पद्मश्री साहित्य पुरस्कारका लागि छानिए पाँच उत्कृष्ट कृति

पद्मश्री साहित्य पुरस्कारका लागि छानिए पाँच उत्कृष्ट कृति


ग्लोब नेपाल
135
Shares

काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि पाँच उत्कृष्ट पुस्तक छनौट गरेको छ । तीन चरणमा कृतिहरू सिफारिस गर्न गठन गरिएको निर्णायक समितिले उत्कृष्ट ५ पुस्तक चयन गरेको हो ।

छनौट भएका ५ पुस्तकमा डा. नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, दीपक पराजुलीको ‘मिथ्या’ र केवल बिनाबीको ‘यादहरूको सङ्ग्रहालय’ रहेका छन् ।

२०७८ सालभित्र प्रकाशन भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट यी पाँच कृति छनौट गरिएको हो । कृति छनोटका लागि गठन गरिएको निर्णायक समितिमा राम लोहनीको संयोजकत्वमा स्रष्टाहरु नयनराज पाण्डे, कुमारी लामा हुनुहुन्छ ।

निर्धारित मापदण्डबमोजिम मूल्याङ्कन गरी समितिले सिफारिस गरेका पन्ध्रवटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक गरिएको थियो ।

जसमा नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, दीनानाथ शर्माको ‘एक सम्बोधन समयमाथि’, राजवको ‘काफ्काको काम सकियो’, कविता राईको ‘गूरु’, लोकराज भट्टको ‘छाइल’, दिलिप बान्तवाको ‘ताल्चा’, अलका आत्रेयको ‘निनादवल्लरी’, राजेन्द्रमान डंगोलको ‘पैतालामा हिँउ, आँखामा हिमाल’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, बसन्त बस्नेतको ‘महाभरा’, दीपक पराजुलीको ‘मिथ्या’, केवल बिनाबीको ‘यादहरुको संग्रहालय’ र गिरीश गिरीको ‘सत्यमोहन’छनोटमा परेका थिए ।

उक्त विस्तारित सूचीमा परेका कृतिमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूचीको प्रयोजनका लागि पाँचवटा कृतिको नामावली उपलब्ध गराएको हो ।

तेस्रो तथा अन्तिम चरणमा यिनै पाँच कृतिमध्येबाट पुरस्कृत कृति चयन गरिनेछ। नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहर भएका पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिने गरिन्छ ।

प्रतिष्ठानले २०६३ सालदेखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएकोमा २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ।

प्रतिष्ठानले यो वर्षदेखि सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक जनालाई पद्मश्री समाज सेवा सम्मान प्रदान गर्ने घोषणासमेत गरिसकेको छ ।