त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी

त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी


ग्लोब नेपाल
243
Shares

धादिङ । त्रिशुली नदी माथि निर्माणाधीन पुलहरु मध्यकै सबैभन्दा लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई सय मिटर लम्बाईको सो पक्की मोटरेवल पुल २०७४ सालदेखि निर्माणको काम सुरु भएको हो ।

पुल नहुँदा पृथ्वी राजमार्गसम्म आवतजावत गर्नका लागि निकै समस्या भोग्दै आएका सिद्धलेक गाउँपालिकाका स्थानीय पुल निर्माणको काम अन्तिम पुगेसँगै निकै खुसी भएका छन् । पुल सञ्चालनमा आएपछि सो क्षेत्रका स्थानीयको आर्थिक अवस्था सुधारमा पनि निकै सहज हुने उनिहरुको भनाई छ ।

पृथ्वी राजमार्गलाई सिद्धलेक गाउँपालिकासँग सिधै मोटर सञ्चालनका लागी गत पाँच वर्ष अघिदेखि निर्माणाधीन अवस्थामा रहेको सो पुलबाट आगामी दशैंदेखी मोटर सञ्चालनको तयारी भईरहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

जिल्लाभित्र पर्ने त्रिशुली नदी वारपार गर्नका लागी विभिन्न स्थानहरुमा सातवटा पक्कि मोटरेवल पुल निर्माण भएको छ । ती पुलहरुमध्ये सबैभन्दा लामो गजुरी गाउँपालिकाको घाटवेसीलाई सिद्धलेक गाउँपालीकास्थित पिपलटार जोड्नका लागी पाँच वर्षदेखी निर्माण सुरु गरेको सो पुल दुई सय मिटर लम्बाईको छ ।

उक्त पुल निर्माणको काम पन्चानब्बे प्रतिशत भन्दा धेरै सम्पन्न भईसकेको छ । अब पुलको बार राख्ने काम धमाधम भईरहेको छ भने पुलको स्पान ढलानको काम थोरै मात्र बाँकी रहेको छ । पुलको दायाँबाँया पर्ने एक्सीस रोड निर्माणको काम समेत तीब्र गतिमा भईरहेको छ ।

पुल निर्माण सम्पन्न भएसँगै सो क्षेत्रमा उत्पादित कृषी तथा पशुजन्य उत्पादन सिधै बजारमा बिक्रिका लागि ल्याउन सजिलो हुने भन्दै तरकारी उत्पादक किसानहरु पनि निकै हर्षित भएका छन् । सिद्धलेक गाउँपालिकास्थित पिपलटारका स्थानीयहरुको मुख्य पेशा तरकारी उत्पादन रहेको छ ।

पुल निर्माणका लागी नेपाल सरकार सडक विभागले तीस करोड रुपैयाँको लागतमा महादेव खिम्ती निर्माण सेवा नामक ठेकेदार कम्पनीलाई जिम्मा दिईएको हो । २०७४ सालमा तीन वर्षमा निर्माण सम्पन्न गरी निर्माणको जिम्मा दिईएको सो कम्पनीले कोभिडलगाएत विभिन्न कारण देखाई निर्माणको काममा ढिलाई गरेको हो ।