काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित नगर्ने बताएका छन् ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले सुनसरीको कोसी गाउँपालिका–३ मा आज आयोजना गरेको इद मिलन कार्यक्रममा उनले पाँचरछ लाख युवा नागरिकता नपाएका कारणले समस्याको समाना गरिरहेको बताए । नागरिकता नभएका कारणले युवाले स्वास्थ्य, शिक्षा, लोकसेवा, विभिन्न सरकारी सेवाबाट वञ्चित भएको बताउनुहुँदै उनले वर्तमान सरकारले यी सबै समस्या सहमतिको आधारमा छिट्टै समाधान गर्ने विश्वास दिलाए ।
नागरिकताका कारण उत्पन्न समस्या समाधान गर्नका लागि वर्तमान सरकारले नयाँ नागरिकता विधेयक सङ्घीय संसद्मा दर्ता गरेको मन्त्री कार्कीले जानकारी दिए । नागरिकतासम्बन्धी संसद्मा दर्ता भएको नयाँ विधेयक चाडै नै पारित हुने उनले बताए ।
नागरिकतासम्बन्धी नयाँ विधेयक संसद्मा रहेका प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहित सबै राजनीतिक दलको सहमति गरेर पारित हुने उनले बताए । नागरिकता विधेयक संसद्बाट पारित भएसँगै अधिकांश व्यक्तिले नागरिकता पाउने उनले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया