेत्रहरूले देशको ४० प्रतिशत जमिन ओगटेको छ ।
ऊर्जा : जाम्बियामा दक्षिणी अफ्रिकी उप–क्षेत्रको कुल जलस्रोतको ४० प्रतिशत स्रोत रहेको छ । जसका कारण जाम्बियामा जलविद्युत क्षेत्रमा लगानी सम्भाव्यताहरूको पहिचान गरिएको छ र यो लगानीकर्ताकहरुका लागि अवसरको क्षेत्रका रुपमा रहेको देखिन्छ ।
प्रतिक्रिया