उपसभापति खड्काले बोलाए निर्वाचन परिचालन समिति बैठक

उपसभापति खड्काले बोलाए निर्वाचन परिचालन समिति बैठक


ग्लोब नेपाल
945
Shares

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बोलाएका छन् । समितिका संयोजक समेत रहेका खड्काले आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएका हुन् । केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भइरहेको भन्दै त्यसअघि परिचालन समितिको बैठक बस्न लागेको खड्काले जानकारी दिए ।

उनका अनुसार परिचालन समितिले केन्द्रीय कार्यसमितिमा स्थानीय निर्वाचनको प्रतिवेदन बुझाउने छ । यता नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरु बैठक बोलाएका छन् । दिउँसो दुई बजे काठमाडौँको बत्तीसपुतलीमा कोइराला पक्षको बैठक बस्न लागेको छ । सभापति शेरबहादुर देउवाले विधानको पालना नगरेको र भ्रातृ संस्थामा एकलौटी गरेको भन्दै कोइराला पक्ष आन्तरिक रणनीति बनाउने तयारीमा छ ।

कोइराला पक्षको बैठकलाई काउन्टर दिने गरी उपसभापति खड्काले स्थानीय निर्वाचन परिचालन समितिको बैठक बोलाएको देखिन्छ । कोइराला पक्षीय शीर्ष नेता पनि परिचालन समितिको सदस्य छन् ।

नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार लगायत समितिका सदस्य छन् । केन्द्रीय समिति बैठकअघि उपसभापति खड्काले बैठक बोलाएपछि कोइराला पक्षका नेता सानेपा जाने कि बत्तीसपुतली भन्ने अन्योल छ ।