बङ्गलादेशमा विद्युत् बिक्री गर्न त्रिपक्षीय सम्झौता हुँदै

बङ्गलादेशमा विद्युत् बिक्री गर्न त्रिपक्षीय सम्झौता हुँदै


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । नौ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जिएमआरले ६ महिनाभित्र बङ्गलादेशसँग पावर सेल एग्रिमेन्ट (पिएसए) गर्ने भएको छ । गत ३१ असारको मन्त्रिपरिषद्को बैठकले जिएमआरलाई पिएसए गर्न ६ महिनाको म्याद थप गरेको थियो । सोही अवधिभित्र बङ्गलादेशसँग पिएसए गर्न जिएमआर अगाडि बढेको हो ।

बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डले प्रतियुनिट ७.७१७२ सेन्ट डलरमा पाँच सय मेगावाट विद्युत् किन्ने गरी जिएमआरलाई ०७६ माघ (जनवरी २०२०) मा आशयपत्र पठाइसकेको छ । सोलगत्तै पिएसएको अन्तिम सम्झौता गर्ने भनिए तापनि कोरोनाका कारण अन्योलमा परेको थियो । तर, अहिले अन्तिम सम्झौता गर्ने गरी काम भइरहेको जिएमआरका एक उच्च अधिकारीले बताए ।

साथै, उक्त सम्झौता नेपाल (जिएमआर), भारत र बङ्गलादेशबिच त्रिपक्षीय रूपमा गरिने उनको भनाइ छ । स्रोतका अनुसार भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन), बङ्गलादेश सरकारको पावर डेभलपमेन्ट बोर्ड र जिएमआरबीच पिएसएको त्रिपक्षीय सम्झौता हुनेछ ।

जिएमआरले अपर कर्णालीबाट उत्पादन हुने विद्युत् भारत हुँदै बङ्गलादेशमा पुर्‍याउनुपर्ने बाध्यता छ । नेपालबाट बङ्गलादेशमा विद्युत् पुर्‍याउन भारतको सहयोग चाहिन्छ । त्यसकारण पिएसएमा त्रिपक्षीय सम्झौता गर्न लागिएको हो । बंगलादेशले विद्युत् किन्ने, भारतले प्रसारण लाइन तथा जग्गा उपलब्ध गराउने र जिएमआरले विद्युत् बिक्री गर्ने गरी त्रिपक्षीय सम्झौता गरिने कम्पनीको भनाइ छ ।