नेपाल प्रेस युनियनको मतदान जारी

नेपाल प्रेस युनियनको मतदान जारी


ग्लोब नेपाल
54
Shares

हेटौँडा । निर्धारित समयभन्दा ४ घण्टा ढिलो गरी सुरु भएको नेपाल प्रेस युनियनको मतदान जारी छ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा जारी युनियनको नवौँ राष्ट्रिय अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि आज बिहान १० बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया २ः३० बाट सुरु भएको निर्वाचन अधिकृत अधिवक्ता प्रविण हुमगाईँले बताए । उनका अनुसार अहिले पनि मतदान कार्य जारी छ ।

नेपाली कांग्रेसको संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन इतर समूहबाट शिव लम्सालको प्यानल चुनावी मैदानमा छ । यसैगरी, अध्यक्षमा भुवन भट्टले पनि उम्मेदवारी दिएका छन् । प्रेस युनियनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र सरोज अधिकारीले उम्मेदवारी दिएका छन् । यसैगरी, उपाध्यक्ष खुल्ला दुई वटा पदमा चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष खुल्लामा राममणि दाहाल, नकुल अर्याल, भिष्मराज ओझा र शेखर रेग्मीले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्ष समावेशी पदमा भने सङ्खुवासभाका दिपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी ११ जना अरु उपाध्यक्षका लागि दुई प्यानलबाट उम्मेदवारी छ ।

यसैगरी महासचिव पदमा जगन्नाथ दुलाल र दिलिप पौडेलका बीचमा प्रतिस्पर्धा हुँदैछ । अध्यक्षदेखि सदस्यसम्म दुई प्यानलमा विभाजित भएका छन् । खुल्ला रुपमा उम्मेदवारी दिनेहरु पनि छन् । अन्तिम नामावली अनुसार १२१ पदको लागि २०७ जनाले उम्मेदवारी दिएका छन् ।

हालसम्म ३२ जना निर्विरोध चयन भएका छन् भने बाँकी रहेका पदहरूमा मतदान हुँदैछ । युनियनको देशभरका १ हजार ६ सय ३० प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्दैछन् ।