भ्रमपूर्ण समाचारको पछि नलाग्न सुनकोशी गाउँपालिकाको अनुरोध

भ्रमपूर्ण समाचारको पछि नलाग्न सुनकोशी गाउँपालिकाको अनुरोध


ग्लोब नेपाल
170.5k
Shares

ओखलढुंगा । तथ्यहिन र भ्रम फैलाउने समाचारको पछि नलाग्न सुनकोशी गाउँपालिकाले सर्वसाधारणमा अनुरोध गरेको छ । महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुझाव र निर्देशनका आधारमा असुल उपर गर्नुपर्ने भनिएको रकम सरकारी राजश्व खातामा गत आर्थिक वर्षमा नै जम्मा गरी सक्कलै भौचर प्राप्त भएको र बेरुजु फर्छ्योट भइसकेको सुनकोशी गाउँपालिका कार्यालयले स्पष्ट पारेको छ ।

उक्त कुरा महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा उल्लेख नभएको विषयलाई लिएर व्यक्तिको चरित्र हत्या गर्ने दुरासयले समाचार सम्प्रेषण भएकोमा गाउँपालिका कार्यालयको गम्भीर ध्यानाकर्षण भएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता विषयमा तथ्य नबुझी सम्प्रेषण भएको समाचारको पछाडि लागेर भ्रमपूर्ण तवरले सामाजिक सञ्जालमा नल्याउन गाउँपालिकाको कार्यालयले अनुरोध गरेको छ । महालेखा परीक्षकले लेखा परीक्षणका क्रममा देखिएका सुधार गर्नुपर्ने विषयमा सुझाव दिनु र सुझावका आधारमा कार्यालयले सम्परीक्षण गरेर काम गर्नु नियमित प्रक्रिया भएको विज्ञप्तिमा उल्लेख छ ।

यससँग सम्बन्धित कागजात गम्भीरतापूर्वक अध्ययन गरेर मात्र आफ्नो धारणा बनाउन साथै हल्का टिप्पणी गर्दै विद्युतीय अपराध ऐन, प्रेस काउन्सिल ऐन बर्खिलाप हुने गरी भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्नसमेत गाउँपालिकाले अपिल गरेको छ ।’