तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको हवाई इन्धन डिपोमा तालाबन्दी

तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको हवाई इन्धन डिपोमा तालाबन्दी


ग्लोब नेपाल
162
Shares

दाङ । स्थानीयले तुलसीपुरको टरिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी गरेका छन् ।

दुई महिनाअघि ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेपछि बाउजर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेसहितको स्थानीय टोलीले आइतबार संयुक्त रूपमा ताला लगाएका हुन् ।

स्थानीयले आइतबार बाउजर मेसिन काठमाडौं फिर्ता लैजाने खबर पाएका थिए । उपमेयर चौधरी, तुलसीपुर-१२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष चालिसे, महासचिव विनिल केसीलगायतको टोली एयरपोर्ट पुगेको थियो।

उनीहरु बाउजर फिर्ता लैजान नदिने अडानमा छन् । बाउजर फिर्ता लैजान नदिन भन्दै स्थानीयहरुले दाङबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुलाई पनि ध्यानाकर्षण गराएका छन् । लामो प्रयासपछि मात्र नियमित सञ्चालनमा आएको विमानस्थलाई बन्द गराउने षड्यन्त्रस्वरूप बाउजर लैजान थालिएपछि ताला लगाउनुपरेको उपप्रमुख चौधरीले बताइन् ।

नेपाल आयल निगम तुलसीपुरमा ध्यानाकर्षणपत्र बुझाई बाउजर नलैजान सचेत पनि गराइएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष चालिसेले बताए । ध्यानाकर्षणपत्रमा बाउजरलाई यथावत राख्न अनुरोध गर्दै मागको बेवास्ता गरे सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिइएको उनले जानकारी दिए ।

तुलसीपुर डिपोमार्फत नेपाल आयल निगम केन्द्रीय कार्यालय काठमाडौं, क्षेत्रीय कार्यालय नेपालगञ्ज, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङ, तुलसीपुर उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत पत्र पठाइएको चालिसेले बताए । टरिगाउँ विमानस्थलमा हालसम्म नेपाल वायु सेवा निगमको जहाज मात्रै चल्दै आएको छ । इन्धन डिपो नभएकै कारण अन्य जहाजहरु सञ्चालन हुन सकिरहेका छैनन् ।