भुइँफुट्टाहरुको जगजगी

भुइँफुट्टाहरुको जगजगी



बीपी कोइरालाले ४२–४३ वर्ष अगाडि पञ्चायती व्यवस्थाका भुइफुट्टाहरु भनी चित्रण गरेको चरित्र उक्त व्यवस्थासँगसँगै समाप्त नभइ कांग्रेस–कम्युनिष्टहरुमा रुपान्तरित भएको रोचक दृष्टान्त प्रा.कृष्ण खनालले कान्तिपुर दैनिकमा पस्किएका छन् । धनगढी बारले आयोजना गरेको बौद्धिक विमर्शमा प्रस्तुत बीपी विचारले त्यो वर्ग परिवर्तित राजनीतिमा अरु शक्तिशाली भएको देखिन्छ । नेतृत्व तहमा बौद्धिक विमर्श र छलफल त शुन्यप्रायः नै छ । यसमा रुचिराख्ने मानिस राजनीतिबाट क्रमशः पाखा लाग्दै गएका छन् । नेतृत्वमा रहेका व्यक्तिहरु त्यस किसिमको व्यक्तिसँग नजिक नै हुन चाहँदैनन् ।

त्यही भुइँफुट्टा वर्गको व्यवस्थापनमा चल्नु र रमाउनु उनीहरुको नियति भएको छ । कुनै पनि पेशा व्यवसाय नभएको, आम्दानीको वैधानिक श्रोत नदेखिने तर सत्ता, साधन र श्रोतको भरमग्दुर उपयोग गरेर समाजमा ‘प्रतिष्ठित’ देखिने, श्रोत तथा साधनको दोहन गर्न क्रियाशील हुने त्यस्तो प्रवृत्तिले नेपालको परिवर्तित राजनीतिक प्रणालीलाई कुरुप र बद्नाम बनाएको छ । राज्यको साधन र श्रोतको चरम दुरुपयोग गरी आफ्नो भौतिक प्रगति देखाउन त्यो चरित्र नेपालका सबै राजनीतिक पार्टीको शीर्षदेखि तल्लो तहसम्म शक्तिशाली देखिन्छ ।

साम, दाम, दण्ड र भेद सबै प्रयोग गरी राजनीतिलाई आफ्नो कब्जामा राखेको भुइँफुट्टाहरुको समूहले अर्को वैचारिक राजनीतिमा विश्वास राख्ने र सो अनुरुपको रुपान्तरण खोज्ने समूहलाई असान्दर्भिक बनाइसकेको छ । एककिसिमले साधन श्रोतको परिचालन गरी राज्य सत्ता नियन्त्रण गर्न उद्यत र सफल व्यक्तिलाई नै मतदाताले पनि रुचाएको हो कि भन्ने स्थिति पनि बन्दै गएको देखिन्छ । इमान्दार र निष्ठावान भन्दा वजनदार, पैसावाल, व्यापारी विचौलिया, डन र चाकरीबाजहरु नै निर्वाचनमा प्रभावशाली देखिन्छन् । सामान्य मानिसलाई प्रश्न गरिन्छ कि यसले कसरी निर्वाचन लड्छ ? खर्च जुटाउनै सक्दैन वा खर्च नै गर्दैन भन्ने भाष्य बनाइन्छ । सत्ताको वरिपरी रहेर साधनश्रोतको चरम दुरुपयोग गर्नुजस्ता सजिलो पेसा इमान्दारिताको नहुने भएकाले भुइँफुट्टाहरु सत्तासँगै यताउता हुनु व्यवस्थाको दोष होइन । यो त नेतृत्वको चरित्र, प्रवृत्ति, स्वभाव र व्यवहारको विषय हो ।

सत्ताको वरिपरी रहेर साधनश्रोतको चरम दुरुपयोग गर्नुजस्ता सजिलो पेसा इमान्दारिताको नहुने भएकाले भुइँफुट्टाहरु सत्तासँगै यताउता हुनु व्यवस्थाको दोष होइन । यो त नेतृत्वको चरित्र, प्रवृत्ति, स्वभाव र व्यवहारको विषय हो ।

त्यसैले होला युगोस्लाभ कम्युनिष्ट नेता मिलोभान जिलासले ‘द न्यू क्लास’ कम्युनिष्ट पार्टी सत्तामा पुगेपछि त्यस पार्टीका नेताहरुको ‘नयाँ वर्ग’ बन्ने गहन र मार्मिक तथ्य प्रस्तुत गर्नुभएको छ । यासेल टिटोको उत्तराधिकारीको रुपमा हेरिएका जिलास पार्टीको प्रमुख नेता थिए, सत्तामा पनि उनी बसेका थिए । जुन लक्ष्य, उद्देश्य र नारा दिएर कम्युनिष्ट पार्टी र यसको सदस्य बनिन्छ वा बनाइन्छ, पार्टी सत्तामा पुगेपछि नेतृत्वमा रहेका व्यक्तिहरुले आफ्नो विगत, प्रतिबद्धता पार्टीको विचार, धारणा र कार्यक्रम सबै बिर्सिन्छन् । वर्गविहीन समाजको नारा दिएको कम्युनिष्ट पार्टीको नेतृत्वको नै ‘नयाँ वर्ग’ को रुपमा रुपान्तरण हुन्छ । क्रान्ति, कार्यकर्ता र आदर्श समाप्त पारिन्छ । जनता र देशप्रति गरिएको यो सबैभन्दा ठूलो अपराध हो । यही विचार र धारणाका साथ ‘द न्यू क्लास’ पुस्तक लेखेका लेखक जिलास नजरबन्दमा राखिए, जेलमा कोचिए, अपमानित बनाइए र बद्नाम पनि गरियो । उनले यथार्थ चित्रण गरेका थिए, सच्चाउन आग्रह गरेका हुन्, सिद्धान्त र आदर्शप्रति इमान्दार हुन प्रेरित गरेका थिए । तर उनलाई सहेनन्, स्वीकार गरिएन् ।

विश्व राजनीतिमा उनको उक्त विचार आज पनि सान्दर्भिक छ । अरु नेपालका कम्युनिष्टहरुको हकमा त हुबहु मिल्छ । कम्युनिष्टको नाउँमा ‘नयाँ वर्ग’ बनेको छ । आलिसान महल, महँगो गाडी, दलाल तस्करहरुसँगको उठबस, खानपिन, विदेशी ब्राण्डेड पहिरन आदि इत्यादिले बीपी कोइरालाको भुइँफुट्टा नामाकरण र जिलासको ‘नयाँ वर्ग’ नेपाली राजनीतिको यथार्थ बनेको छ । यो यथार्थताले परिवर्तनको मूल मर्म र भावनामाथि प्रहार गरेको छ । देशमा अराजकता, दण्डहिनता, भ्रष्टाचार र अन्याय मौलाएको छ । सार्वजनिक संस्थाहरु किमकर्तव्यबिमुढ भएका छन् । कानुनले दिएको अधिकार र तोकिएको जिम्मेवारी वहन गर्न असफल र अक्षम सावित भएका छन् । अहँ र व्यक्तिवाद हाबी भएको छ । बहुदलीय लोकतान्त्रिक शासन व्यवस्थाको आत्माथि प्रहार मात्र भएको छैन, यसको बद्नामी पनि व्यापक भएको छ ।

मुख्य दलहरु कांग्रेस न कम्युनिष्ट यसप्रति गम्भीर छन् । आफ्नो दायित्व र जिम्मेवारी महसुस भएकै छैन । आवाज के उठिरहेको छ, हाम्रा विषयमा मानिस के भन्दैछन् ? बुद्धिजीवीहरु कस्तो टिप्पर्णी गर्दैछन् ? बौद्धिक जगतको कस्तो धारणा छ ? यी विषयहरुमा कसैको चासो छैन । आउने निर्वाचन, त्यहाँ मेरो स्थान, सत्तामा भूमिका साधन श्रोतमा पहुँच, दलाल तस्कर माफियाहरुसँगको सामिप्यता र सम्पर्क टुट्लाकी भन्ने एकसूत्रीय अभियान छ । भागवण्डा, बाँडफाँड, आलोपालो, आफ्नो व्यवसायिक स्वार्थका खातिर करका दरहरुको हेरेफेर, अनाधिकृत व्यक्तिको पहुँच र प्रवेश, उत्तरदायित्वको अभावजस्ता अनगिन्ती सवालहरुले राज्य व्यवस्थामा भुइँफुट्टाहरु नै समाजमा कांग्रेस वा कम्युनिष्टको खोल ओढेर ‘नयाँ वर्ग’ मा रुपान्तरित बनेका छन् । शासन प्रणालीप्रति आम मानिसले गुनासो गर्ने वातावरण बनाएका छन् । नेतृत्व यसमा नै मस्त छ ।