अध्यक्ष प्रचण्ड भेट्न राजेश हमाल खुमलटारमा

अध्यक्ष प्रचण्ड भेट्न राजेश हमाल खुमलटारमा

राजनीतिमा आउन सक्ने राजेशको सङ्केत, राजेश हमालजस्ता व्यक्तिको राजनीतिमा खाँचो रहेको प्रचण्डकाे भनाइ


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (शुक्रबार) भेटवार्ता भएको छ । महानायक हमाल बिहान प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

राजनीति र चलचित्रका दुई हस्तिबिच करिब आधा घण्टा सौहार्द कुराकानी भएको छ । भेटघाटको समन्वय गरेका माओवादी निकट सङ्गीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा-परिचर्चा भएको जानकारी दिए ।पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्‍याइरहेको असरप्रति हमालले प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

सरकारले विदेशी विलासिताका वस्तुहरुको आयातमा रोक लगाउने निर्णय गर्दा त्यसमा विदेशी चलचित्रलाई नसमेटेकोमा हमालले असन्तुष्टि व्यक्त गरेका थिए । ‘विदेशी चलचित्रका कारण नेपाली चलचित्र उद्योग अप्ठेरो अवस्थामा पुगेकोबारे हमालले ध्यानाकर्षण गराउँदा प्रचण्ड गम्भीर देखिनुभएको थियो’, सापकोटाले भने ।

भेटवार्ताका क्रममा नेपालको राजनीतिक विषयवस्तुबारे पनि कुराकानी भयो । हमालले एमसीसीदेखि एसपीपी र बीआरआईसम्मका विषयमा आफ्नो धारणा राखेका थिए । प्रचण्डले उनको बुझाइमा आफ्नो समर्थन रहेको बताए । यस्तै श्रीलङ्कामा हाल उत्पन्न भएको सङ्कटका विषयमा पनि कुराकानी भएको थियो ।

‘राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिका विषयमा तपाईँको ज्ञान र बुझाइबाट म प्रभावित भएँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले बताए । हमालले आफू राजनीतिमा आउन सक्ने घुमाउरो सङ्केत गरेका थिए । यदि परिस्थितिले मागेको खण्डमा आफू राजनीतिमा आउन नहुने कुनै कारण नरहेको उनको भनाइ थियो ।

प्रचण्डले राजेश हमालजस्ता व्यक्तिको राजनीतिमा खाँचो रहेको बताए । यद्यपि आफ्नो पार्टी माओवादीमा आवद्ध हुन भने उनले आग्रह गरेनन् । हमालले पनि त्यस्तो चाहना व्यक्त गरेनन् ।

सुरुवातमा सङ्गीतकार सापकोटा र प्रचण्डपुत्री गङ्गा दाहाल पनि भेटवार्तामा सहभागी थिइन् । पछि सापकोटा र गङ्गा निस्केर प्रचण्ड र हमालबीच वान टु वान कुराकानी भएको थियो । वान टु वान कुराकानीका क्रममा दुवैको बडी ल्याङ्वेज सकारात्मक देखिएको सापकोटाले बताए ।

‘हामीले बाहिरबाट हेर्दा दुवैजनाबीच खुलस्त कुराकानी भएको थियो । दुवैले एक-अर्काप्रति समर्थन जनाउने हाउभाउ देखाइरहनुभएको थियो’, सापकोटाले भने । कुनै पनि फिल्मी कलाकारलाई एक्लै यति लामो समय प्रचण्डले भेटेको पहिलो पटक भएको सापकोटाको दाबी छ ।