नेपालमा बीआरआई कार्यान्वयनबारे चीनको चासो

नेपालमा बीआरआई कार्यान्वयनबारे चीनको चासो

संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पास भएसँगै अमेरिकाबाट निरन्तर भइरहेका नेपाल भ्रमण, एसपीपी लगायतका विषयमा चीन सशंकित छ


ग्लोब नेपाल
270
Shares

काठमाडौं । चीनले बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अघि बढाउन विगतमा नेपालको शीर्ष तहबाट भएको प्रतिवद्वता कार्यान्वयनको अवस्थाबारे चासो राखेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले हिजो परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भिडिओ वार्ता गर्दै बीआरआईबारे चासो राखेका हुन् ।

मन्त्री खड्कासँग भिडियो वार्तामा चिनियाँ नेता लिउले बीआरआई अघि बढाउन विगतमा नेपालको शीर्ष तहबाट चीनसँग ब्यक्त भएको प्रतिबद्धता स्मरण गराएका हुन् । बीआरआईअन्तर्गतका परियोजनाको कार्यान्वयन अघि बढाउन चीनले प्रस्ताव गरेको सम्झौता कार्यान्वयन गर्न नेपालले गरिरहेको तयारीबारे छलफल भएको हो ।

गत चैत दोश्रो साता नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणमा बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने चिनियाँ पक्षको तयारी थियो । तर नेपालका तर्फबाट तयारी पुरा नभएको भन्दै परराष्ट्रमन्त्री खड्काले आवश्यक पूर्वतयारी गरेर मात्रै हस्ताक्षर गर्ने बताएका थिए । बीआरआई अन्तर्गत नेपालले ९ वटा परियोजना प्रस्ताव गरेको छ ।

नेपालले सन् २०१७ मे महिनामा बीआरआईमा आबद्ध हुन सहकार्य सम्झौतामा हस्ताक्षर गरे पनि अहिलेसम्म त्यसअन्तर्गत एउटा पनि परियोजना अघि बढाएको छैन। संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पास भएसँगै अमेरिकाबाट निरन्तर भइरहेका नेपाल भ्रमण, एसपीपी लगायतका विषयमा चीन सशंकित छ ।

चिनियाँ पक्षले बीआरआई परियोजना कार्यान्वयनका लागि चासो लिइरहेका बेला भएको यो संवादलाई अर्थपूर्ण रुपमा लिइएको छ ।