काठमाडौँ। रोल्पामा सशस्त्र द्वन्द्वबाट विस्थापित भई जागिर गुमाएका १५ जना शिक्षक पुनर्बहाली भएका छन् । उनीहरूले आइतबार शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाबाट पुनर्बहालीको पत्र बुझी दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन गएका छन् ।
यसरी पुनर्बहाली हुने शिक्षकहरूमा २ जना निम्न माध्यामिक तह र १३ जना प्राथमिक तहका रहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जानकारी दिएको छ । जिल्लाका रिक्त रहेका विद्यालयहरूमा उनीहरूलाई पुनर्बहालीको पत्रसहित पठाई सकिएको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाका कार्यालय प्रमुख दुर्गाबहादुर खड्काले बताए ।
पुनर्बहाली हुने शिक्षकहरूमा निम्न माध्यमिक तहमा कुमार शाह र डम्बरबहादुर बुढामगर रहेका छन् । यसैगरि प्राथमिक तहमा केशबहादुर बाँठामगर, शेरबहादुर बुढामगर, कमानसिंह पुनमगर, मनखना घर्तीमगर, दिलप्रसाद घर्तीमगर, रामचन्द रोकामगर रहेका छन् ।
पुनर्बहाली हुने प्राथमिक तहका अन्य शिक्षकहरूमा रत्नबहादुर घर्तीमगर, रेशमकुमार शाह, अम्मरबहादुर महरा, भक्तबहादुर चन्द, मनप्रसाद बुढामगर, शेरबहादुर रोकामगर र देवप्रसाद पुन रहेका छन् । सरकारले माओवादी जनयुद्ध र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीहरूलाई पुनर्बहाली र क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले देशभरका ५८६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापनको निर्णय गरेको थियो । पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षमा गठित कार्यदलले २०७३ मंसिरमा दिएको प्रतिवेदन अनुसार मन्त्री परिषद्ले सो निर्णय गरेको थियो ।
उनीहरूले विद्यालयमा हाजिर भएको मिति देखिको तलब भत्तालगायतका सुविधा दिने तर सेवाबाट हटाइको मितिदेखि पुनर्बहाली भई हाजिर नहुन्जेलको अवधिको तलब भत्ता, बिदा, पोसाक, चाडपर्व खर्चलगायत सुविधा नदिने निर्णय गरेको थियो । द्वन्द्वका कारण लामो समय लडेको कानुनी लडाइँले सार्थकता पाएका द्वन्द्व पीडित शिक्षक दिनमणि भण्डारीले प्रतिक्रिया दिए ।
प्रतिक्रिया