वामपन्थी एकताको प्रतिक्षामा नेकपा एमाले छैनः शंकर पोखरेल

वामपन्थी एकताको प्रतिक्षामा नेकपा एमाले छैनः शंकर पोखरेल


ग्लोब नेपाल
972
Shares

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थी एकता गर्ने प्रस्तावको प्रतीक्षामा आफ्नो दल नरहेको प्रष्ट पारेका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार बिहान प्रेस चौतारी कर्णाली प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमालेका लागि गठबन्धन प्रधान विषय नभएको बताए। उनले आफूहरु पार्टीलाई जनताको बीचमा लाने अभियानमा रहेको पनि बताए ।

वामपन्थी दलहरु एकताको प्रयासमा जुटिरहँदा एमालेलाई त्यो प्रस्ताव आएको छ वा छैन भन्ने सञ्चारकर्मीको प्रश्नमा महासचिव पोखरेलले भने, ‘हामी त्यो प्रस्तावको प्रतीक्षामा नै छैनौं। अहिले हामी हाम्रो पार्टीलाई जनताको बीचमा लाने अभियानमा छौं।’

उनले अहिलेको राज्य सञ्चालनका लागि गठबन्धन नबनेको टिप्पणी गरे। ‘राज्य सञ्चालनका लागि गठबन्धन होइन, राष्ट्रिय शक्ति छैन,’ पोखरेलले भने, ‘नेकपा एमालेको दृष्टिकोण चुनावको बेलामा के गर्ने भन्ने त्यतिबेला गरौंला।’ चुनावमा हुने तालमेल तत्कालीन वा रणनीतिक हुनसक्ने उनले बताए।

उनले परराष्ट्र नीतिको मामिलामा अहिलेको सरकार असन्तुलित भएको आरोप लगाए। एसपीपी सम्झौताबारे मन्त्रिपरिषदले निर्णय गरेको भए पनि पत्राचार नभएको उनले बताए। ‘सत्तारुढ दलका नेताहरु गठबन्धन र प्रधानमन्त्री खोज्न विदेश जान थाले भन्ने आएका छन्’, महासचिव पोखरेलले भने, ‘गठबन्धनका नेताहरुले स्वार्थका लागि विदेशको प्रयोग गरिँदै आएको छ।’

नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको पोखरेलले बताए । ‘विकास निर्माणका कामहरु टप्प छन । लकडाउनको समयमा भन्दा पनि कम विकास खर्च कम भएको छ । मुलुकको परराष्ट्र नीति पूर्णत असफल भएको छ’, महासचिव पोखरेलले भने ।

नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ । दुई देशका बीचको असमान प्रबन्ध राख्नु गलत भएको भन्दै उनले साउन १६ गते एमालेले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको पनि खुलासा गरे ।