स्वतन्त्र उम्मेदवारको लहरः सञ्जालदेखि पार्टी निर्माणसम्म

स्वतन्त्र उम्मेदवारको लहरः सञ्जालदेखि पार्टी निर्माणसम्म

देशैभर सञ्जाल भएका राजनीतिक दलहरुलाई चुनौती दिन आएका स्वतन्त्र उम्मेदवारहरुलाई किन चाहियो सञ्जाल र स्वतन्त्र पार्टी ?


ग्लोब नेपाल
945
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले केही स्थानमा जितेपछि अहिले स्वतन्त्र उम्मेदवारी घोषणाको लहर नै चलेको छ । संघीय र प्रदेश निर्वाचनको मिति घोषणा नहुँदै स्वतन्त्र उमेदवारहरु भटाभट सञ्जाल बनाएर उम्मेदवारी घोषणा गर्न थालेका छन् । त्यति मात्र होइन, स्वतन्त्र नाम राखेर पार्टी नै दर्तासम्मको प्रक्रिया अघि बढाइएको छ ।

काठमाडौं महानगरपालिका, धरान, जनकपुर र धनगढी उपमहानगरपालिका लगायतका केही पालिकाहरुमा यसपटक स्वतन्त्र उम्मेदवार निर्वाचित भए । त्यसको प्रभाव संघ र प्रदेशको निर्वाचनमा देखिएको हो ।

स्थानीय तहमा प्राप्त परिणामले स्वतन्त्र उम्मेदवारी दिन चाहनेलाई उत्साही बनाएको छ । राजनीतिमा होमिएका पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले स्वतन्त्र उम्मेदवारहरूको सञ्जाल नै बनाएका छन् । असार १७ र १८ गते सञ्जालले राष्ट्रिय भेला बोलाएको छ ।

देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्यूनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वाचन क्षेत्र कायम गरिने विज्ञप्तिमार्फत जनाइएको छ । काठमाडौं–३ बाट हरिशरण लामिछाने, काठमाडौं–१ मा पुकार बम, काठमाडौं–५ मा रञ्जु दर्शना र ८ मा सुमन सायमी, विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट प्रतिस्पर्धा गर्ने सञ्जालले जनाएको छ । देशैभर सञ्जाल भएका राजनीतिक दलहरुलाई चुनौती दिन आएका स्वतन्त्र उम्मेदवारहरुलाई किन चाहियो सञ्जाल ?

स्वतन्त्र उम्मेदवारहरुले सञ्जाल बनाउने हो भने उनीहरु दलभन्दा कसरी भिन्न होलान् ? यतिबेला सामाजिक सञ्जालमा बहस छेडिएको छ । स्वतन्त्र उम्मेदवार सञ्जाल बनाउँदा कुनै स्वतन्त्र रहिरहलान् वा कुनै स्वार्थबाट प्रेरित होलान् ? भन्ने प्रश्न पनि उठाइएको छ । तर, राजनीतिक मामिलामा चासो राख्नेहरु स्वतन्त्रहरुको सञ्जाल गठनको विषय स्वभाविक नै ठान्छ । तर, स्वतन्त्र नाम राखेरै पार्टी गठन गर्दा स्वतन्त्रको हैसियत नरहने जानकार बताउँछन् ।

सञ्जालको बलमा स्वतन्त्र उम्मेदवारहरु अघि बढ्न खोज्ने हो भने संगठनको बलमा दलहरु अघि बढ्ने शैलीभन्दा कसरी भिन्न होला ? स्वतन्त्रहरुको सञ्जालको राष्ट्रिय भेलाले अहिले सञ्जालमाथि उठेका प्रश्नको जवाफ दिन सक्ला ?