काबिल प्रहरी अधिकृतको अपमानजनक बहिर्गमन

काबिल प्रहरी अधिकृतको अपमानजनक बहिर्गमन



काजी भीम मल्लले कान्तिपुर राज्यको भलाइको लागि दिलोज्यान दिएर काम गरेका थिए । भीम मल्लले दुराशययुक्त कार्य गरेको तथ्य इतिहासमा काहिँ कतै भेटिँदैन । उनी निर्दाेष एवं कान्तिपुर राज्य तथा राजाप्रति पूर्ण समर्पित थिए । यस्तो अवस्थामा उनका तर्फबाट कुनै सफाई नपर्खिई झुट्टा आरोपमा मृत्युदण्ड दिइएको थियो ।

काजी भीम मल्लकी धर्मपत्नी भुवनलक्ष्मी मल्लले, ‘देशको भलाई गर्न चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै पनि राम्रो नहोस्’ भन्ने श्राप दिएर पतिको चितामा बसेकी थिइन् ।

राजा प्रताप मल्लले राजकाज गर्दै जाँदा सत्य तथ्य खुल्दै गयो । पछि उनलाई थाहा भयो, काजी भीम मल्ल निर्दोष रहेछन् । उनले पश्चाताप त गरे तर भीम मल्लको प्राण त उनले लिइसकेका थिए ।

हो, यही घटनासँग मिल्दोजुल्दो व्यवहार एक काबिल र क्षमतावान् नेपाल प्रहरीका उच्च अधिकृत विश्वराज पोखरेलमाथि भयो । वर्तमान राज्यसत्ताले उनको प्राण त लिएन, तर जीवनभर गरेको मेहेनत, लगनशीलता र क्षमतालाई धुलिसात पारेर मरेतुल्य बनायो ।

प्रहरी सेवामा २९ वर्ष सेवा गर्दा काबिल र अब्बल रहेका पोखरेल अन्ततः आँसु बगाउँदै घर फर्किनु प-यो । उनै प्रहरी अधिकृत सेवामा प्रवेश गर्दैगर्दा वि.सं. २०४९ सालमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा त्यसबेला गृहमन्त्री थिए । संयोगबस् अहिले उनै देउवाले शासकीय दम्भ देखाएर पोखरेलको गतिमा ब्रेकमात्र लगाएनन्, प्रताडित बनेर अपमानजनक अवकाश लिनुपर्ने अवस्थामा पु-याइदिए ।

इतिहास साक्षी छ– पोखरेल भन्दा डिआईजीमा १ वर्ष र एआईजीमा डेढ बर्ष गरी जम्मा अढाई बर्ष जुनियर अधिकृतलाई प्रधानमन्त्री देउवाले प्रहरी प्रमुख (आईजीपी) बनाएपछि झण्डै तीन दशकको सेवा अवधिमा विश्वराजले इमान्दार भएर बगाएको रगत पसिनाको मूल्य धुलिसात बन्न पुग्यो ।

ढिलो चाँडो प्रधानमन्त्री देउवा यो घटनाबाट पछुताउने छन् । तर वि.सं. २०७९ साउन १९ गते नै विश्वराज सेवाबाट अपमानको भारी बोकेर घर फर्किसकेका छन् ।

कांग्रेस परिवारमा जन्मिएका, पिताले प्रजातन्त्रका लागि जेलनेल भोगेको प्रत्यक्ष देखेका विश्वराजले लोकतन्त्रका लागि लडेको पार्टी कांग्रेस र त्यसका प्रधानमन्त्री देउवाले नै यति ठूलो अपमानजनक व्यवहार गर्लान् भन्ने कहिल्यै कल्पनासमेत गरेका थिएनन् । यदि यतिबेला उनका बुवा लक्ष्मणप्रसाद पोखरेल जीवित हुँदा हुन त कांग्रेसले गरेको यो अपमान देखेर हिजोको आफ्नो कर्मलाई कति धिकार्थे होलान् ?

कांग्रेस मात्र होइन, देउवा सरकारले प्रहरी संगठनमा विश्वराज पोखरेलको व्यवसायिकता, क्षमता, इमान्दारितालाई चिन्न सकेन । वा, चिनेरै पनि अनेक प्रलोभनमा परेर प्रधानमन्त्री देउवा र उनको पारिवारिक नाताले बेइमानी गरे । बरु अघिल्लो केपी ओलीको कम्युनिष्ट सरकारले उनको क्षमतालाई चिनेर प्रहरी संगठनको नेतृत्व गर्ने गरी अगाडि बढाएको थियो ।

केपी ओली सरकारको पालामा तीन जना आईजीपीको नियुक्ति भयो । आफूसँग विचार नमिले पनि एक नम्बर डिआईजी वा एआईजीलाई नै प्रहरी संगठनको नेतृत्व ओलीले सुम्पिएका थिए । कम्युनिष्ट सरकारले त यो परम्परा कायमै राख्छ भने कांग्रेस सरकारले बिधि बिधान तोड्ने काम गर्नै सक्दैन भन्ने कुरामा पोखरेल ढुक्कजस्तै थिए ।

नेविसंघ पृष्ठभूमि भएका सर्वेन्द्र खनाल नेपाली कांग्रेसका कार्यकर्ता हुन् भन्ने जान्दाजान्दै केपी ओलीले व्यवसायिक, सक्षम र इमान्दार डिआईजी रमेश खरेललाई आईजीपी नबनाएर एक नम्बरमै रहेका सर्वेन्द्र खनाललाई आईजीपी बनाएर प्रहरी संगठनलाई राजनीतिकरण हुनबाट जोगाएका थिए । त्यसपछि एक नम्बर डिआईजी ठाकुर ज्ञवालीलाई आईजीपी नियुक्त गरेर प्रहरी संगठनको संवेदनशीलता बुझेका थिए ।

त्यसैगरी अर्को नियुक्तिमा एआईजीहरु शैलेश थापा क्षेत्री र हरि पाल दुबै आईजीपीका सशक्त दावेदार थिए । केपी ओलीका नजिकका व्यापारी आङ्छिरिङ् शेर्पाले आफ्नो मान्छे हरि पाललाई आईजीपी बनाउनु पर्छ भनेर धेरै जोडबल लगाए । तर ओलीले ती सबै कुरालाई बेवास्ता गरेर प्रहरी संगठनको महत्व हेरेर एक नम्बरमा रहेका शैलेश थापा क्षेत्रीलाई नै आईजीपी बनाए ।

यो घाम जत्तिकै छर्लङ् भएको कुरा हो– प्रहरीको विभिन्न इकाइमा जिम्मेवारी बोकेका अधिकांश प्रहरीका प्रमुखहरुको व्यापारीहरुसँग उठबस हुने गर्छ । निजी स्वार्थमा परेर देश र संगठनलाई नै असर गर्ने कार्य गर्ने प्रहरी अधिकृत असरल्ल भेटिन्छन् । तर, विश्वराज पोखरेलको नाम कुनै व्यापारीसँग जोडिएको भेटिदैन । प्रलोभनमा पार्न उनीसम्म पुग्ने व्यवसायीलाई उल्टै पाठ पढाएर फर्काउने गरेका धेरै उदाहरण मिडियामा आएका थिए ।

प्रहरी सेवामा रहँदा घरपरिवार, आफन्त, साथीभाइ केही नभनी अहोरात्र संगठन मात्र भनेर लागेका पोखरेल कोरोना महामारीमा आठ महिनासम्म घर आएनन्, कार्यालयमै बसे, युनिर्फममै सुते, सर्वसाधारणको सेवामै जुटे । विभिन्न बैंक तथा व्यवसायीहरुसँग सहयोग मागेर काँधमा दाल चामलको बोरा बोकेर बृद्धा आश्रम, अनाथ बालबालिकादेखि सर्वसाधारणको घरदैलोसम्म पुगे । ‘कोही भोकै भए हामीलाई सम्पर्क गर्नुस्’ भनेर सार्वजनिक आह्वान नै गरे ।

प्रहरी संगठनले पनि उनलाई सम्भावित आईजीपीकै रुपमा अगाडि बढाएको थियो । हुनेवाला आईजीपीलाई तयार गर्न एआईजी हुँदा विभिन्न विभागको नेतृत्व गर्न दिने प्रचलन छ । त्यही प्रचलन अनुसार पोखरेलले पाएका ४ वटा महत्वपूर्ण विभागको सफलतापूर्वक नेतृत्व गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेका थिए ।

उनीसँग प्रहरी संगठनको व्यापक सुधारको योजना थियो । भ्याली प्रहरी प्रमुख हुँदा वृत्तहरुको भ्रमण गरेर कार्यालय प्रमुख र सिपाईका लागि एउटै मेस बनाइदिएका थिए । उनी सानो ठूलो नभनी सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्छन् । तल्ला दर्जाका प्रहरीलाई प्रोत्सहान गरे संगठन प्रभावकारी हुने उनको मान्यता थियो । त्यसैगरी उनले ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ सञ्चालन गरेर समुदायमा पुगेर शान्ति सुरक्षाको अवस्था र आम जनतासँग प्रहरी जोडिने कार्यक्रमको सुरुवात गरेका थिए ।

यी मान्यतालाई कार्यान्वयनमा ल्याउने विश्वराजको सपना त्यत्तिबेला ध्वस्त भयो, जतिबेला आफूभन्दा १७ महिना जुनियर, मानवअधिकार हननका आरोपी र संगठनभित्रै हत्याअभियोगले निलम्बनमा परेका कलंकित धीरजप्रताप सिंहलाई प्रधानमन्त्री देउवाले आईजीपीका रुपमा अगाडि सारे । खेलोमेलो धेरै भए होलान्, इमान्दार अफिसरले बुझ्ने कुरा पनि भएन, तर जे भयो त्यो वि.सं. १७०७ मा काजी भीम मल्ललाई त्यही भएको थियो ।

लक्ष्मीनरसिंह मल्ल भनेका शेरबहादुर देउवा हुन्, विश्वराज काजी भीम मल्लमा रुपान्तरण भए । प्रधानमन्त्री देउवाले पत्नी आरजु राणा, साला भूषण राणा र भाइभारदारको कुरा सुनेर देश र संगठनको भलो चिताउने विश्वराज पोखरेलमाथि अपमानजनक व्यवहारमात्र देखाएनन्, एउटा काबिल र अब्बल प्रहरी अधिकृतको करिअर कत्लेआम गरिदिए । २००७ सालमै अन्त्य भएको राणा शासन विश्वराज पोखरेलका लागि भने अन्त्य भएको रहेनछ ।

२१ औं शताब्दीमा निरंकुश शासकलाई न्यायालयले ट्रयाकमा ल्याउँछ भन्ने ठानिन्छ । प्रशस्त प्रमाण, आधार र नजिर हुँदाहुँदै पनि प्रधानमन्त्री देउवाको अगाडि न्यायालय निरीह देखियो । ढिलो चाँडो प्रधानमन्त्री देउवा यो घटनाबाट पछुताउने छन् । तर वि.सं. २०७९ साउन १९ गते नै विश्वराज सेवाबाट अपमानको भारी बोकेर घर फर्किसकेका छन् ।

अन्त्यमा, विश्वराज पोखरेलको प्रहरी सेवाबाट भएको अवकाश जीवन सार्थक, सिर्जनशील र सुखमय रहोस् हाम्रो शुभकामना ।