ओली–प्रचण्ड मिलाउने कसरतमा चिनियाँ नेता

ओली–प्रचण्ड मिलाउने कसरतमा चिनियाँ नेता


ग्लोब नेपाल
270
Shares

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७४ मा चुनावी गठबन्धन र २०७५ मा पार्टी एकीकरण नै भयो । उनीहरुको पार्टी एकीकरण ४२ महिना मात्र टिक्यो । तर एमाले र माओवादीबीचको गठबन्धन जोगाउन चीनले गरेको प्रयास सम्झनलायक थियो ।

यतिबेला चिनियाँ कम्पयुनिष्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ एमाले, माओवादीसहितका वाम घटकहरु मिलाउन नेपाल भ्रमणमा आएको चर्चाले व्यापकता पाएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सुरु भएदेखि नै चीनले विभिन्न माध्यमबाट विवाद मिलाउने प्रयास गरेको थियो । चीनको भरमजदुर प्रयासले नेकपा फुट्नबाट जोगिन सकेन ।

यति हुँदाहुँदै पनि चीनले बाम एकताको प्रयासमा हार खाएको छैन । चीनले वाम शक्तिहरु एक हुनुमै जित हुन्छ भन्ने सन्देश बारम्बार नेताहरुकहाँ पुर्‍याइरहेको छ । पछिल्ला केही समययता चिनियाँ कम्युनिष्ट पार्टीका नेता मात्र होइन, विदेश मन्त्रीसमेतले नेपाल भ्रमण तथा कम्युनिष्ट नेताहरुसँग पटकपटक भर्चुअल संवाद गरिरहेका छन् ।

संघ र प्रदेश सभाको चुनावी चर्चा सुरु भएपछि नेपाल भ्रमणमा आएका चिनियाँ नेता लिउले सबैसँग पालैपालो भेट गरिरहेका छन् । चिनियाँ नेता लेउको बीपी संग्राहलयदेखि सबै बाम नेताहरुसँगको भेटले बाम गठबन्धनका लागि कति असरदार हुन्छ त्यो अहिले अनुमान गर्न सकिँदैन ।

नेपालमा चीनको चाहनाविपरीत एमसीसी पारित हुनु, नेकपा विभाजन हुनु, कम्युनिष्ट पार्टीको सरकार ढल्नुजस्ता कुराले पछिल्लो समय नेपालमा चीन नीति असफल भएको प्रष्ट बुझ्न सकिन्छ । नेपालका कम्युनिष्ट नेताहरू चीनले चाहँदैमा नेपालका वाम पार्टीहरुलाई जोड्न नसक्ने जिकिर गर्छन् ।