महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न मेयरहरूको माग

महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न मेयरहरूको माग


ग्लोब नेपाल
405
Shares

काठमाडौँ । ६ महानगरपालिकाका प्रमुखहरूले संघीय संसदबाट महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न माग गरेका छन् । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै महानगरपालिकाहरूका लागि छुट्टै ऐन माग गरिएको हो ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरूका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौँ,’ पोखरा घोषणापत्रमा उल्लेख छ ।

यसबाट संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि सङ्घ र प्रदेश सरकारहरूसँगको समन्वय, सहयोग र सहकार्यलाई अझ घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सहज बन्ने महानगरपालिकाका मेयरहरूको निष्कर्ष छ ।

महानगरपालिकाहरूका विशिष्ट प्राकृतिक, सांस्कृतिक एवं सामाजिक मौलिक चरित्र एवं समस्या र सम्भावनाहरूलाई सम्मान र संवोधन गर्दै महानगरहरूबिच पारस्परिक सम्पर्क सञ्जाल प्रवर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई ‘महानगर मञ्च नेपाल’ को माध्यमबाट संस्थागत गर्न प्रण पनि मेयरहरूले गरेका छन् ।

उक्त महानगर मञ्च नेपालद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन आयोजना गर्ने, हरेक महानगरमा नीति तथा योजना आयोग गठन गरी सञ्चालन गर्ने, संघीय तथा प्रदेश सरकारले अपनाएको व्यवस्था बमोजिम आवश्यक कानुनी प्रबन्ध गरी सबै महानगरको सङ्गठन संरचनामा उपयुक्त संस्थागत व्यवस्था गर्ने पनि संयुक्त घोषणा पत्रमा उल्लेख छ ।

महानगरका छिमेकी पालिकाहरूसँग समावेशी पूर्वाधार विकासमा सहकार्य गर्ने तथा सङ्घ र प्रदेश सरकार एवं राज्यका अन्य अङ्ग र निकायहरूसँग पारस्परिक सूचना सम्प्रेषण र परामर्श गरी सम्पर्क, समन्वय र सहकार्य गर्ने ऐक्यबद्धता पनि जनाइएको छ । संयुक्त घोषणा पत्रमा काठमाडौं, ललितपुर, चितवन, वीरगञ्ज, विराटनगर र पोखरा महानगरपालिकाका मेयरहरूले हस्ताक्षर गरेका छन् ।