‘जनहित मे जारी’ले तोड्यो ‘आरआरआर’को रेकर्ड

‘जनहित मे जारी’ले तोड्यो ‘आरआरआर’को रेकर्ड


ग्लोब नेपाल
270
Shares

काठमाडौं । करिब डेढ महिना अघि थिएटरमा रिलिज भएर चार करोड रुपैयाँमात्र बक्सअफिस व्यापार गरेको फिल्म ‘जनहित मे जारी’ले ओटीटीमा रेकर्ड कायम गरिरहेको छ । पुरुषलाई सुरक्षित यौन सम्बन्धका लागि कण्डम प्रयोग गर्नुपर्ने सन्देश दिने फिल्मलाई हेर्न दर्शक भलै फिल्म हलमा त गएनन्, तर घरमै बसेर ओटीटीमा फिल्म हेर्नेको संख्या ह्वात्तै बढेको छ ।

नुसरत भरुचा स्टारर यो फिल्मले यो वर्ष फिल्म हलमा नयाँ रेकर्ड बनाउने ‘द कश्मीर फाइल्स’ र ‘आरआरआर’ जस्ता फिल्मको रेकर्ड पनि तोडिदिएको छ । यो फिल्मले पहिलो सप्ताहमा कंगना रनावतको फिल्म ‘धाकड’ भन्दा पनि २२ प्रतिशतले बढी कमाई गरेको थियो ।

ओटीटीमा फिल्म जी५मा रिलिज भएको छ । यो फिल्मले ‘धाकड’को तुलनामा सय मिलियन स्ट्रीमिङ मिनिट्सको रेकर्ड धेरै अगाडि छोइसकेको थियो । अब यो फिल्म यो वर्ष हालसम्म जी५ मा सबैभन्दा बढी हेरिने फिल्मको रेकर्ड राखेको छ ।

फिल्म ‘आरआरआर’ जी५ मा हिन्दीका अलावा अन्य चार भाषामा रिलिज भएको थियो र यो फिल्मलाई हालसम्म एक हजार मिलियन मिनेटमा हेरिएको छ ।

तर ‘जनहित मे जारी’ ले यो आँकडा छोएर सबैलाई चकित बनाएको छ । फिल्म ‘आरआरआर’ले २२ दिनमा हजार मिलियन मिनेटको भ्यू रेकर्ड बनाउँदा ‘जनहित मे जारी’ले १३ दिनमै ‘आरआरआर’को रेकर्ड तोडेको हो ।

फिल्मले एक कण्डम बेच्ने कम्पनीमा काम गर्ने युवतीको कथा बोल्छ । उनको काममा कैयौं मानिसले प्रश्न उठाए पनि उनी भने मानिसलाई सुरक्षित यौन सम्बन्धका लागि जागरुक बनाउने अभियानमा सक्रिय रहन्छिन् ।