गन्तव्यहीन यात्रीको सपना

गन्तव्यहीन यात्रीको सपना



रोटेपिङ जस्तै घुम्ने विशाल लण्डन आईमा चढेर सुस्तरी सुस्तरी सबैभन्दा अग्लो स्थानमा पुगेपछि विहङ्गम दृष्टिले नियालेर बिगबेन, बकिङहाम दरबार र थेम्स नदीलाई हेर्दै मस्त थियो थामबहादुर थाङदेन । महारानी एलिज्याबेथको राज्यारोहणको हीरक जयन्तीमा एकसय किस्तीहरु तैरिएर महारानीलाई स्वागत गर्ने थेम्सनदी शान्त देखिएको छ । फाट्टफुट्ट ठुला-साना किस्तिहरु कुदिरहेका छन् । यदि कुनै अग्ला जहाजहरु आइपुगेमा नगरबधुले आफ्नो ग्राहक आएपछि घर्‍याक्क ढोका खोलेझैं टावरब्रिज उघ्रिने गर्छ ।

जहाज गइसकेपछि बन्द हुन्छ र कमिलाको ताँत लागेझै ताँत लागेका गाडीहरु घुइँकिन थाल्छन पुलमाथि । जङ्गबहादुरले भ्रमण गरेको लन्दन नै हो अहिलेको लण्डन । उसले बर्णन गरेको तिम्स नदी नै हो अहिलेको थेम्स नदि । उनी लण्डन आउँदा लण्डनआई बनेको नै थिएन । नभए लण्डनआईको अग्लो स्थानमा पुगेर धरहराबाट दुईवटा छाता हातमा लिएर फालहाले झै फाल हाल्ने थिए होलान् । महारानी भिक्टोरियाको पालामा बेलायत यात्रामा आएका थिए जङ्गबहादुर । जङ्गेसँग जादुमन्तर टुनामुना भएकोले उड्न सक्ने शक्ति थियो रे, दुईवटा छाता त देखाउटी मात्रै हो । उनको त्यही अलौकिक शक्ति प्रयोग गरेर झिंगा रुपधारण गरेर सानो प्वाँलबाट महारानी भिक्टोरियाको शयनकक्षमा प्रवेश गरेका थिए रे भन्ने, बुढापाकाको मुखारबिन्दबाट थामबहादुरले दन्त्य कथाझै सुनेको थियो ।

बेलायत आउने पहिलो नेपाली जङ्गबहादुरले गोमाङ्स भक्षक कुइरेहरुलाई समेत अछुत सावित गरेर आफ्नै भान्से लिएर आएका थिए रे । बेलायती महारानीबाट पहिलो औपचारिक राजकीय सम्मान प्राप्त गर्ने उनै भाग्यमानी जङ्गबहादुर महारानी भिक्टोरियाको शयन कक्षमा प्रवेश किन गरे ? अछुत मानेको गोमाङ्स भक्षक महारानीलाई छोएकी छोएनन कुन्नी ? महारानीको श्रीमान् राजकुमार अलबर्ट कहाँ थिए ? त्यो त जङ्गेलाई नै थाहा होला । अहिले महारानी एलिज्यावेथ द्वितियाको पालामा थामबहादुर बेलायत आइपुगेका छन् गन्तव्यहीन यात्री बनेर ।

महारानी भिक्टोरियाले पनि आफ्नाे राज्यरोहणको हीरक जयन्ती मनाएकी थिइन् र एलिज्यावेथ द्वितियाले पनि मनाउन सफल भइन । तिनै मिल्दोजुल्दो कुराले जङ्गबहादुरको बेलायत यात्राको झल्यास सम्झना आएको हो थामबहादुरलाई । यति मात्र होइन लण्डनआईमा चढेर विस्तारै जमिनबाट उकालो उठन थालेपछि थामबहादुरलाई पहाड गाउँमा राटेपिङमा खेलेको याद पनि दिलायो र सोल्टिनीसँग ठट्टा गरेको पनि उसको मानसपटल भित्र सलबलाउन थाल्यो ।

गतसाल नेपाल गएकोबेला एकजना मधेसी मूलका भाई पानीपुरी बेचीरहेकोमा सोल्टिनी झुम्मिएर पानीपुरी खाइरहेकी थिई । थामबहादुरले ठट्टा गरेर प्रश्न गर्‍यो-

हाउ………..सोल्टिनी जिब्रो पडकाएर के खाइराख्या……..? बेलायत नजाने हो भन्या ?

हक्की स्वभावकी सोल्टिनीले प्रश्न तेर्साई ! बेलायतमा पानीपुरी खाना पाइन्छ- पाइन्न सोल्टी राजा ?

थामबहादुरले उत्तर दियो, यहाँ जस्तो यसरी बाटो बाटोमा बेच्न ल्याउँदैनन् इन्डियन मीठाई पसलहरुमा पाइएला ।
ए ककक त्यसो भए मलाई बेलायत–सेलायत चाहिएन सोल्टी राजा ! म त बरु यै भैयासँग बिहे गरेर नेपाल नै बस्छु ।
मधेसी मूलको २५ बर्ष जतिको युवाको मुहारमा कान्ति छायो र उनको जुङ्गाको रेखीले ढाकेको ओंठ फिस्स च्यात्तियो हिउँ चम्किए जस्तै उनका दाँतहरु टलक्क टल्किए ।

सायद उनको जीवनमा यस्तो मीठो ठट्टा सुनेको पहिलोपल्ट हुनपर्छ भैयाले । थामबहादुरको छुट्टी सकिएर बेलायत फर्किएपछि पनि यो दृश्य उसको नजरमा नाँचिरहन्छ । जहिले पनि दुइटा कुरा उसले सम्झने गर्छ । पहिलो त यो पानीपुरी भन्दापनि महत्ताहीन बेलायतमा बेकारमा आइएछ भन्ने । अर्को चाही सुङ्गुरलाई पनि स्वर्ग जाने हो भन्दा स्वर्गमा आची खान पाइन्छ पाइन्न भनेर प्रश्न गरेको थियो रे ! सोल्टिनीको पनि दिमाग त सुँगुरको भन्दा बढी रहेनछ भन्ने । त्यहीँ भएर बेलायत महत्ताहीन हो या सोल्टीनीको बुद्धीहीन हो उसलाई भ्रम पर्नु परेकोछ ।

थामबहदुरको काम यस्तो थियो कि थोरै तलव धेरै घण्टा कहिल्यै बिदा नहुने महिनामा तीस दिननै काम गर्नुपर्ने बलैले एकदिन छुट्टी मिलाएर श्रीमतीलाई पनि जानकारी नदिई विन्दास भएर घुम्न गएको बेला लण्डनआई माथिबाट सोल्टीनीसँग ठट्टागर्न मनलागेर फोन निकालेर डायल गर्‍यो । युग कहाँ बाट कहाँ पुगिसकेको छ, लण्डन आई माथिबाट आइफोन फाइभ प्रयोग गरेर सोल्टिनीसँग ठट्टागर्न पाउनु भनेको सामान्य कुरा होइन । तर प्रविधिले छलाङ्ग मारेर यहाँसम्म आएपछि समान्य भएको मान्नु पर्छ। त्यहिँ अत्याधुनिक सञ्चार सुविधालाई प्रयोग गरेर नेपालकी सोल्टिनीलाई भनिरेहछ । सोल्टिनीे यी अहिले म लण्डन आईमा मजा लिइरहेकोछु । लण्डनहेर्न जाउँ भन्दा नमाने पछि कसको बाउको के लाग्दो रहेछ र ! कर्म खोटो भएपछि यस्तै हो ।

उनले ठट्टामार्ने गरे जस्तो गरेर बुढीकन्या हुन लागेकी सोल्टीनी जिस्काउनमा दालमा केही काला नदेखिएको पनि त होइन ! यदि ठट्टा-ठट्टामै सोल्टिनी बेलायत हेर्न तयार भइन भने त बुढेसकाल तिर लागेकी निरक्षर श्रीमतीलाई फकाई फुलाई गरेर पारपाचुकेको कागजातमा ल्याप्चे थिचाएर आफ्नो गन्तब्यहीन यात्रामा सोल्टिनीलाई सहयात्रा गराएर बेलायतलाई नै अन्तिम गन्तब्य बनाउने सपना देख्न थाल्छ । न घर छ न थर छ आफ्नो महिनावारी तलवले एक ओछयान सुत्न र एक गाँस टिप्न गाह्रो बेलायतलाई नै फेरी अन्तिम गन्तब्य होला भनेर उसलाई पटकै विश्वास भने लाग्दैन ।

थामबहादुरले बेलायत आएर घर लिएर बसेका अरु साथीहरुको कन्तबिजोग पनि नहेरेको होइन । एकजना आप्mनै पल्टनको दाई पर्नेले नेपालमा घरजग्गाको भाउ घटेकोबेला आफ्नो घर बेचेर बेलायतमा मुल्य बढेकोबेला घर मोर्गेज गरेको थियो । उसले घर मोर्गेज गरेको ६ महिना नबित्दै बेलायतमा प्रोप्रटीको भाउ तल झर्‍यो र नेपालमा दशबर्षे जनयुद्धको अन्त्य र गणतन्त्रको उदयसँगै भदौरे भेल उर्लिए जस्तै घर जग्गाको भाउ बढेपछि ऊ झण्डै फेन्ट भएको थियो । नेपालमा सत्तरीलाखमा बेचेको घर हेर्दाहेर्दै पौने दुइकरोड पुग्यो ।

बेलायतमा दुइलाख पचास हजार पाउन्डमा मोर्गेज गरेको घर दुइलाखमा झरेपछि उसको भाग्य उभिन्डो भएकोले पागल हुन तयारी भएको थियो । तर उसलाई चित्त बुझाउने मेलो चाहिँ आफ्नै नम्बरी बेलायती भिसा पाएपछि के नै पाएँ जत्तिकै सोच्दै नसोची खुसीले उफ्रिएर सबै घरजग्गा बेचेर सपरिवार नै बेलायत लिएर आएपछि एकडेढ बर्षसम्म काम पनि पाएन । परिवारले घर भाडामा लिएर बस्ने खाने गरेपछि नेपालबाट जायजेथा बेचेर ल्याएको श्रीसम्पक्ति सकिएर मानसिक संतुलन नै गुमाएको थियो । र पछि इसाई धर्माबलम्बी साथीहरुले गिर्जाघरमा लगेर प्रार्थना गरेपछि सबै निको हुन्छ भनेर श्रीमतीले गिर्जाघर लिएर जाने गथ्र्यो ।

ब्यबहार बिग्रिएर खुस्किएको दिमाग इसुले जोरजाम गरेर मर्मत गर्ला भन्ने आशामा रहेकी विचरा उनकी श्रीमती ! उनको श्रीमान गिर्जाघर गएर प्रार्थना गर्न भने मरेकाटे जान नमान्ने भएकोछ । गिर्जाघर गएदेखि उनको मुखमा एकथोपो पनि सोमरस नपसेपछि ऊ झनै आक्रोसित बनेको छ । लिम्बू परिवारमा हुर्केर सानैबाट तोङ्बा र रक्सीको चुस्की लिएको मान्छे अझै बेलायत आएपछि काम नपाएको झ्वाँकमा प्रत्येकरात एकबोतल हुस्की सिद्धाएपछि मात्रै मन सित्तल बनाएर सुत्ने बानी परेको कहाँ निद लाग्थ्यो उसलाई । त्यहीँ क्रममा बिस्तारै मानसिक संतुलन गुम्दै गएको हो उनको । इसाई धर्माबलम्बी मित्रहरुले उनलाई मादक पदार्थ सेवन नगर्ने आग्रहका साथ प्रभुलाई प्रर्थना गरेर उनलाई निको बनाउने आश्वासन दिन्छन् ।

उसलाई ज्यादै जङ्ग चलेर आएपछि उनीहरुलाई ठाडै प्रश्न गर्न थाल्छ ।

तिमीहरु को हौ ? मलाई खाने र पिउनेमा प्रतिबन्ध लगाउनेहरु म सानै देखि खाइपिई ल्याएको लिम्बूको छोरो हुँ । तिमीहरुले यो धर्म मानेको कतिभो हँ ? कडिकिएर प्रश्न गर्छ ।

उनीहरुको समुहबाट कतिले तीनवर्ष, कतिले पाँचवर्ष, कतिले दशवर्ष, कतिले पन्ध्रवर्ष, कतिले बीसवर्ष, सबै भन्दा धरैवर्ष भएको पुरानो व्यक्तिले पच्चिस वर्षदेखि मनाएको र उनीहरु जव ख्रिष्टीयन धर्ममा प्रवेश गरेपछि जिन्दगी नै कायापल्ट भएको र प्रभुले उनीहरुलाई अलौकिक शक्ति समेत प्रदान गरेको जानकारी दिएर विश्वास दिलाउन खाजिरहेका थिए ।

फेरि उनले पत्युत्तरमा ए… तिमीहरु सबै भन्दा पुरानोले यो धर्म मानेको पच्चिस वर्ष भएछ होइन ? तर यहाँको खैरेले त पच्चिस सयबर्ष अघिदेखि पो मान्दै आएको छ त ! किन उनीहरु रक्सी पिउँछन ? रमाइलो गर्छन टेलिभिजन हेर्छन र महिलाहरु गरगहना लगाउँछन हँ ? पच्चिस सयवर्ष पुरानो कि पच्चिस वर्ष पुरानो हँ ? तिमीहरु कहाँबाट आइहाल्यौ पिउनु नहुने, खान नहुने, हेर्न नहुने हँ ? हाम्रै पल्टनमा आएका गोरा अफिसरहरुले मेसिङ्ग खाँदा रगत लगाएर पकाएको मासु ग्वाँम–ग्वाँम खान्थे मन्दिरमा गएर टीका लगाउँथे । अहिले यहाँपनि उनीहरु ब्ल्याक पुडिङ्ग खन्छन । ब्ल्याक पुडिङ्ग सुपरमार्केट तिर किन्न पाइन्छ । त्यो त सुङ्गुरको रगत र बोसोबाट तयारी भएको हुन्छ त ? अनि अहिलेको भरखरका केटा केटीहरुलाई हे¥या छ ? नाक, कान, नाइटो, जिब्रो जताततै छेडेर मुन्द्री लगाएको ?

होइन हजुर उनीहरु गल्तीमा छन । भनेर फेरि कन्भिन्स गर्न खोजिरहेका थिए त्यो समुहले ।

फेरि उसले प्रत्युत्तरमा भन्न थाल्यो पच्चिस सयवर्ष धेरै कि पच्चिस वर्ष धेरै ? पच्चिस सयवर्ष देखि मान्दै आएको ले खान पिउन हुने, उनीहरु गलत मान्छेहरु ? पच्चिस वर्ष देखि मान्नेले खान पिउन नहुने, सही मान्छे तपाइँहरु ? हा…हा…हा…!

त्यो समुह आजित भएर हातले दुइ कुम-कुममा र निधारमा तीनपटक छुएर प्रभुसँग प्रार्थना गर्न थाल्छन, प्रभु हामी अन्जान र अज्ञान छौ हामी हजुरको चरण कमलमा शीर झुकाएर माफी माग्छौ । उहाँले गर्नु भएको जुन बचन उहाँको मुखबाट फुत्कियो अज्ञानताको कारणले हो । उहाँमा अझै पनि सैतानीपना छ उहाँको यो सैतानीपना हटाउने कोशिस गरिरहेका छौ माफ गर्नुहोला मात्र के भनेका थिए-माँ झ्याक्ने जाँठा हो म तिमीहरुको सैतान रे ! फेजा फेत्ते-फेत्ते भन्दै बैठक कोठाबाट दगुरेर भान्साकोठा भित्र सिरुपाते खुकुरी लिन दगुर्नसाथ त्यो जयमोसीको समुह पकैपनि प्रभुसँग भेट भइने भो भनेर भान्साकोठाबाट सिरुपाते लिएर आउनु अधि नै सबै टाप कसिसकेका थिए ।

केवल गन्तव्यहीन यात्री थामबहादुर मात्रै ङिच्च परेर बसीरहेको थियो र उसले फकाउन थाल्यो, अम्फोई अब छाडी दिनु होस हाउ…….! सबै हिडी त सके त्यो फेजा राख्नु होस अब काम छैन । सेन्सब्री र टेस्कोमा एक लिटरवाला बेल हुस्की सेल लागेर बाइस पाउण्ड देखि बाह्र पाउण्डमा झरेको छ म दुइबोतल लिएर आइदिउँला ।

मानसिक संतुलन गुमेका मानिसहरु कहिले काहीँ ज्यादै मीठो तर्क गर्ने गर्छन । मानसिक संतुलन गुमे पनि यो दाइको तर्क हरिप छ यार…! कुनै दिन आफ्नो पनि यसरि नै खुस्कियो भने के गर्ने होला ! यो बेलायतले गर्नु गर्‍यो भनेर थामबहादुरले मनमनै सोच्यो । बेलायती सेनामा भर्ती भएर धर्के अफिसरलाई सलाम गर्दापनि त्यै हो तेरो सलाम गराई जाँठा घामट सिपाइँ भनेर टोकाइका साथ पाँडेगाली खाएको पल्टनघरलाई उनले रोजगारको अन्तिम गन्तब्य सोचेको थियो । अवकाशपछि जापान गएर जापानीहरुको बकायारो र कोनोयारो भन्ने पाँडेगाली खान पुग्यो र उनले फेरी जापान नै रोजगारको अन्तिम गन्तब्य भन्ठान्यो ।

जापानबाट फर्केपछि कतै अन्य देश नजाने उसको प्रतिबद्धता भङ्ग भएर, अप्रत्यासित बेलायत आउनु परेकोले गन्तब्यहीन भएर यात्रारत ऊ अवको गन्तब्य बेलायतमै अन्त बनाउन चाहेपनि भाग्यले डोर्‍याएर फेरी कुन देश पुर्‍याउने हो ? केही थाहा छैन ।
तीसबर्षको उमेरसम्म बेलायतको बन्दुक बोक्यो तीसबर्षको उमेर पार गर्नसाथ जापान हान्नियो र चालिसबर्ष पारगर्न साथ फेरि बेलायत नै आउनु परेकोले अब पचासबर्ष काटेपछि कहाँ र कुन देशको गन्तब्य लिएर यायावर जीवन बिताउनु पर्ने थाहा पत्तो छैन ।

आधा भन्दा बढी जिन्दगीको चर्खा घुमिसक्दा पनि थामबहादुर ले गन्तव्यहीन यात्री हुनुमा आफैलाई दोषी पनि ठान्दैन । उ सानो छँदा भाग्यमा जे लेखिएको हुन्छ त्यही भोग्नुपर्छ भन्ने बुढापाकाहरुसँग खुबै रिसाउने गथ्र्यो थामबहादुर । उसले भन्ने गथ्र्यो भाग्य निर्माण त आफैले पो गर्नुपर्छ के भनेका यी पागलहरुले । आफ्नो भाग्य निर्माण गर्न नसकेपछि हुतिहारा कुरा गर्छन भन्ने गथ्र्यो । अहिले उसले भाग्य निर्माण गर्ने भाग्यविधाता लाई नै विश्वास गर्न थालेको छ । छैठीको दिन निधारमा लेखेको आफैले भोगेर मेटाउन पर्छ भन्ने बुढापाकाहरुको भनाइमा अहिले सतप्रतिशत सहमत भएको छ । बाँकी जिन्दगीकोबारे के लेखिएको छ भनेर अहिलेको अहिले उसको निधारको छाला उप्काएर हेरौंझैं लाग्न थालेको छ उसलाई ।

कतिपय आफूलाई भायमानी सोच्ने साथीहरुले नेपालको घर बेचेर बेलायतमा घर मोर्गेज गरेर चामलले पीठो साटेपनि सलाईको बट्टा जस्तै खक्रक्क परेको चित्त बुझाउने एउटा मेलो त छ । भन्नै पर्ने हो भने बेलायतमा घर किनेर, Landlord भएकोमा गर्वको कुरा नै भन्नु पर्छ । Landlord शव्दलाई सिधै नेपालीमा अर्थ लगाउने हो भने भूपतिनै हो भन्ने लाग्छ । नेपालमा एउटा घरको मालिकलाई घरपति बाबा-आमा भनिन्छ र शहरको घरमा भाडा लिएर बसेको भए त्यो घरको मालिकलाई घरबेटी पनि भन्ने चलन छ । थोरै ब्यक्तिले घरको साहु भन्ने शव्दपनि प्रयोग गर्छन् ।

बेलायतमा चाही Landlord भन्नै पर्ने क्या गजव छ वा ! आ-आफ्नै देशको चलन, नेपालमा पनि बाटोको नाङ्लो पसले देखि लिएर नेपाल देशनै किन्न सक्ने माडवारीलाई समेत साहुजी भने जस्तै त हो । जापानमा कामदारलाई एजेन्टसम्म पुर्‍याएर कमिशन खाने दालाललाई पनि साचो सान् नै भनिन्छ । र ठुलठुला कम्पनीका मालिक, ब्यापारी, उद्योगपति सबैलाई साचो सान् नै भने जस्तै त हो नि । साचो भन्नुको अर्थनै साहुजी हो । बेलायतमा आएर जाबो Landlord उपाधि थाम्न नसक्ने नाम मात्रैको थामबहादुर थाङ्देन के सोल्टिनी बेलायत भित्राउने सपना देख्छस थुइक्क ! घर न थरको यायावर गन्तब्यहीन यात्री ! भनेर मनमनै आफूले आफैलाई थुक्छ ।

फेरि अर्को मनले सोच्छ घर मोर्गेज गर्ने नेपालीहरुले पछि नेपाल नै फर्किनु परे घर बिक्री गरेर आफ्नो लगानी पैसा त सबै गोजीमा झ्वाँम्म पस्छ भनेर सोचेका होलान । दिनै तेल मसला झ्वाँइ पारेको तिमीहरुको घर त्यो पनि सयौबर्ष पुरानो कुन आँखा फुटेको गोराले मर्मत सम्भार नगरि किन्छ र ? पस्नु बित्तिकै स्पाइस हाउस जस्तो डुङ्ङ बास्ना चल्छ । गोरालाई सित्तै दिए नि लादैन । सबै नेपालीहरु बेलायतमा वाक्क लागेर त्यसबेला सबैले घर बेच्ने सुरमा भएपछि अरु कसले किनि दिने र ? बेलायतमा प्रोपर्टी रिनोभेसन सस्तो सोचेको होला । रिनोभेसन नगरि गोराले किन्ने कुरै भएन । यी Landlord सालेहरु अहिले हामी मोर्गेज नगर्नेहरुले व्यर्थे घरको रेन्टल तिरेर अर्काको गोजी भर्दैछन बुद्धुहरुले भनेर उपेक्षित शव्दको बञ्चरो कानमा प्रहार गर्नेहरुलाई हेरौंला म पनि…… !

तिनीहरुको अनुहार हेर्न आफूलाई घृणा लागेनी, उनीहरुबाट आफू उपेक्षित भएपनि बेलायत आएपछि छहारि त लिनै पर्‍यो । त्यही भएर नेपालीकै घरमा सबै रहनसहन मिल्ने भन्ने सोंचले एकजना Landlord हुँ भन्ने नेपालीकोमा श्रीमती र आफ्नो लागि एउटा कोठा लिएर उनै Landlord सँगै जोइन्ट फ्यामिली बसेको थामबहादुरले हिमपात भएर तापक्रम माइनस भएको बेलापनि अत्याधिक बिल आउँछ भनि सेन्ट्रल हिटिङ बन्द गरिदिने, नुहाउने बेला बोइलर बन्द गरिदिने जस्ता अभद्र व्यवहार पनि भोगिरहेकै कुरा हो ।

सबै नेपाली Landlord हरुको नाममा लेप्पामारेर मनमनै थामबहादुर बोल्न थाल्छ । लाककक खा तिमीहरुले……….! मर्ने बेला गिरगिरो ! मोर्गेजको पैसा कसले तिर्ने भनेर घिटिक घिटिक सास अल्झेपछि थाहा होला । पचासबर्ष नाघि सकियो अव कति पो बाँचिएला र ? छोराछोरीको नाममा नेपालको जस्तो खर्लप्पै नामसारी गरिदिन्छु भन्दा पनि चालिस प्रतिशत कि कति त सरकारलाई बुझाउनु पर्ने कि के भन्छन……। तीस मिनेटको समय भित्र लण्डन आइको चर्खाले एकफन्को मार्‍यो ।

थामबहादुरको जिन्दगीको चर्खापनि यसरी नै घुमिरहेछ फनफन्ती सास भइन्जेल आशको झोला भिरेर । उस्को मस्तिष्कले पनि तीस मिनेट भरिमा नेपालकी सोल्टीनी देखि लिएर सारा संसार चक्कर मारिसक्यो र मनमनै धिक्कार्‍यो । व्यर्थै यो नकचरी सोल्टिनीसँगको मनको लड्डूपो………, मैले न कसैको घर लिनु छ न कसैलाई बेच्नु छ । म त केवल गन्तव्यहीन यात्री न हुँ के को टाउको दुःखाई………..।