काठमाडौं । तीन दिने भारत भ्रमण सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज आइतबार साँझ स्वदेश फर्किएका छन् । उद्देश्य गोप्य राखिएको अध्यक्ष प्रचण्डको भारत भ्रमण ‘अधुरो’ रहेको कूटनीतिक वृत्तमा चर्चा छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासमेत भारतमा रहेका बेला अध्यक्ष प्रचण्ड एक्कासी दिल्ली हानिएका थिए । राणा र प्रचण्डबीच दिल्लीमा भएको भेटलाई समेत अर्थपूर्ण रुपमा हेरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत यी दुई नेताको भारत भ्रमणलाई विभिन्न कोणबाट अर्थ लगाएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियान्चाओलाई भेटेकै दोस्रो दिन सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा गत शुक्रबार दिल्ली पुगेका हुन् । अध्यक्ष प्रचण्डले भारत प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँग समेत भेट गर्ने बताएका थिए ।
भ्रमणको अन्तिम दिन आज आइतबार प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरे । अनेक प्रयास गरे पनि प्रधानमन्त्री मोदीले अध्यक्ष प्रचण्डसँग भेट गर्न समय दिएनन् । भारतीय प्रधानमन्त्री मोदीसँग दर्शनभेट नभएपछि अध्यक्ष प्रचण्डको यात्रा ‘अधुरो’ नै रहेको विश्लेषण गरिएको छ ।
नेपालका कम्युनिष्टहरुलाई एकीकृत बनाउने चिनियाँ प्रयासभन्दा वाम–लोकतान्त्रिक गठबन्धन अहिलेको आवश्यकता हो, यसलाई बलियो बनाउन भारतीय सहयोगको अपेक्षासहित अध्यक्ष प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको दर्शनभेट गर्न चाहन्थे । तर उनको चाहना कमजोर कूटनीतिले गर्दा सफल हुन सकेन । प्रधानमन्त्री मोदीको दर्शनभेट नपाएपछि ‘हिस्स बुढी हरिया दाँत’ उखान सम्झदै अध्यक्ष प्रचण्ड आज आइतबार स्वदेश फर्किएका हुन् ।


प्रतिक्रिया