नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्न

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्न

निर्णयहरु भोलि सार्वजनिक गरिने


ग्लोब नेपाल
999
Shares

काठमाडौं । यही असार २७ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सकिएको छ । बैठकका निर्णयहरु भोलि साउन २ गते सार्वजनिक गरिने भएको छ । बैठकमा प्रधानमन्त्री एवम पार्टीका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने, पार्टीका सबै कार्यकर्ताहरुको भावना समेट्ने गरी विभाग तथा भ्रातृ संगठनहरु गठन गरिने र सबैको सल्लाहमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताउनुभएको पार्टी प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेमा हिजो बसेको बैठकमा पार्टी पदाधिकारी साथै सरकारमा सहभागी मन्त्रीहरुले बैठकमा उठेका प्रश्नहरुको जावाफ दिएका छन् । पाँचदिनसम्म चलेको बैठकमा नेताहरुले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको, आगामी संसदीय निर्वाचनमा गठबन्धन गर्ने बारेमा पुनर्विचार गर्नुपर्ने र केही नेताले आफ्नो स्वार्थकालागि मिडियाबाजी गरिरहेको धारणा राखेका थिए ।

यसैगरी बैठकमा नै पदाधिकारीहरु र पार्टीको तर्फबाट मन्त्री बनेका नेताहरुले आ आफ्नो धारणा राखेका थिए । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको प्रष्ट पारेका छन् ।

केन्द्रीय कार्यसमिति सदस्यहरुले प्रहरीलाई हतियार किन्न लागेको सम्वन्धमा उठाएको जिज्ञाशामा मन्त्री खाँडले हतियार किन्ने पुरानो निर्णय भए पनि हाल सरकार हतियार किन्ने योजनामा नरहेको भन्दै हतियार किन्ने प्रक्रिया अघि नबढ्ने स्पष्ट पारेका थिए ।

यसैगरी बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले नयाँ आर्थिक वर्षमा नयाँ निर्यात बढाउन नीतिगत आर्थिक र मौद्रिक नीति सुधार गरिएको जानकारी दिए । समग्र आर्थिक अवस्था सुधारका लागि नयाँ आर्थिक बर्षमा नयाँ कार्यविधि बनाएर लागू गरिने समेत मन्त्री बडुले जानकारी गराएका थिए ।

महँगीका कारण उपभोक्तामा असर परेको र सरकारले पेट्रोलियम पदार्थमा कर घटाएर सहज बनाउने प्रयास जारी राखेको पनि उनले बताए ।