नियात्रा: युद्ध नहुने भूमि

नियात्रा: युद्ध नहुने भूमि



‘दक्षिण भारत र उत्तर हिमालयका तिर्थस्थलहरुमा जीवनमा एकपटक अवश्य पुगिहाल्नु’
मेरा पिताज्यूले भन्नु भएको वाक्य मेरो कान वरिपरि गुञ्जिरहन्छ ।
‘उत्तर भारत र दक्षिण नेपालका तीर्थस्थलहरुमा जानुभन्दा नजानुनै बेस’
भुक्तभोगिहरुबाट सुनेका अनुभव पनि मेरो कानमा ठोक्किरहन्छन् ।

नियतिले पनि मलाई दक्षिण भारत र उत्तर हिमालयका तिर्थस्थलहरुमा पटकपटक पुर्‍यायो । तर उत्तर भारत र दक्षिण नेपालका तीर्थस्थलहरुमा जाने अवसरहरु भने त्यति जुरेनन् । मनको भाव र मनमा परेका प्रभावहरुले पनि संयोग निर्माणमा केही न केही त प्रभाव पार्दोरहेछ सायद । उत्तर भारतमा छरिएका तीर्थस्थलहरुमा पुगेर व्यहोरिने ठगी र भोगिने दुर्दशा सुन्दासून्दा पहिलेनै मनले अल्छि मानिहाल्छ ।

कृषि विकास बैंक क्षेत्रीय कार्यालय नेपालगंजका निर्देशक रामचन्द्र आचार्यले ‘एकचोटी अयोध्या जाउँ न त’ भन्नु भएको हो धेरै पटक । मैले ‘बद्रीनाथ, केदारनाथतिर जाउँ न सर बरु’ भनेर टारिरहें । टार्दाटार्दै पनि २०७५ साल चैत्र महिनाको पहिलो हप्तामा जुरि हाल्यो अयोध्या पुग्ने सौभाग्य । भगवान मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रप्रतिको अथाह श्रद्धा मनभित्र छचल्किन थालेपछि सुनेका कुराहरुले जगाएको तीर्थस्थलप्रतिको वितृष्णालाई जितिहाल्यो । आस्थाको अगाडि नकारात्मक कुराको प्रभाव धेरै बेर टिक्न सक्ने कुरा पनि भएन । भगवानले जुराएको यात्रा कसले रोक्न सक्छ र ?

२३ मार्च सन् २०१९ को बिहानीपख हो हामी हिंडेको नेपालगंजबाट । रामचन्द्र आचार्यसरको नेतृत्वमा सात जना- राजन खत्री, संजयराज श्रेष्ठ, प्रविण सुवेदी, जीवराज बम, राजिव शाह र मसमेतको डफ्फा बन्यो । सबै कृषि विकास बैंकका कर्मचारीहरुको टोली । आफ्नै निर्देशकको नेतृत्व । कुनै फिल्ड भिजिट वा तालिममा जाँदै गरेको आभास बोकेर पुगेका थियौं रुपैडिया । मैले कृषि विकास बैंकबाट अवकाश लिएको तीन हप्तामात्रै भएको भए पनि अहिलेसम्म मैले आफूलाई यही बैंकको कर्मचारी नै ठानेकै छु ।

रुपैडियामा अयोध्या लाने र घुमाएर ल्याउने गरि जिप रिजर्भ गर्दा निकै मोलमोलाई गर्नु पर्‍यो । थुप्रै ड्राइभरहरुले ‘हमारे जीप से जाइए’ भनेर अनेक प्रकारले फकाए हामीलाई । एकजना हँसिलो केटाले ‘साहेब साहेब’ भनेर हामीलाई छोड्दै छोडेन । पाठक थरको बाहुन रहेछ त्यो हँसिलो केटो । कपालामा रातो मेहंदी लगाएर झिल्के पनि देखिएको छ मोरो ।

‘बाहुन पनि रहेछ, छिटोछरितो पनि देखिन्छ, तीर्थ गर्न यही मोरोकै जीपमा जाउँ न त’ आचार्यसरले भन्नु भएपछि नाइँ भन्ने कुरै भएन । त्यसैको जीपमा चढेर हुइकियौं अयोध्यातर्फ । जीपमा चढ्ने बित्तिकै दुई हजार रुपियाँ मागेर तेल भरिसकेपछि त उसले आफ्नो असली रङ देखाउन थालि हाल्यो । अघिसम्म ‘साहेब साहेब’ भनेर चाकडी गरिरहेको त्यो मोरो अब त हामीलाई ‘तुम एैसा करो, वैसा करो’ पो भन्न लाग्यो । त्यतिमात्रै हैन ‘यार’ को उच्चारण पनि गर्न थाल्यो कुरैपिच्छे । अनेक बहानामा पैसा पनि माग्न थाल्यो । भनेको ठाउँमा नरोक्ने, आफूलाई मन लागे जहाँ पनि रोक्ने गर्न थाल्यो । हामीले नास्ता खान बाटोमा देखिएका सफा र राम्रा होटलमा ‘रोको’ भन्दा पनि नरोकेर बहराइचको फोहोर ठाउँमा लगेर रोक्यो । खाना खान पनि गोण्डानिरको एउटा फोहोर ढावामा पुर्‍यायो । पर्यटकमैत्री स्वभाव नभएको यो ड्राइभर मोरोको थर पाठक भए पनि संस्कारको पाठ भने पटक्कै पढेको रहेनछ यसले । झनक्क रिस त उठेको हो । यसलाई यही छोडेर अर्को जीपको व्यवस्था गरौं कि ? जस्तो पनि लागेको हो तर पेश्की बुझाई सकेपछि हामी विवश भयौं । अब अयोध्या घुमुञ्जेल यो अशिष्ट ड्राइभरलाई झेल्नु नै पर्‍यो । हिन्दीको उखान सम्झिएँ- मरता क्या न करता !

रुपैडियाबाट अयोध्या पुग्न ठ्याक्कै १७५ किलोमिटर सडक कुद्यौं । जीपको यात्रा भए पनि पाँच घण्टा लागि हाल्यो । बाटोमा अनेकौं साना ठूला ठाउँ आए, गए । भीडभाड, फोहोर, अस्तव्यस्त र कोलाहलले भरिएका ती कुनै ठाउँले पनि मनलाई आकर्षित पार्न सकेनन् । आँखा भने नयाँ केही देखिन्छ कि भनेर बाटोभरि सर्वत्र सोझिइनै रहे । सम्झनामा भने नानपारा, रिसिया, गोण्डा, नबाबगंजजस्ता केही ठूला ठाउँमात्रै बसे । यहाँको चिप्लो सललल कुदाइरहने पक्की सडक र वरपरका फराकिला खेतहरु भने रहरिला नै हुन् । वीरहिमपुर भन्ने ठाउँबाट अगाडि बढेपछि सरयु नदीको फराकिलो बलौटे बगर आँखामा ठोक्किन लाग्यो । यही नदी हो जो हाम्रो नेपालमा कर्णालीको नामले विख्यात छ । भारतमा गएपछि घाघरा हुँदै अयोध्यामा सरयुको नामले पुकारिन्छ । सरयुमा कर्णालीको रङ खोज्दै थिएँ, नयाँघाटमा सरयुको पुल तरेपछि त आइहाल्यो श्रीअयोध्या नगरी ।

विष्णु भगवानका सातौं अवतार भगवान श्रीरामचन्द्रको जन्मस्थलि हो अयोध्या । यो ठाउँलाई साकेतको नामले पनि पौराणिक ग्रन्थहरुमा अनेक प्रसङ्गमा उल्लेख गरिएको पाइन्छ । यो त्रेता युगको कथासंग जोडिएको पुण्यभूमि हो । भगवान श्रीरामचन्द्रका पिता चक्रवर्ती सम्राट दशरथ र रघुवंशीय राजाहरुको कर्मस्थलि हो यो । मन्दिरैमन्दिरको शहर हो अयोध्या । मन्दिरभन्दा पनि यहाँ धर्मशाला बढी होलान् । सुविधा र स्तरस्तर अनुसारका धर्मशालाहरु भेटिन्छन् सडक, गल्लीमा जताततै ।

‘अयोध्याको सबैभन्दा राम्रो धर्मशालामा लिएर जाऊ’ भनेका थियौं । ड्राइभरले सिधै पुर्‍यायो बिरला धर्मशालामा । झट्ट हेर्दा कुनै मन्दिरजस्तो कलात्मक देखिने यो धर्मशाला भारतको प्रख्यात उद्योगपति बिरला गु्रपले बनाइदिएको हो रे । केही दिन अघिनै बुक गर्नु पर्ने रहेछ यहाँ बस्नको लागि । कोठा नपाएपछि वर्णवाल धर्मशालामा गयौं । त्यस्तै सुन्दर रहेछ यो धर्मशाला पनि । फराकिलो ठाउँमा रहेको जैन धर्मशालाले पनि लोभ्याएको हो हामीलाई । तर मन परेका कुनै धर्मशालामा पनि कोठा पाइएनन् । मन खुम्च्याएर अन्तै जानु पर्‍यो । रामायण आश्रमको नजिकै एउटा साधारण धर्मशालामा तीन ओटा कोठा लियौं, झोला थन्क्यायौं र लाग्यौं अयोध्याको परिभ्रमणमा । एउटा गाइड पनि खोजी दियो उही पाठक ड्राइभरले ।

गाइडले सबैभन्दा पहिले लग्यो मणीपर्वत भन्ने ठाउँमा । बलौटे माटोको सानो ढिस्कोजस्तो ठाउँलाई मणिपर्वत भन्दारहेछन् । सीताजीलाई जनकपुरबाट विवाह गरेर अयोध्या ल्याएको बेला उनलाई माइतीले दाइजोस्वरुप दिएका गरगहना, हीरा, स्वर्ण, मणिमाणिक्यहरु यहीनिर थुपार्दा त्यो पहाडजस्तै बनेको थियो रे । स्वामी अवधेसानन्दले कुनै प्रवचनमा सुनाउनु भएको सो सन्दर्भ यहाँ पुग्दा सम्झिन पुगे म । अहिले त यहाँ केवल बलौटे माटोको ढिस्कोमात्रै छ र थुम्कामाथि एउटा सानो उदास मन्दिरमात्रै देखिन्छ । मन्दिरलाई पीपलका जरा र लहराले बेरेर जिर्ण बनाउन लागेका छन् । थुम्का वरिपरि बरपीपलका अग्लाअग्ला रुखहरु छन्, केही साल, सिसमका रुख पनि देखिए । अमलतासका रुख पनि रहेछन् । भुइँभरि सुकेका पात र पूजा गरेर फालिएका सामाग्रीहरु छरपष्ट देख्दा यहाँको शान्त वातावरणले पनि आनन्द दिन सकेन । मन्दिरको पटाङ्गिनीबाट अयोध्याको पल्लोपट्टिको हरियो वन देखियो । मधुवन हो रे त्यसको नाम । एक झल्को कुतुहलपूर्ण दृष्टि त्यतातिर फ्याँकेर ओर्लियौं ।

एकै ठाउँमा अलमलिएपछि अयोध्याका यति धेरै ठाउँ घुमेर कहिले सकिएला ? ‘चलिए चलिए’ हतार गराई रह्यो गाइडले ।
मणिपर्वतको छेवैमा छ कारसेवकपुरम् । भगवान श्रीरामको जन्मभूमिलाई मुक्त गरि त्यहाँ मन्दिर बनाउने अभियान लामो समयदेखि चल्दै आएको छ । यसलाई कारसेवा भन्दारहेछन् । कारसेवकपुरम्मा श्रीराम जन्मभूमि न्यासको कार्यशाला छ । राममन्दिर बनाउन प्रयोग गरिने ढुङ्गा र संगमरमरका टुक्राहरु चाङ लगाएर, जतनले मिलाएर राखिएका छन् । अनेक कलाकृतिहरु यत्रतत्र थुपारिएका छन् ।

‘यहाँ मन्दिर बनाने के लिए सब सामाग्री तयार है, इनको जोडजाड कर के एक दिनमे ही मन्दिर बनाने का योजना है’ सुनाउँदै छ गाइड ।

परपरसम्म फिंजाएर राखिएका निर्माण सामाग्रीहरुको कलात्मक सजावटले मनलाई रोमांचक बनायो । सबैलाई लेन्समा अटाएर फोटो खिच्यौं, ढोग्यौं । सानासाना टुक्रामा पनि अनुपम कला भरेर ढुङ्गालाई सजिव मूर्तीमा अनुवाद गर्ने ती अज्ञात कलाकारहरुलाई सम्झियौं, श्रद्धा प्रकट गर्‍याैँ । नजिकै एउटा टेन्टभित्रको त्रेता युग र रामायणकालीन इतिहास झल्काउने चित्र र मुर्तीहरुको खुल्ला सङ्ग्रहालयले ध्यान तान्यो । अयोध्याको सम्पूर्ण कथा पस्किरहेको छ टेन्टभित्रको यस सङ्ग्रहालयले ।

अयोध्यासंग जोडिएको जनकपुर र श्रृङ्ग ऋषिको तपोवन रेसुङ्गाका कथाहरु बोल्ने चित्रहरु पनि देख्यौं त्यहाँ । भारतको भूमिमा रामायणका लीलाले नेपाललाई पनि समेटेको छ । देशको सीमाभन्दा फराकिलो हुँदो रहेछ धार्मिक आस्थाको डोरी ।

एकएक कला हेर्दा धेरै समय लाग्यो । अयोध्याको मुख्य स्थल भनेको रामजन्मभूमि क्षेत्र हो । त्यो घुम्ने योजना पनि छ आजै हाम्रो । त्यहाँ पुग्न पनि हतारिएको छ मन तर यहाँका दृश्यहरुले पनि बिदा दिन मानेका छैनन् मनलाई ।

‘यता धेरै नअलमलियौं, जाउँ रामजन्मभूमिनै’ टोली नेता रामचन्द्र आचार्यसरको आदेश आएपछि मोडिए हाम्रा पाइला रामजन्मभूमितर्फ । केही खण्डहरजस्ता आकृति र फोहोर फाल्ने डम्पिङ साइटजस्तो लाग्ने भूभाग नै रहेछ रामजन्मभूमि क्षेत्र । अग्लाअग्ला फलामका खम्बा र जालीले घेरिएको यो स्थल खुला कारागारजस्तै लाग्यो । भारत सरकारले यसलाई विवादित क्षेत्र मानेको छ तर हिन्दुहरु भने भगवान श्रीरामको जन्मस्थलि मानेर अपार श्रद्धा पोख्दछन् ।

सुरक्षाको निकै कडा व्यवस्थापन देखियो यहाँ । चरा पनि झुक्किएर भित्र पस्न नसक्ने गरि फलामे बारले घेरिएको छ । ठाउँठाउँमा ठूलो सङ्ख्यामा प्रहरि खटाइएका छन् । धार्मिक आस्थाको केन्द्रमा युद्धको तयारी गरिरहेका जस्ता लाग्ने सशस्त्र प्रहरीलाई देख्दा वातावरण आफैसंग त्रसित भएझैं लाग्यो ।

‘के विधि हुन् डाङ्रेहरु ?’ लामालामा जुङ्गा पालेका मोटाघाटा, अग्लाअग्ला, भुतसिघ्रे भारतीय प्रहरीहरुलाई देखेर भनिहाल्नु भो प्रविण सुवेदीले । उही गलल्ल हाँसो फैलियो हाम्रो समुहमा । धार्मिक क्षेत्रमा हाँस्न नसुहाउने हो तर हाँसी हालियो । क्षमा गर है भगवान् !

‘भगवान रामचन्द्रको त वानर सेना थियो यहाँ त कालो नीलो पोशाक लगाएका असूरहरुले पहरा दिइरहेका छन् त भगवान रामको मन्दिरलाई’ बोल्नु भो राजन खत्री पनि ।‘भगवान पनि दानवद्वारा अपहरित हुने युग हो यो कलियुग भनेको’ कवि जीवराज वमले गरे लाक्षणिक टिप्पणी । हुन पनि भगवानको जन्मस्थलि मानिने यो ठाउँको अवस्था मान्छेलाई त्रसित बनाउने खालकै छ ।
गाइड हामीलाई जानकारी पनि दिइरहेको छ- भगवान श्रीरामचन्द्रको जन्म भएको यो ठाउँको पुरानो नाम रामकोट हो ।

रामकोटमा सयौं वर्ष पहिले राजा विक्रमादित्यले राम मन्दिर बनाएका थिए । भारतमा युद्ध गर्दै, अनेक राज्यहरु जित्दै आएको मुस्लिम योद्धा बाबरले सन् १५२९ मा यहाँ रहेको मन्दिरलाई भत्काएर त्यसको खण्डहरमाथि मस्जिद बनाउन लगाएको थियो । जसलाई बाबरी मस्जिद भनिन्थ्यो । हिन्दु संगठनहरु त्यो ठाउँको हकभोग आफ्नो अधिकारमा ल्याउन वर्षौवर्षदेखि लामो कानुनी लडाई लड्दै आए । कानुनी लडाईले कुनै ठोस परिणाम नदिएपछि ४६३ वर्षको उनीहरुको धैर्यता एकैपटक विस्फोट भयो । सन् १९९२ मा बजरंग दल र विश्व हिन्दु परिषदका कारसेवकहरुको विशाल हुलले त्यो बाबरी मस्जिदलाई भत्काइदिए । अहिले यहाँ बाबरी मस्जिदको कुनै अंश भेटिन्न ।

फलामे जालीले घेरिएको साँगुरो बाटो भएर निकै पर पुगेपछि टेन्टभित्र मुर्तीहरु देखिए । लामा फलामे बारहरुले घेरेका पथहरु घुम्दै त्यहाँ पुग्यौं । तीस मिटरजति वरैबाट दर्शन गर्ने व्यवस्था रहेछ । दर्शन गर्‍याैं। परपरसम्म लामो ताँती छ श्रद्धालुहरुको । कोही आँखा चिम्लिरहेका, कोही मन्त्रोच्चारण गरिरहेका छन् । हामी भने आफ्ना कुतुहल नयनहरु वरपर फिंजाइरहेका छौं । बाहिरको वातावरणबाट निरपेक्ष रहेर भगवान श्रीरामकै भक्तिमा आफूलाई लीन गर्न थाल्यौं । दर्शकहरु लगाइरहेका छन् ‘जय श्रीराम’ को जयकारा । हिड्दैहिड्दै घुमाउरो बाटो हुँदै अर्कोपट्टिबाट बाहिर निस्कियौं ।

रामजन्मभूमिको उदास वातावरणले मनलाई निकै बेरसम्म भावविह्वल बनाइरह्यो । यहाँका हरेक दृश्यले मन द्रवित भैरह्यो । आफ्नै जन्मभूमिमा पनि रामचन्द्र भगवान सुकुम्बासी बनेका छन् । यद्यपि न्यायालयमा चलिरहेको मुद्धाको फैसला हिन्दुकै पक्षमा आउने छ भनेर आश गर्ने अनेकौं प्रमाण छन् । भारतमा अनेकौं हिन्दुवादी संगठनहरु रामजन्मभूमिको मुक्ति आन्दोलनमा कृयाशिलनै छन् । अयोध्यामा राम मन्दिर बनाउने प्रण गरेको पार्टी नै अहिले भारतको केन्द्रीय र उत्तरप्रदेशको प्रान्तिय सरकारमा छ । कुनै दिन यहाँ रामकै मन्दिर बन्ने छ भनेर ढुक्क हुने आधारहरु विद्यमान छन् । एकपटक फेरि भगवान श्रीराम्को दर्शन गर्न यहाँ आउने छु भन्ने आश बोकेर बाहिरिएँ म । साथीहरु पनि सबै मौन छन् । आस्थाको अनुगुञ्जन भैरहेको छ हाम्रो मौनताभित्र पनि ।

‘सरयु नदीको तट र रामकी पैडी भन्ने ठाउँमा अयोध्याको रात्री सौन्दर्य नहेर्दासम्म अयोध्याको यात्रा पुर्ण हुँदैन’ धेरैले सुनाएका थिए । साँझ हुन लाग्दा हामी पनि आतुर भएका छौं आरती हेर्न । अयोध्याका अरु ठाउँहरु भोलि हेर्न थाँती राखेर हामी साँझको आरती हेर्न रामकी पैडी पुग्यौं । दिउँसो देखिएको भन्दा ठूलो भीड जम्मा भएको छ अहिले । उसो त कर्णाली नदीलाई धार्मिक आस्थाको कोणबाट त्यति पवित्र नदी मानिदैन । ताक्लाकोटको राक्षसताल नजिकैबाट निस्केर आउने भएकोले यो नदीलाई धार्मिक रुपमा अपवित्र मानिन्छ । नेपालमा बगुन्जेल कर्णालीका तटमा कतै पनि तीर्थस्थलहरु भेटिन्नन् । त्यही कर्णाली भारतमा पसेपछि भने घाघराहुँदै अयोध्या पुग्दा सरयु बनेर धार्मिक रुपले पनि पवित्र बनिसकेको पाइयो । उहिले द्वापरयुगमा महर्षि वशिष्ठले यही नदीको तटमा यज्ञ गरेपछि घाघराको नाम सरयु राखिएको र त्यो बेलादेखि यस नदीलाई पवित्र मान्न लागिएको कथा सुनाए उनै गाइडले ।

सरयुका तटमा जहाँनिर हेर्‍यो उहीनिर नुहाउने, पूजा आरती गर्ने र अर्घ दिइरहेका मान्छेहरुको भीड देखिन्छ । जहाँनिर उभियो उहीनिर सो तटसंग जोडिएको कुनै नकुनै धार्मिक महिमा सुनाइ हाल्छन् हाम्रा गाइडले । हामी रामकी पैडी पुग्दा अयोध्या अँध्यारोमा डुबीसकेको थियो तर नदी वरपरको वातावरण उज्यालोमा जगमगाएको देखियो । नदीको किनारभरि उभिन ठाउँ पनि नपुग्ने गरि मान्छेको हुलले ठसाठस भरिएको छ ।

हामी पनि मिसियौं त्यही हुलमा । ठाउँठाउँमा मन्त्रोच्चारण र वाद्यवादनका साथ आरती भैरहेको छ । मान्छेहरु आफैलाई र आफू उभिएको वातावरणलाई बिर्सेर भक्तिमा लीन भएका छन् । ‘ऊँ जय जगदीश हरे’ को गुञ्जनलाई संगीतले मृदुल ध्वनिमा रुपान्तरण गरिदिएको छ । वातावरणमा छुट्टै खालको मोहकता छ । फराकिलो नदीमा दीयो बालेका दुनाहरु तैरिरहेका छन् । नदीको पानी धमिलो र फोहोर भए पनि आस्थाको रङ भने उज्यालिएको छ । दिउँसोको गर्मीलाई साँझको शीतलताले हरण गरिसकेको छ । ढिलो रातीसम्म पनि रामकी पैडीको रौनक चहकिइरह्यो । हामी सुस्तसुस्त धर्मशालातिर लाग्यौं । अयोध्याको पहिलो रात आरतीको मधुतरङ्गमा बित्यो ।

भोलिपल्टको हाम्रो परिभ्रमण शुरु भो गुप्तारघाटबाट । हिजोको गाइडनै बिहानै आइपुगेको छ आज पनि । हतारहतार पुर्‍यायो गुप्तारघाट । ‘भगवान श्रीरामचन्द्रले वैकुण्ठधाम प्रस्थान गर्नु भएको यही घाटबाट हो’ भन्दै छ ऊ । गुप्तारघाटमा सरयु नदी दक्षिणबाट उत्तरतिर बगेको देखिन्छ । त्यसैले यहाँ उत्तरवाहिनी भनिदोरहेछ ।

‘नदीमा हाम फालेर आत्महत्या गरेका हुन् कि क्या हो रामचन्द्र भगवानले’ प्रविण सुवेदी आफ्नै प्रकारले अथ्र्याउन लाग्नु भो मृत्युको कारण ।

‘भगवानले एघार हजार वर्ष अयोध्यामा राज गरेर स्वेच्छाले आफ्ना सबै जिम्मेवारी छोराहरुलाई हस्तान्तरण गरि अन्तरध्यान हुनु भएको वर्णन छ’ रामायणको दृष्टान्त कोट्टयाउन लाग्नु भो रामचन्द्र आचार्यसर । असत्यलाई पराजित गरि सत्यको विजय गराउने दायित्व बोकेर पृथ्वीमा मानवकै रुप लिई आउनु भएको हुँदा भगवानले आफ्ना सबै कर्महरु मानवोचित नै गर्नु भएको हो । उहाँले मानव चोला त्याग गरेर वैकुण्ठधाम प्रवेश गरेको अवस्था पनि मान्छेकै जस्तो होला तर भगवानको कथालाई साहित्यिक भाषामा वर्णन गर्दा त्यसमा अलौकिकता र लाक्षणिकता प्रकट भैहाल्छ । गुप्तारघाटको चक्रहरि मन्दिरले मौन भाषामा भगवानका उनै लीलाहरुको आख्यान बोलिरहेकै छ ।

‘चलिए अब हनुमान गढी’ गुप्तारघाटमा रम्दै थियो मन, गाइडको आदेश आइहाल्यो । हनुमानगढी त सबैभन्दा बढी भीड हुने ठाउँ रहेछ । आस्था र भक्तिको अनौठो सुगन्ध छरिएको छ यहाँको वातावरणमा । अग्लो सिढी उक्लिदै गयौं मन्दिरभित्र । हनुमानका लीलाहरुको वर्णन गरिएका मन्त्र र श्लोक लेखिएका छन् भित्तैभरि ।

हनुमानगढीको पुरानो नाम हनुमतदुर्ग हो रे । लंकामा रावणलाई वध गरेर अयोध्या फर्किदा हनुमान पनि भगवान श्रीरामचन्द्रसंगै यही आएका थिए । हनुमानले यही स्थानमा बसेर आजन्म अयोध्याको रक्षा गरेका थिए भन्ने मान्यता प्रचलित छ । निष्ठा, समर्पण, स्वामीभक्ति, कर्तव्यपरायणता, पराक्रम र चारित्रिक शुद्धताका प्रतीक मानिन्छन् हनुमान । भगवानलाई मानेजत्तिकै पूजित छन् हनुमान पनि । उपकार गर्नेलाई भगवानकै दर्जामा राख्ने हिन्दु संस्कारका ज्वलन्त उदाहरण हुन् हनुमान पनि । लड्डुका सयौं पसल छन् मन्दिर वरपर । छानीछानी हामीले पनि अयोध्याको चिनो भनेर लड्डुनै किन्यौं । लड्डुनै लड्डुले भरिएको बजार हुँदै हामी ठाकुरद्वारासम्म हिड्दै गयौं । यसलाई राजसदन र दशरथ महल पनि भन्दारहेछन् ।

हनुमत दुर्गको नजिकै रहेछ दशरथ महल । यो राजा दशरथकै दरवार हो रे । यो निकै जिर्ण र भित्ताभरि रङ खुइलिएको छ । यहाँ पनि हेर्ने कुरा धेरै छैनन् । मुर्तीहरुमा नमन, पूजन अर्चन र परिक्रमा नै भयो यहाँ पनि ।

उसो त अयोध्या धेरै ठूलो ठाउँ हैन । हिडेरै पनि पुग्न सकिन्छ सबै ठाउँ । दशरथ महलबाट हिड्दैहिड्दै हामी तिन कलश मन्दिर पुग्यौं । यो मन्दिर पनि निकै जिर्ण थोत्रो खण्डहरजस्तो छ । यो जिर्ण मन्दिर ठडिएको ठाउँमा उहिले रघुवंशका कुलगुरु महर्षि वशिष्टको आश्रम थियो रे । यही आश्रमको पाठशालामा भगवान रामचन्द्रका चारै भाइहरुले प्रारम्भिक पठन पाठन गरेका थिए । नजिकै रहेको सानो कुण्डलाई वशिष्ठ कुण्ड भन्दारहेछन् । कुण्डको परिक्रमा र मन्दिरमा श्रद्धार्पण गर्‍यो ।

त्यहाँबाट हामी कनकभवनतर्फ लाग्यौं । मन्दिर र दरवारको साझा झल्को दिने यो भवनको बास्तुकला हेर्दा धेरै पुरानोजस्तो लाग्दैन । तर यसलाई भगवान रामचन्द्रकी सौतेनी माता कैकेयीले पहिलोपल्ट बुहारीको मुख हेर्दा उपहार दिएको भवन हो भन्दारहेछन् । जो पछि भगवान राम र भगवति सीताकोे निवास बन्यो । यो पूर्ण रुपमा सुनको हुनाले यसलाई कनकभवन भन्दा रहेछन् । हाम्रो आँखाअगाडि उभिएको वर्तमानको कनकभवन भने इट्टाले बनेको पहेंलो र सुनौला रङले पोतिएको छ । त्रेता युगको कनकभवन सायद यही ठाउँनिर थियो होला । कनक भवनको अहिलेको संरचना टिकमगढकी महारानीले बनाउन लगाएकी हुन् रे । यी उनै महारानी हुन् जसले जनकपुरधामको जानकी मन्दिर पनि बनाउन लगाएकी थिइन् ।

हाम्रो समुहलाई देखेपछि एकजना मान्छेले ‘मौनी बाबाका दर्शन करा देते हैं’ भन्यो । भैगो हामीलाई धेरै ठाउँ घुम्नु छ भन्दा पनि उसले हामीलाई फकाइरह्यो ।

‘पैसा झार्ने जुगाड हो यो’ संजयराज श्रेष्ठ उम्किन खोज्दै हुनुहुन्छ ।

‘दर्शन गरौं न त बाबाको’ रामचन्द्रसर उत्साहित हुनुभएपछि कुनै बाबाको दर्शन गर्नु आफैमा श्रद्धाप्रकट गर्ने अवसर ठानेर नाइँ भन्ने कुरै भएन । साँगुरा गल्ली र अँध्यारा कोठाहरुको अनेकौं फन्को घुमाउँदै एउटा ठूलो हलमा पु¥यायो उसले । लामा, सेता दारी, लामो सेतै कपाल, अग्नि वस्त्र लगाएका एक जना वृद्ध साधु खाटमाथि पलेटी मारेर बसेका छन् । सबैले ढोग्यौं उहाँलाई । मुहारबाट अनौंठो दिव्य आभा फैलिरहेको छ बाबको । हामीलाई लगेर जाने मान्छेले हाम्रो परिचय दिए बाबालाई । अनि बाबाको बारेमा हामीलाई बताए । बाबासंग कुनै संवाद, कुनै चर्चा, परिचर्चा हुन पाएन । अयोध्याको रामजन्मभूमि स्थलमा राम मन्दिर नबन्दासम्म नबोल्ने प्रतिज्ञा गनुृ भएको छ रे बाबाले ।

हामीलाई बाबा बसेको ठाउँसम्म डोर्‍याएर लैजाने मान्छे बोल्दाबोल्दै अन्तमा आफ्नो लक्षमैं आइपुग्यो । राममन्दिरको लागि यति दान गर्नु भयो भने यस्तो ठाउँमा नाम लेखाइदिन्छौं, उति दान गर्नु भयो भने उस्तो ठाउँमा नाम लेखाइदिन्छौ, भनेर टेपरेकर्डरजस्तै एकोहोरो बोल्न लाग्यो । भगवानको नामलाई यसरी विज्ञापित गरेको देखेर नमज्जा लागेर आयो । मौनी बाबाको दिव्यताले पारेको प्रभावले खाली हात उठेर आउन दिएन हामीलाई । साधु, संतको दर्शन पाएपछि केही न केही दान,दक्षिणा दिइहाल्नुपर्छ भन्ने मान्यता नै छ । दक्षिणा भनेको श्रद्धा प्रकट गर्ने एउटा शैली पनि हो । हामी यहाँबाट खाली हात फर्किने त थिएनौं तर श्रद्धाको व्यापारिकरण गरेको देखेर उदेक लागेर आयो । आआफ्नो गच्छे अनुसार केही रकम बाबाको अगाडिपट्टि राख्यौं र ढोगेर उठ्यौं । बाबा भने उस्तै शान्त र अविचलित मुद्रामा बसेकै छन् ।

हिड्दैहिड्दै अयोध्याको मध्य भागमा बनेको तुल्सी उद्यान पुग्यौं । मान्छेको कोलाहल र प्रदुषणबाट केही मात्रामा अछुतो नै रहेछ यो उद्यान । उद्यानको मध्यमा गोस्वामी तुल्सीदासको प्रतिमा उभिएको छ । रामचरितमानसका रचनाकार हुन् गोश्वामी तुलसीदास । उद्यानका भित्ताभित्तामा रामचरितमानसका श्लोकहरु पनि लेखिएका छन् । यो उद्यानभन्दा पनि कुनै काव्यको सङ्ग्राहलयजस्तै लाग्यो । एक फन्को राजा दशरथलाई समाधिष्ठ गरिएको सुरजकुण्डसम्म पनि लगायौं । भगवान रामका खराउलाई सिंहासनमा राखेर उहाँका भाइ भरतले १४ वर्ष अयोध्यामा राज्य चलाएको ठाउँ नन्दीग्राम पनि पुग्यौं । सबै ठाउँ अयोध्याको जीवन्ततामा आआफ्नो सोपान थपिरहेकै छन् ।

अयोध्याका धेरै कुरा अभिधात्मक भन्दा पनि प्रतिकात्मक र लाक्षणिक लागे । साहित्यिक दृष्टिले अथ्र्याइएका छन् यहाँका धेरै कथा र दृष्टान्तहरु । अयोध्याको नामनैं आफैमा अर्थपूर्ण छ । कतै यसलाई कहिल्यै युद्ध नभएको भूमि त कतै यसलाई युद्ध गरेर कसैले जित्न नसकिएको भूमि भनेर उल्लेख गरिएको छ । भगवान रामले अन्यत्र ठूलाठूला युद्ध गरेका अनेकौं कथा भेटिए पनि अयोध्यामा कुनै युद्ध भएको प्रसङ्ग त रामायणमा पनि भेटिन्न । अनुशासन र आचारसंहिताको पूर्ण पालना गर्न समर्थ हुनाले नै अयोध्याका राजा रामचन्द्रलाई मर्यादा पुरुषोत्तम भनेर भगवानको दर्जा दिइएको हो । अहिले पनि रामले चलाएको राज्यलाई आदर्श राज्यको रुपमा सम्झिने र उदाहरण दिने गरिन्छ । हिन्दु धर्मका पवित्र सातओटा पुरीहरु मध्येको यौटा पुरी हो अयोध्या । जहाँनिर उभिए पनि यहाँ राम र सीताको कुनैनकुनै दृष्टान्त भेटिन्छ नै । यहाँका हरेक कणकणमा भगवान राम र सितामाताको उपस्थिति महसुस हुन्छ । गाइडले जहाँ पुर्‍याए पनि केही न केही हामीले नसुनेको, थाह नपाइएको इतिहास सुनाइहाल्छ । साँगुरा गल्ली, माग्नेहरुको हुल, लुरुलरु डुलिरहेका गाई, फुक्काहाल भएर दौडिरहेका साँढे र छुच्चा बाँदर, नदीमा तैरिरहेका डुङ्गा र दान गर्ने मान्छेले लेखेका शीलालेख देखिन्छन् जता पनि । अयोध्यामा देखिने र अयोध्यालाई खोज्नु पर्ने दृश्य पनि यिनै हुन् । देखिएका दृश्य भन्दा सुनिएका मिथकमा बढी रोचकता भेटिन्छ ।

अयोध्यालाई अयोध्यामात्रै भन्दा हेला गरेजस्तो हुँदो रहेछ । यो स्थललाई श्रद्धा गरेर श्रीअयोध्याजी भन्ने चलन रहेछ यहाँ । भगवान राम, सीतामाता र हनुमानको नाम उच्चारण गर्दा अगाडि ‘श्री’ र पछाडि ‘जी’ नलगाएर उच्चारण गरियो भने असभ्य र अमर्यादित ठानिदोरहेछ । मुखमा शब्दैपिच्छे ‘जय सियाराम’ र ‘जय श्रीराम’ निकालि रहन्छन् मान्छेहरु । जताततै ‘राम राम’ लेखेको दख्न पाइन्छ । राम, सीता, उहाँको परिवार र हनुमानका सबैभन्दा बढी मुर्ती देखिए यहाँ ।

यहाँका मठ, मन्दिर र मुर्तीहरु त्यति पुरानाजस्ता लाग्दैनन् । बास्तुविज्ञानको पालना नगरिकन लहडको भरमा बनाइएका जस्ता लाग्छन् कतिपय त । राम तथा रावणको युद्ध, बाली तथा सुग्रिवको युद्ध र हनुमानद्वारा लंका दहन गरेका दृश्यलाई सजीव ढङ्गले उतारिएका मुर्ती पनि भेटिए ठाउँठाउँमा । मन्दिरभन्दा मुर्ती बढी र मुर्तीभन्दा शिलालेख बढी हुन् कि जस्तो पनि भान पर्छ । केही सहयोग वा दान गर्ने बित्तिकै त्यसलाई शिलापट्टमा अङ्कित गरिहाल्ने होडबाजीले मन्दिरका भित्ताहरु कुरुप भैसकेका छन् । संगमरमरका शिलालेख र शिलापट्टहरुले अयोध्याका मन्दिरहरुको सौन्दर्य बढाउनुभन्दा सौन्दर्य बिगारेको जस्तो लाग्छ ।
आस्था, इतिहास र कलाको यो संगम स्थलीलाई सर्वत्र फालिएको फोहोर, जताततै छरपष्ट भएको गोबर, मान्छेको अव्यवस्थित भीड र पुराना मठ मन्दिरका खण्डहरले कुरुप पारिदिएका छन् ।

प्रायः भारतीयहरुले बोलेको सुन्दा हिन्दी भाषा हो कि उर्दू भाषा हो ठम्याउन गाहारो पर्छ । उर्दूमा हिन्दी मिसिएको हो? या हिन्दीमा उर्दू मिसिएको हो ? म अलमलिइरहन्छु । अयोध्यामा भने मानिसहरु उर्दू नमिसिएको शुद्ध हिन्दी बोल्दा रहेछन् ।
गाइडलाई केही सोध्दा ‘भाइजान’ निस्किदो रहेछ मेरो मुखबाट । उर्दू र हिन्दीका शब्दहरु छुट्टाउन सक्दा रहेनछौं हामीहरु । धेरै पटक मेरो मुखबाट ‘भाइजान’ निस्केपछि उसले अँध्यारो मुख बनाउँदै मलाई भनिहाल्यो- ये श्रीअयोध्याजी है यहाँ भाइजान नहीं चलता, भाइजी कहिए’ । उसको भनाईले म पनि झसङ्ग भएँ । हो त नि हामीले हिन्दी बोले पनि, नेपाली बोले पनि मौलिक वा संस्कृतनिष्ट बोल्नु राम्रो हो । उर्दू वा अङ्रेजीका शब्दहरु मिसिएर बोल्नु पनि एक प्रकारको साम्राज्यवादी प्रभावनै हो हुन त ।
भारतका धेरैजसो तीर्थस्थलहरुमा जाँदा प्रायः संस्कृतका श्लोक र मन्त्रहरु माइकमा बजाएको सुन्न पाइन्छ, अयोध्यामा भने प्रायः माइकमा हिन्दी र अवधी भाषामैं भजन बजेको सुनियो । जताततै तुलसीदासकृत रामचरितमानसका पङ्क्तिहरुनै बजाएको सुनियो ।

हामी अयोध्या घुमिरहँदा सुनेका कुरा र कथाहरुलाई यहाँका संरचनाहरुको आयुसंग दाँजिरह्यौं । यहाँ पौराणीक र द्वापर युगमा बनेका संरचनाका कुनै अवशेष भेटिन्नन् । धेरैजसो संरचनाहरु पाँच छ सय वर्ष अघि निर्माण भै मर्मत हुँदै आएका नै देखिए । यहाँका सबैजसो संरचनाहरुसंग भगवान रामचन्द्रको समयको कुनै न कुनै मिथक भने जोडिएकै हुन्छ । पुरातात्विक हिसाबले अयोध्याका कथाहरुलाई पुष्टी गर्न सकिन्न । अयोध्यालाई पढ्ने र हेर्ने भनेको आस्थाको आँखाले नै हो ।
दुई दिनसम्म हामीलाई डुलाउँदा अयोध्याका थुप्रै कथा र मिथकहरु सुनायो गाइडले । तैपनि अयोध्याका कथाहरु सकिएनन् । रामायणका मिथकहरु टुङ्गिएनन् ।

छुट्टिने बेलामा गाइडले यति भनेर टुङ्ग्यायो अयोध्याको श्रीकथा-
‘एक सरयु नदी है, एक अयोध्याजी है और बाँकी सब मनकी आस्था है’।

(लेखक ‘कोपिला’ नेपालगञ्ज उपमहानगरपालिका बाँकेका हुन्)