गत वर्ष विदेशबाट फर्किएका नेपालीबाट झण्डै ४ अर्बको सुन भित्रियो

गत वर्ष विदेशबाट फर्किएका नेपालीबाट झण्डै ४ अर्बको सुन भित्रियो


ग्लोब नेपाल
216
Shares

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विदेश गई नेपाल फर्केका नेपाली यात्रुहरूले करिब ३ अर्ब ८० करोड मूल्य बराबरको सुन तथा सुन गहना भित्र्याएका छन् । त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले वैधानिक रुपमा करिव ४ सय ८० किलो सुन तथा सुनका गहना नेपाल भित्र्याएको विमास्थल भन्सार कार्यालयले जनाएको छ । सो सुन विदेश गई नेपाल फर्केका नेपाली यात्रुहरूबाट राजस्व तिराउने प्रयोजनका लागि भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

नियमानुसार राजस्व दाखिला गरेपछि सम्बन्धित यात्रुलाई नै फिर्ता दिइएको छ । यसबाट कार्यालयले ४५ करोड ५८ लाख अतिरिक्त राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख महेश भट्टराईले बताए । कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम एकसय ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन् ।

एकसय ग्राम भन्दाबढी काँचो सुन र २ सय ५० ग्राम भन्दाबढी सुनका गहना ल्याएको हकमा त्यस्तो सुन तथा सुनका गहना जफत गरी भन्सार कानुनबमोजिम कारबाही गर्ने व्यवस्था रहेको छ । नेपालमा व्यक्तिगत प्रयोजनका लागि तोकिएको सीमासम्मको सुन यात्रुले आफ्नो साथमा ल्याउन पाउने व्यवस्था भए तापनि व्यवसायिक प्रयोजनका लागि भने वाणिज्य बैङ्कहरूले मात्र सुन आयात गर्न पाउने कानुनी व्यवस्था रहि आएको छ ।