निर्धारित समयभन्दा ३ महिना अघि नै पुल निर्माण

निर्धारित समयभन्दा ३ महिना अघि नै पुल निर्माण


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सम्झौता अवधि सकिन ३ महिना अगाडि नै पुल निर्माण कार्य सम्पन्न गरेपछि निर्माण व्यवसायी पुरस्कृत हुने भएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ र १२ जोड्ने पक्की पुल निर्माणकाे ठेक्का ललितपुरको एलिट कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएकाे थियाे । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको हेटौंडा–११ नवलपुर र १२ नम्बर वडा, पदमपोखरी जोड्ने पक्की पुल निर्माण भएको हो ।

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले गत २०७६ असोज २७ गते सो पुल निर्माणका लागि ललितपुरको एलिट कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । २१५ मिटर लम्बाइको सो पुल निर्माणका लागि २०७६ असोजबाटै काम सुरु गरिएको थियो भने प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ मंसिरमा शिलान्यास गरेका थिए ।

निर्माण कम्पनीले सो पुल र पुलसम्म पुग्ने ७ सय मिटरको एप्रोच सडक २०७९ असार २४ गते सम्पन्न गरेर मन्त्रालयलाई हस्तान्तरण गरेको हो । कुल ३२ करोड ८८ लाख २९ हजारमा निर्माण सम्पन्न हुने अनुमान गरिएको ४ स्पानको ११ मिटर चौडाईको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि राजु बिडारीले पुल निर्माण अझ छिट्टै सक्ने योजना रहे पनि पर्सा राष्ट्रिय निकुञ्जका कारण समस्या व्यहोर्नु परेको बताए । निकुञ्जसँगको सम्न्वयमा केही समस्या सिर्जना हुँदा पुल निर्माणमा केही समय बढी लागेको उनले बताए ।

यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक डा. सहदेव भण्डारीका अनुसार पुल २०७९ असोज २६ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई पुरस्कृत गरिने उनले बताए ।

‘प्रदेश सरकारको लगानीमा बनेको यो पुल सम्झौता मिति भन्दा ३ महिना अगाडि नै सम्पन्न भएको छ । निर्माण कम्पनीले आफ्नो जिम्मेवारीलाई महत्वपूर्ण ढंगबाट निर्वाह गरेको पाइएको छ,’ उनले भने, ‘हामी निर्माण कम्पनीलाई पुरस्कृत गर्नेछौँ । हामी निर्माण कम्पनीलाई दैनिक ०.०५ प्रतिशतका दरले बाँकी समयको रकम पुरस्कारस्वरुप उपलब्ध गराउने छौँ ।’

उनका अनुसार प्रदेश सरकार गठन भएदेखि हालसम्म १०० वटा पुल निर्माणको ठेक्का आह्वान गरिएकोमा ७१ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । जसमध्ये दुई वटा पुल तोकिएको समयभन्दा अगाडि सम्पन्न भएको उनले बताए ।

सम्झौता म्याद अगाडिनै सम्पन्न भएको अर्को पुल नुवाकोटको तादी खोलामा पनि छ । ६५ मिटरको सो पुल तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको उनले बताए ।

प्रदेश सरकारले ठेक्का आह्वान गरेका १०० वटा पुलमध्ये ३० वटा पुल निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । ती पुलहरु क्रमागत योजना अन्तर्गत निर्माण भइरहेको उनको भनाइ छ । आगामी आर्थिक वर्षमा ती पुल निर्माण सम्पन्न हुने उनले बताए ।

त्यस्तै आगामी आर्थिक वर्षमा करिब २०० वटा पुलको ठेक्का आह्वान गर्ने तयारी भइरहेको उनको भनाइ छ । विगत १५ वर्षदेखि हेटौंडा–१२ सहित साविकको हाँडीखोला गाविस वडा नम्बर–१, २ का नागरिकले पुल नहुँदा समस्या भोग्दै आएका थिए । तोकिएको समयअगाडि नै पुल निर्माण सम्पन्न भएपछि सो क्षेत्रका करिव ३ हजार घरपरिवार लाभान्वित हुने भएका छन् ।

विगत १५ वर्षदेखि सो क्षेत्रका नागरिक पुल निर्माणको माग गर्दै सरकारी निकाय धाइरहँदासमेत माग सम्बोधन हुन सकेको थिएन । पक्की पुल नहुँदा स्थानीयलाई विशेष गरी वर्षात्का समयमा आवतजावतमा समेत समस्या भोग्नु परेको थियो ।

हेटौंडा बजारबाट पश्चिमतर्फ ५ किलोमिटरको दुरीमा रहेको सो पुल नहुँदा त्यस क्षेत्रका नागरिकहरु दैनिक १ घण्टाको पैदल यात्रा गरेर हेटौंडा बजारसम्मको यात्रा गर्न बाध्य थिए । पुल र बाटो निर्माण भएसँगै त्यसक्षेत्रमा उत्पादन हुने खाद्यान्न बाली बजार ल्याउन सहज हुने स्थानीयहरु बताउँछन् ।