काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्गतको विश्व स्वास्थ्य समितिले हैजाबाट जोगिन व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा ध्यान दिन आग्रह गरेको छ । पछिल्लो केही दिनयता राजधानी काठमाडौंसहित विभिन्न ठाउँमा देखा परेको हैजा संक्रमणबारे आपत्कालिन बुलेटिन प्रकाशित गर्दै स्वास्थ्य समितिले यस्तो आग्रह गरेको हो ।
डाक्टरहरु सञ्जीव सापकोटा, सागर पौडेल, प्रभात अधिकारी, प्रकाश श्रेष्ठ र शिवप्रसाद श्रेष्ठको परामर्शमा तयार पारिएको स्वस्थ्य बुलेटिनमा हैजा अति संक्रामक झाडापखाला भएको उल्लेख छ । संक्रामक व्यक्तिको दिशाबाट बाहरी वातावरण हुँदै खाना र पानीको माध्यमबाट स्वस्थ मानिसम रोग सर्ने भन्दै चिकित्सकहरुले व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरण राख्न सबैले काम गर्नु पर्ने औंल्याएका छन् ।
‘हैजा भिब्रियो कोलेरा प्रजातीको जिवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखाला रोग हो,’ चिकित्सकहरुले भनेका छन्, ‘यो रोग सिमित व्यक्तिबाट दिसाको बाहिर वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट फैलिन्छ ।’
रोग संक्रमण पछि लक्षणका रुपमा पातालो चौलानी पानी जस्तो दिसा देखिने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने, पेट दुख्ने, ज्वरो आउने र असाध्यै तिर्खा लाग्ने हुने चिकित्सकहरुले बताएका छन् । आँखा गाडिनु, मुख जिब्रो, घाटी र छाला सुख्खा भए कडा जलविजोजन भएको लक्षण हुने पनि बुलेटिनमा उल्लेख छ ।
यस्तै पिसाब पहेलो हुनु र पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनुलाई पनि कडा जलविजोजनको लक्षण मानिने उल्लेख छ । रोग संक्रमण नियन्त्रणका लागि व्यक्ति र समुदायबाटै काम गरिनु पर्ने भन्दै समितिको बुलेटिनमा वातावरणको बाहिरी सरसफाईमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।
शौचालयमा मात्रै दिशा पिसा गर्न, सहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्न, दिसा र पिसाव पछि राम्रोसँग मिचिमिचि साबुन पानीले हात धुन, खाना बानाउनु अघि साबुन पानीले हात धुन, पानी सधैं उमालेर, क्लेरिन झोल हालेर र फिल्टर गरेर मात्रै खान पनि समितिले सुझाएको छ ।
होटल तथा रेष्टुराँमा प्रयोग हुने पानीमा संक्रमण हुन सक्ने भन्दै त्यसको सरसफाइमा विशेष ध्यान दिन पनि समितिले आग्रह गरेको छ । बासी, काँचो, सडेगलेको तथा झिंगा भन्केको खानेकुरा नखान समितिले विशेष अनुरोध गरेको छ । हैंजा नियन्त्रणका लागि व्यक्तिगत प्रयासका बाबजुत खोप अर्को प्रभावकारी उपाय भएको भन्दै खोपको दुवै मात्रा सुनिश्चितताका लागि पनि चिकित्सकहरुले अनुरोध गरेका छन् ।
प्रतिक्रिया