चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ आज नेपाल आउँदै

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ आज नेपाल आउँदै

प्रमुख लिउले नेपाल भ्रमणका दौरानमा कांग्रेस, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्ने कार्यक्रम छ


ग्लोब नेपाल
135
Shares

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नव नियुक्त विदेश विभाग प्रमुख लिउ जियान चाओ आज चार दिनको नेपाल भ्रमणमा आउँदै छन् । लिउ र उपप्रमुख चेन झोउले केही दिनअघि माओवादी, एमाले र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ ।

त्यसैलाई मध्यनजर गरेर प्रमुख लिउले आसन्न नेपाल भ्रमणका दौरानमा कांग्रेस, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।

नेपालमा फेरि आम निर्वाचनको तयारी चलिरहेका र ठूला कम्युनिस्ट पार्टीबीच एकताका लागि सदासयता व्यक्त गर्ने र सत्तारूढ कांग्रेससँग सम्बन्ध सुधार गर्ने रणनीति चीनले लिएको चर्चा भइरहेका बेला विदेश विभागको जिम्मेवारी सम्हालेपछि लिउले पहिलो पटक मुलुक बाहिरको यात्रामा नेपाल रोजेका हुन् । निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट हुन लागेको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।