सबै समुदायको साहित्य, कला, दर्शन र संस्कृतिको सन्तुलित विकासः प्रधानमन्त्री

सबै समुदायको साहित्य, कला, दर्शन र संस्कृतिको सन्तुलित विकासः प्रधानमन्त्री


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित ‘वीपी कोइरालाई राष्ट्रिय पुरस्कार-२०७८’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको विभिन्न क्षेत्रमा योगदान पुर्याउने साधक एवं स्रष्टाको सम्मानमा राज्यले सहयोग गर्ने विश्वास दिलाए ।

प्रधानमन्त्री देउवाले जननायक वीपी कोइरालाले मुलुकको राजनैतिक परिवर्तन र नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै राज्यबाट गरिएको सम्मानले स्रष्टा र सर्जकलाई थप हौसला प्रदान हुने उल्लेख गरे । विसं २००७ सालको राजनैतिक क्रान्ति सफल बनाउन तथा मुलुकमा प्रजातान्त्रिक शासन प्रणाली र नागरिक हकअधिकार स्थापित गर्न अतुलनीय योगदान पु¥याउनु हुने स्वर्गीय वीपी कोइरालाको नेपालको राजनीतिक इतिहासमा विशिष्ट स्थान रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले भने, “वीपी कोइराला उच्च राजनैतिक चिन्तक र विश्लेषक मात्र नभएर उहाँ नेपाली भाषा साहित्यका एक उत्कृष्ट स्रष्टा, लोकप्रिय कथाकार एवं उपन्यासकार पनि हुनुहुन्थ्यो । समाजको परिवर्तनको लागि कोइरालाले राजनीतिक र साहित्य दुवैलाई आफ्नो कार्यक्षेत्र बनाइ आफ्नो समयको लोकप्रिय र चर्चित व्यक्तित्व हुनुभएको थियो ।”

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं राजनैतिक सङ्घर्षका प्रेरक जननायक वीपी कोइरालाको स्मृतिमा नेपाल सरकारद्वारा स्थापित वीपी कोइराला राष्ट्रिय पुरस्कार प्राप्त गर्नुहुने स्रष्टालाई सम्मान गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै प्रधानमन्त्री देउवाले उक्त पुरस्कारबाट विभिन्न विधा र क्षेत्रमा पुरस्कृत हुने संस्था एवं सर्जकलाई बधाई ज्ञापन गरे ।

प्रधानमन्त्री देउवाले सम्मान एवं पुरस्कार कार्यक्रमले मुलुकमा राजनीतिक सुधार र जनताको हकअधिकारलाई स्थापित एवम् सुदृढ गर्ने तथा असल साहित्य सिर्जनामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा लाग्न सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरे ।