नेपाल प्रेस युनियन नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका धरोहर जननायक वीपी कोइरालाको स्मृति दिवसकै अवसर पारेर साउन ६ गते हेटौंडामा महाधिवेशन सुरु हुँदैछ । ‘प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार र पेशागत सुरक्षाः मर्यादित पत्रकारिता हाम्रो प्रतिवद्धता’ भन्ने महाधिवेशनको मूल नारा रहेको छ । देशभरका झन्डै ८ हजार पत्रकार आवद्ध प्रेस युनियनको महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन् । २०७१ भदौ २१ र २२ गते पोखरामा आठौं महाधिवेशन सम्पन्न भएको प्रेस युनियनको नवौं महाधिवेशन विभिन्न कारणले आठ बर्षपछि बल्ल सुनिश्चित भएको छ ।
२०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछिको आठौं वर्षमा हुन लागेको प्रेस युनियनको महाधिवेशनलाई निक्कै उत्सुकताका साथ हेरिएको छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेको सदस्य संस्था भएकाले युनियनको महाधिवेशनलाई विश्वभरका पत्रकारहरुले समेत रुचिपूर्वक नियालिरहेका छन् । युनियनको नेतृत्व लिन थुप्रै पत्रकार चुनावी मैदानमा उत्रिसकेका छन् । यति नै बेला उम्मेदवारी घोषणा र प्रचार प्रसारले सामाजिक सञ्जालका भित्ता रंगिएका छन् ।
पत्रकारहरुको हकहित र सम्मानको रक्षा गर्दै उनीहरुको पेशागत सुरक्षालाई सुनिश्चित गर्ने मूल ध्येयसहित २०४८ सालमा लोकतन्त्रवादी पत्रकारको साझा संस्थाका रुपमा प्रेस युनियनको स्थापना भएको थियो । श्रमजीवी पत्रकारलाई एकताबद्ध र संगठित गर्ने उद्देश्य संस्थाले लिएको थियो । तीन दशक लामो यात्रा पार गरिसकेको यो संस्थाप्रति यतिबेला आम पत्रकारको निक्कै ठूलो अपेक्षा र भरोसा रहेको देखिन्छ ।
बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि खुला परिवेशमा केही जुझारु पत्रकारहरूको भेलाबाट यो संस्था जन्मिएको थियो । २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको निर्माण भयो । त्यसै बर्षको फागुन १५ र १६ गते ललितपुरमा भएको प्रथम महाधिवेशनले हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसपछि २०५१ साल जेठ २७ र २८ गते पाल्पाको तानसेनमा दोस्रो महाधिवेशन सम्पन्न भई रमेश तुफानको नेतृत्वमा नयाँ कार्यसमिति बन्यो । तेस्रो महाधिवेशन पर्साको वीरगञ्जमा २०५३ साल मंसिर २२ र २३ गते सम्पन्न भयो । यो महाधिवेशनले तारा बराललाई अध्यक्ष चुनेको थियो ।
चौथो महाधिवेशन २०५६ साल साउन ७ गते सुनसरीको इटहरीमा सम्पन्न भई कुलचन्द्र वाग्ले अध्यक्षमा निर्वाचित भएका थिए । पाँचौं महाधिवेशन सिराहाको लाहानमा २०६० साल असार १४ र १५ गते सम्पन्न भइ मुरारीकुमार शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरियो । छैठौं महाधिवेशन कास्कीको पोखरामा २०६४ साल भदौ २८ र २९ गते सम्पन्न भयो र समिरजङ्ग शाहलाई अध्यक्षमा निर्वाचित ग-यो । सातौं महाधिवेशन २०६७ साल चैत ६ र ७ गते सुनसरीको इटहरीमा भयो । यो महाधिबेशनले किरण पोखरेलको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन ग-यो । त्यसपछि आठौं महाधिवेशन २०७१ भदौ २१ र २२ गते पोखरामा सम्पन्न भयो । उक्त महाधिवेशनले बद्री सिग्देललाई नेतृत्वमा स्थापित गरेको थियो । युनियनको नेतृत्व सम्हालिसकेका पत्रकारहरुले राज्यका विभिन्न संचार संस्थाको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका छन् । वास्तवमा सुनौलो इतिहास र विरासत बोकेको लोकतान्त्रिक चरित्रले ओतप्रोत भएको संस्था हो युनियन ।
लोकतान्त्रिक आदर्श अनुशरण गर्ने यो संस्था नेपालको लोकतान्त्रिक आन्दोलनको हिमायती नेपाली कांग्रेसको शुभेच्छुक संस्था पनि हो । कांग्रेसलाई लोकतन्त्रको मूल्य मान्यताबाट बिचलित हुन नदिन र नेताहरुलाई सही मार्गमा डोहो-याउन खबरदारी गर्नसक्ने हैसियतको संस्थाका रुपमा प्रेस युनियनको भूमिका अपेक्षित छ । तर कांग्रेसको नीति निर्माणमा बौद्धिक खुराक समेत प्रदान गर्न सक्ने युनियनको तागतको सही प्रयोग हुन सकेको छैन ।
कांग्रेसलाई लोकतन्त्रको मूल्य मान्यताबाट बिचलित हुन नदिन र नेताहरुलाई सही मार्गमा डोहो-याउन खबरदारी गर्नसक्ने हैसियतको संस्थाका रुपमा प्रेस युनियनको भूमिका अपेक्षित छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था हुनुको नाताले युनियनले वीपी कोइरालाको बिचारलाई मार्गदर्शनका रुपमा लिने गर्दछ । वीपी पत्रकारिता जगतलाई राज्यको चौथो अंगका रुपमा सम्मान गर्ने गर्नु हुन्थ्यो । पत्रकारितालाई समाजको ऐनाका रुपमा लिने वीपी जनताको सुसुचित हुने अधिकारप्रति सदैव प्रतिवद्ध हुनुहुन्थ्यो । पत्रकारले आफूलाई मन लागेको कुरा भन्दा पनि यथार्थ कुरा लेख्नुपर्दछ भन्ने वीपीको मान्यता थियो । विपी भन्नुहुन्थ्यो– ‘मेरो अन्धभक्ति गर्नेहरु त मेरा छँदैछन्, तिनले मलाई नराम्रो भन्ने या आलोचना गर्ने सामथ्र्य राख्दैनन् । मलाई त विरोधीहरुको मुखबाट पनि मेरा कुरा भनाउनु छ, उनीहरु लेखुन्, उनलाई जति आवश्यक लाग्छ । मेरो नराम्रो मात्रै, नकारात्मक विचार मात्रै उल्लेख गरुन्, मैले त चाल पाउनु पो छ ।’ के आज वीपीले सोचेजस्तो राजनीति, पत्रकार र पत्रकारिताको अभ्यास भइरहेको छ त ? उत्तर सकारात्मक पक्कै छैन । प्रेस युनियन यसप्रति सचेत बन्नै पर्दछ ।
लोकतन्त्रमा मात्र स्वतन्त्र र स्वच्छ पत्रकारिता सम्भव रहन्छ भन्ने ठम्याई युनियनको छ । पत्रकारिताको पनि आफ्नै सीमा, आदर्श र लक्ष्य रहन्छ । त्यसको सदुपयोग गर्नुपर्छ, दुरुपयोग होइन भन्ने मान्यतामा आधारित रहेर लोकतन्त्र, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको सम्मान एवं सुरक्षाका पक्षमा युनियनले सदैव आवाज बुलन्द गर्दै आइरहेको छ । वास्तवमा सत्य तथ्य प्रस्तुत गर्ने, कमिकमजोरी देखाउने, विकृति, विसंगति, व्यथिति र भ्रष्टाचार उजागर गर्ने सामथ्र्य पत्रकारिताले राख्नुपर्दछ । पत्रकारितालाई रिस–इवी फेर्ने र कसैलाई अपमान गर्ने साधनका रुपमा कदापी दुरुपयोग गरिनु हुंदैन । यी मान्यताहरुलाई अघि बढाउदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, प्रेस स्वतन्त्रताको संरक्षण, मर्यादित पत्रकारिता एवम् पत्रकारको पेशागत सुरक्षा अनि सम्मानका लागि लागिपर्नु पर्ने चुनौती प्रेस युनियन सामु छ । यस्ता चुनौतीको सामना सक्षम र इमान्दार नेतृत्वले मात्र गर्न सक्दछ ।
नयाँ संविधान जारी भएपछिका ८ बर्ष पनि राजनीतिले गति समात्न सकेको छैन । संविधानको सफल कार्यान्वयनमा भन्दा यसलाई तहसनहस बनाउनमै विभिन्न पात्र र प्रवृत्ति लागिपरेको देखिन्छ । प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई नरुचाउने तत्वहरु पनि नेपथ्यमा सलबलाई रहेकै छन् । यस्ता प्रवृत्तिविरुद्ध सतिशाल झै उभिनु पर्ने चुनौतीसँगै गह्रौं दायित्व युनियनको काँधमा छ ।
आजका दिनमा नेपालमा मिडियाको संख्या झण्डै ९ हजार पुगिसक्यो । ४ हजार ७ सय ८९ पत्रिका, ८ सय ८० एफएम रेडियो, १ सय ६४ टेलिभिजन र ३ हजार १ सय २० अनलाइन समाचार माध्यम रहेका छन् । नेपाल पत्रकार महासंघको सदस्यता लिएका पत्रकारको संख्या नै १३ हजार नाघिसक्यो । हाम्रो जस्तो मुलुकमा यतिधेरै मिडिया र पत्रकार संख्यात्मक हिसावले चानेचुने पक्कै होइन । तर श्रमजीवी पत्रकारको हालत अत्यन्त नाजुक छ । पत्रकार बेरोजगार वस्नुपर्ने तथा रोजगारी पाएकाहरुले पनि तोकिएको पारिश्रमिक समयमा नपाउने व्यथिति छ । यतिबेला पत्रकारको आत्मसम्मान साँच्चै गिरेको छ ।
हो, यस्ता यावत चुनौतिको समाधान खोज्नसक्ने सक्षम र लोकतन्त्रवादी पत्रकारलाई आडभरोसा दिनसक्ने ल्याकत भएको नेता प्रेस युनियनले खोजिरहेको छ । नवौं महाधिवेशनले योग्य, इमान्दार र नैतिकवान नेता चुन्ने अपेक्षा छ । सँगसँगै युनियनका हरेक सदस्यको बानीव्यहोरा पनि उच्च नैतिक रहुनुपर्ने आवश्कता छ । महाधिवेशनमा असल नेतृत्व छान्न विज्ञ मतदाता पत्रकार सजक हुने छन् । अन्यथा युनियनको नेतृत्वमा श्रमजीवी र व्यवसायिक पत्रकारको उपस्थिति भएन भने लोकतन्त्रवादी पत्रकारहरुको संस्थाको गरिमा हेर्दाहेर्दै धुलिसात हुन बेर लाग्दैन । युनियन गैरपत्रकारको क्रिडास्थलमा परिणत हुनबाट रोक्न सबै सचेत बन्न जरुरी छ । ‘सर्पको खुट्टा सर्पले नै देख्छ’ भने झैं कम्तिमा पनि पत्रकारको नेता व्यवसायिक पत्रकार नै बन्नुपर्दछ । जसको छिनोफानो आसन्न हेटौंडा महाधिवेशनले अवश्य गर्नेछ ।
प्रतिक्रिया