कूल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य छः सञ्चारमन्त्री

कूल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य छः सञ्चारमन्त्री


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको समयानुकूल विकाससँगै दुई वर्षभित्र कूल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य राखिएको बताएका छन् ।

आइसिटी फाउन्डेशन नेपालले काठमाडौंमा आज आयोजना गरेको ‘हुवावे डिजिटल नेपाल कम्क्लेभ इन एसोसिएशन विथ इन्फो डेभलपर्स एन्ड कनेक्टेड बाई एनसेल’ विषयक कार्यक्रममा मन्त्री कार्कीले सूचना प्रविधिको पहुँच वृद्धि र उच्चतम उपयोगमार्फत गुणस्तरीय जीवनसँगै सूचना प्रविधियुक्त राष्ट्र बनाउनेतर्फ सरकारका कार्यहरु लक्षित रहेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले सरकारको डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को सफल कार्यान्वयनका लागि आर्थिक र रणनीतिक योजना तयार गरी कार्यान्वयनको बाटोमा अगाडि बढाइएको उल्लेख गर्दै फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी, प्राविधिक, तथा संरचनागत व्यवस्था गर्दै लगिएको बताए ।

सरकारले देशको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सूचना प्रविधि र सञ्चार प्रविधिको विकाससँगै शासकीय सुधार र सुशासनको अभिवृद्धिलाई विशेष जोड दिएको उनको भनाइ छ । मन्त्री कार्कीले भने, “सरकारको डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को सफल कार्यान्वयनका लागि आर्थिक र रणनीतिक योजना तयार गरी अगाडि बढाइएको छ, फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी, प्राविधिक, तथा संरचनागत व्यवस्था गर्दै लगिएको छ, सरकारले देशको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सूचना प्रविधि र सञ्चार प्रविधिको विकाससँगै शासकीय सुधार र सुशासनको अभिवृद्धिलाई विशेष जोड दिएको छ ।”

आगामी आर्थिक वर्षको बजेटमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सरकारी निकायलाई डिजिटल कार्यालयमा रुपान्तरण गर्ने र स्थानीय तहसम्म सूचना प्रविधि महामार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ राखिएको मन्त्री कार्कीले जानकारी दिए । त्यसैगरी प्रदेश सरकारले सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा पनि डिजिटल प्रदेशको अवधारणा अगाडि बढाउन विशेष प्राथमिकता दिइएको र स्थानीय तहले आफ्नो कार्यपालिकालाई क्रमशः सूचना प्रविधिमा आधारित बनाउँदै लगेको उनको भनाइ छ ।

तिनै तहका सरकारले सार्वजनिक सेवालाई प्रभावकारी बनाउनका लागि सूचना प्रविधिको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री कार्कीले सार्वजनिक सेवासँगै सरकारले डिजिटल फाउन्डेशन शिक्षा, स्वास्थ्य, कृषि, वित्त, ऊर्जा, पर्यटन, सहरी, पूर्वाधारलगायत क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोगलाई बढावा दिन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

सूचना प्रविधिको विकास र विस्तारका लागि सरकारले राष्ट्रिय सुरक्षा रणनीति २०७८, को मस्यौदालाई अन्तिम रुप दिनाका साथै सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन निर्देशिका २०७८, नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८, र सरकारी एकीकृत कार्यालय व्यस्थापन प्रणाली निर्देशिका २०७८, कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए ।