खस्कियो शिक्षाको गुणस्तर

खस्कियो शिक्षाको गुणस्तर



काठमाडौं । नेपालमा कक्षा १० अर्थात् माध्यमिक तहको शिक्षाको गुणस्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड नेपालले बुधबार सार्वजनिक गरेको माध्यमिक तह (एसईई) को नतिजामा गुणस्तर खस्किएको पाइएको हो ।

गत वैशाखमा देशभर एकैसाथ सञ्चालित परीक्षाको नतिजाअनुसार उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्यामा कमी देखिएको छ ।

२०७५ सालमा ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ३.८३ प्रतिशत रहेको थियो । बुधबार सार्वजनिक नतिजामा भने यो वर्ष ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या १.९४ प्रतिशतमा सीमित बनेको छ । २०७५ सालको तुलनामा यो संख्या १.८९ प्रतिशतले कमी आएको हो ।

एसईईमा ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने परीक्षार्थीको संख्यामा पनि कमी देखिएको छ । २०७५ सालमा यो ग्रेड ल्याउने विद्यार्थीको संख्या ११.१३ प्रतिशत रहेकामा यो वर्ष ८.४ प्रतिशतमा झरेको छ ।

कोभिड महामारीका कारण २०७६ र २०७७ सालको एसईईको नतिजा भने राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयले सञ्चालन गरेको आन्तरिक परीक्षा र मूल्यांकन गरी पठाएको अंकलाई नै स्वीकृत गरी नतिजा सार्वजनिक गरेको थियो ।
बोर्डले २०७५ पछि यो वर्ष परीक्षा सञ्चालन गरेकोमा कोभिड महामारीलगायतका कारण शिक्षाको गुणस्तरमा कमी देखिएको हो । कतिपय शिक्षाविद्हरूले कोभिड महामारीको समयमा सिकाइ कार्यमा नै कोभिडको असर परेकाले उच्च तहको नतिजामा पनि असर परेको टिप्पणी गरेका छन् ।

यो वर्ष उच्च तहको जीपीए ल्याउने विद्यार्थीको संख्या घटेपछि तल्लो तहको अंक ल्याउनेको संख्यामा भने वृद्धि देखिएको छ । २०७५ सालमा २.८ देखि ३.२ जीपीए ल्याउने परीक्षार्थी १३.८८ प्रतिशत रहेकामा अहिले १४.१० प्रतिशत पुगेको छ ।

त्यस्तै, २.४ देखि २.८ जीपीए ल्याउने परीक्षार्थी २०७५ सालमा १६.६७ प्रतिशत रहेकामा यो वर्ष झन् बढेर १८.३१ प्रतिशत पुगेको छ ।

२०७५ सालमा २ देखि २.४ जीपीए ल्याउनेहरू संख्या २१.३८ प्रतिशत रहेकामा २०७८ सालमा २२.७४ प्रतिशत पुगेको छ ।

यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ रहेको छ । त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६ सय २७ रहेको बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको संख्या ६९ हजार ९ सय रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७ सय ५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७ सय ३३ रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘नतिजा सन्तोषजनक रहेको बताए । ‘कोभिड–१९ महामारीका कारण विद्यार्थीको सिकाइमा असर गरेकाले माथिल्लो जीपीए ल्याउनेहरू घटेको हुन सक्छ तर यो नतिजा सन्तोषजनक मान्नुपर्छ,’ उनले भने ।

यो वर्षको कक्षा १० अर्थात् एसईईको परीक्षामा ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ९ सय २४ छात्रा रहेका छन् भने २ लाख ५७ हजार ५३ जना छात्र सहभागी छन् । गत ९ देखि २० वैशाखसम्म देशभर एकसाथ २ हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

नतिजा सन्तोषजनक रहेको दाबी
राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको एसईईको नतिजा सन्तोषजनक रहेको दाबी गरेको छ ।

नतिजा सार्वजनिक गर्न बोर्डको कार्यालय परिसर सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले २०७५ सालको तुलनामा २०७८ को एसईई नतिजा सन्तोषजनक रहेको दाबी गरे ।

कमजोरमा कर्णाली, राम्रोमा बाग्मती
यो वर्षको एसईई परीक्षाको नतिजामा सबैभन्दा कमजोर नतिजा कर्णाली प्रदेशको देखिएको छ भने तुलनात्मक रूपमा राम्रोमा बाग्मती प्रदेशको रहेको छ ।

नजिताअनुसार मधेस प्रदेशको नतिजामा सुधार देखिएको छ । बुधबार सार्वजनिक नतिजा अनुसार ३.६ देखि ४ जीपीए ल्याउने सबैभन्दा धेरै परीक्षार्थीको संख्या बाग्मती प्रदेशमा रहेको छ । ९ हजार ६ सय ३३ जना विद्यार्थीले सो जीपीए प्राप्त गरेकोमा ४७.७७ प्रतिशत बाग्मती प्रदेशका छन् । सबैभन्दा कम उच्च जीपीए प्राप्त गर्नेमा भने कर्णाली सबैभन्दा पछाडि र त्यसपछि सुदूरपश्चिम रहेको छ । कर्णालीमा विद्यार्थीको संख्या पनि सबैभन्दा कम साढे ७ प्रतिशत मात्रै रहेको छ ।
राजधानी दैनिकबाट