पार्टीलाई फुटबाट जोगाउन जसपामा तेस्रो धारको जन्म

पार्टीलाई फुटबाट जोगाउन जसपामा तेस्रो धारको जन्म

उपेन्द्र यादव रूपान्तरण भएर आए आफूसँगै काम गर्न तयार : बाबुराम भट्टराई


ग्लोब नेपाल
216
Shares

काठमाडौं । विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी नेपालमा तेस्रो धारले जन्म लिएको छ । यस तेस्रो धारले पार्टीलाई विभाजनबाट रोक्न अभियान सञ्चालन गर्ने भएको छ । सो अभियान सञ्चालनका लागि तयारी बैठक पेप्सीकोलाको टाउन प्लानिङ स्थित सनसिटी अपार्टमेन्टमा बैठक चलिरहेको छ ।

स्रोतका अनुसार सो बैठकमा जसपा नेपालका कार्यकारिणी सदस्यहरू राजकिशोर यादव, रामनरेश राय यादव, अमृत अग्रहरि, मृगेन्द्रकुमार सिंह यादवलगायतका नेताहरू सहभागी रहेका छन् । पार्टी विभाजनको विपक्षमा रहेका उनीहरूले अलग अलग बस्न गइरहेको बैठकलाई स्थगित गरी पार्टीमा समझदारी बनाई नयाँ ढङ्गबाट अगाडि बढ्न दुवै पक्षका नेताहरूलाई दबाब दिने भएका छन् ।

यसको अगुवाइ कार्यकारिणी सदस्य रामनरेश राय यादवले गरेका छन् । मधेस प्रदेशका प्रदेशसभा सदस्य समेत रहेका रामनरेश यादव कुनै पनि समूहको बैठकमा नजाने बरु दुवै बैठकलाई नै स्थगित गराउन दबाब नेताहरूलाई दिइरहेका छन् । उनले दुवै पक्षका शीर्ष नेताहरू एक-एक कदम पछाडि हटेर पार्टीभित्रै समझदारी बनाउनुपर्ने सुझाव दिएका छन् ।

यादवले जनकपुरबाट काठमाडौँ आएदेखि नै नेताहरूलाई भेटेर यो अभियानमा लाग्न अभिप्रेरित गरिरहेका छन् । उनले जसपा सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईदेखि कार्यकारिणी सदस्य राजकिशोर यादव, अमृता अग्रहरीलगायत थुप्रै नेतालाई भेटिसकेका छन् । भेटमा बाबुराम भट्टराईले आफू पार्टी विभाजनको पक्षमा नरहेको प्रस्ट पार्दै उपेन्द्र यादव रूपान्तरण भएर आए आफूसँगै काम गर्न तयार रहेको प्रतिक्रिया दिएको नेता यादवले बताए ।

जसपालाई फुटबाट जोगाएपछि अन्य साना दलसँग एकीकरण वा गठबन्धनको अभियान चलाएर गतिविधि अगाडि बढाउनुपर्छ ।