‘प्रधानमन्त्री देउवाकाे अमेरिका भ्रमण हुने सम्भावना छैन’

‘प्रधानमन्त्री देउवाकाे अमेरिका भ्रमण हुने सम्भावना छैन’

प्रधानमन्त्रीको अमेरिका भ्रमण पनि निश्चित छैन । राष्ट्रसङ्घको साधारण सभाको बेला हुने सम्भावना छ


ग्लोब नेपाल
621
Shares

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुने सम्भावना कम रहेको बताएका छन् । उनले हिजो (बुधबार) प्रधानमन्त्रीलाई भेट्दा अमेरिका भ्रमण के हुँदै छ भनेर सोधेको तर त्यस्तो तयारी नभएको जवाफ देउवाबाट आएको बताएका छन् ।

केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै आज (बिहीबार) दाहालले प्रधानमन्त्री देउवासँग एसपीपीजस्तै अरु सम्झौता भइरहेका छन् कि भन्नेबारे र अमेरिका भ्रमणबारे जिज्ञासा राखेको तर त्यस्तो केही हुन नलागेको बताए ।

‘हिजो मात्रै अमेरिका भ्रमणको बारेमा के हुँदै छ ? एसपीपी त सरकारले अगाडि नबढाउने भनेर निर्णय भयो तर अर्को नाममा उस्तै प्रकारको हुँदैछ भन्ने भ्रम भइरहेको छ भनेर सोधेको थिएँ, दाहालले भने, उहाँले केही पनि हुँदैन भन्नुभएको छ । केही पनि सम्झौता हुँदैन भनेर उहाँले गठबन्धन तोड्न चाहनेले यस्ता भ्रम फैलाउँदै छन् भनेर विश्वास दिलाउनुभएको छ ।’

प्रधानमन्त्रीको तत्काल अमेरिका भ्रमण हुन्छ कि हुँदैन भन्ने पनि यकिन नभएको जवाफ देउवाले दिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण पनि निश्चित छैन । राष्ट्रसङ्घको साधारण सभाको बेला हुने सम्भावना छ । तर अहिले नै हुने सम्भावना छैन । हुन लागेको छ भनेर आएको कुरा साँचो छैन भन्ने सरकारको कुरा हो ।’

अहिलेको अवस्थामा प्रधानमन्त्रीको अमेरिका भ्रमण हुने अवस्था नरहेको दाहालको भनाइ थियो । यसअघि प्रधानमन्त्री देउवा असारमा नै अमेरिका भ्रमणमा जाँदै छन् भन्ने सार्वजनिक भएको थियो । यसबीचमा नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम अगाडि नबढाउने निर्णय गरेको थियो । जसले नेपाल र अमेरिकाको सम्बन्ध चिसिएको बताइएको छ ।