एमसीसीबारे प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्तिप्रति चीनको आपत्ति

एमसीसीबारे प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्तिप्रति चीनको आपत्ति

'अमेरिकी पक्षबाट आएको अभिव्यक्ति आधारहिन छ, हामीले नोट गरेका छौँ'


ग्लोब नेपाल
162
Shares

काठमाडौं। नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा चीनको भूमिकाबारे गरेको टिप्पणीको नेपालस्थीत चिनियाँ दूतावासले आपत्ति जनाएको छ ।

नेपालस्थित चिनियाँ दूतावासकी प्रवक्ता गाओ वेईले शुक्रबार शुक्रबार त्यसको खण्डन गर्दै प्रस्तावित राजदूत थम्पसनको भनाइ ‘आधारहीन’ भएको बताएकी हुन् । केही महिनाअघि नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित थम्पसनले बुधबार अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिने क्रममा चीनले चलाएको दूष्प्रचारका बीच पनि नेपालको सदनले ५०० मिलियन डलरको एमसीसी परियोजना अनुमोदन गरेको उल्लेख गरेका थिए ।

चिनियाँ दूतावासले उल्टो अमेरिकाले दुष्प्रचार गरेको बताएको छ । एमसीसी सम्झौताले नेपालमा व्यापक विवाद उत्पन्न भएको कुरा उल्लेख गर्दै प्रवक्ता वेईले नेपाली संसद्बाट ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन भएको पनि बताएकी छिन् । उक्त घोषणामा नेपाल अमेरिकाको रणनीतिक, सैन्य र सुरक्षा गठबन्धनमा सहभागी नहुने कुरा उल्लेख भएको जनाउँदै दूतावासले उक्त कार्यलाई नेपालको वैधानिक कदमको संज्ञा दिएको छ ।

चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले थम्पसनको अभिव्यक्तिलाई नोटमा लिएका छौँ । यो सबैलाई थाहा छ कि एमसीसी कम्प्याक्टको विषयमा नेपालमा तातो बहस भएको थियो । नेपालको संसदले व्याख्यात्मक घोषणामार्फत एमसीसी पास गरेको छ, जुन घोषणामा कम्प्याक्ट भन्दा एमसीसी माथि रहने उल्लेख छ । नेपाल अमेरिकाको कुनै पनि सैन्य रणनीतिको अंग नहुने पनि स्पष्ट पारिएको छ । यो नेपाली सरकार र जनताले उनीहरुको सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका निम्ति लिएको वैध कदम हो । अमेरिकी पक्षबाट आएको प्रतिक्रिया विलकुल आधारहिन छ । यसले चीनलाई मात्र आरोपित गरेको छैन, नेपाल र नेपाली जनतालाई पनि अपमानित गरेको छ । वास्तविक दुष्प्रचार हो । चीन यसलाई दृढतापूर्वक अस्वीकार गर्छ ।’