डिसीमा राजदूत खत्री र कांग्रेस नेताबीच भेटघाट

डिसीमा राजदूत खत्री र कांग्रेस नेताबीच भेटघाट


ग्लोब नेपाल
2.5k
Shares

वासिंगटन डिसी । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिका भ्रमणमा रहेका कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलबीच राजदूतावासमा भेटघाट सम्पन्न भएको छ। सोमवार भएको भेटघाटमा कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टसहित समितिका पदाधिकारी र नेतृत्व तहका व्यक्तिहरु सहभागी थिए।

करीब चार महिना पहिले राजदूतको रुपमा अमेरिका आएका खत्रीसँग नेपाली जनसम्पर्क समितिको नेतृत्वको यो पहिलो परिचयात्मक भेट थियो। भेटमा राजदूत खत्रीले यो बीचमा आफुले नेपाल-अमेरिका सम्बन्धका लागि समन्वय गर्नुपर्ने कुटनीतिक निकाय र विकास एजेन्सीसंग नेटवर्क स्थापना गर्ने कार्य गरेको बताए । ‘ह्वाइट हाउस, विदेश मन्त्रालय, रक्षा मन्त्रालय, युएसएआइडी,विश्व बैंकलगायतका एजेन्सीसँग नेटवर्क बढाउने काम भएको छ र म देशको हितका निम्ति निश्चित मिशन लिएर आएको प्रतिनिधि हुनाले सोही अनुसार काम गर्दैछु,मलाई तपाईंहरु सबैको सहयोग आवश्यक छ’राजदूत खत्रीले सहभागी जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुसँग आफ्नो अपेक्षा बताउंदै भने ।

भेटघाटका क्रममा राजदूत खत्रीको आफु विद्यार्थी रहेको स्मरण गर्दै कांग्रेस नेता बस्नेतले दुई देश बीचको सम्बन्धलाई अझ घनिष्ठ र बलियो बनाउन उहाँको कार्यकाल सफल हुने विश्वास व्यक्त गरे । अमेरिकामा नेपालीहरुको समस्यालाई राजदूतको रुपमा समाधान गर्न समेत उनको भूमिका हुने भन्दै नेता बस्नेतले जनसम्पर्क समितिका नेतृत्व तहका साथीहरुलाई पनि आपसी सहकार्य गरेर नेपाल र नेपालीको हितमा काम गर्न अनुरोध गरेका थिए ।

नेपाली जनसम्पर्क समितिका सभापति आनन्द विष्टले नयाँ राजदूतको रुपमा प्राध्यापक खत्रीको स्वागत गर्छु भन्दै आफुहरु नेपालीहरुको साझा समस्यालाई समाधान गरेर अघि बढ्न राजदूतावाससँग आवश्यक समन्वय गर्न सधैं तत्पर रहेको बताए । नेता विष्टले नेपालीहरुको विभिन्न समस्याको बारे राजदूत खत्रीको ध्यानाकर्षण समेत गराउनु भएको थियो। सोही क्रममा उनले नेपालीहरुको बाक्लो जनघनत्व रहेको टेक्सास र क्यालिफोर्नियामा महावाणिज्य दूतावासको कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता रहेको भन्दै राजदूतको ध्यानाकर्षण गराएका थिए ।

भेटघाटमा सहभागीहरुले दूतावासको फोन नउठ्ने,कतिपय सामान्य कामका लागि पनि दूतावास नै आइपुग्नुपर्ने जस्ता झन्झटिलो समस्याका बारे राजदूत खत्रीलाई अवगत गराएका थिए। प्रतिउत्तरमा राजदूतले फोन समस्या धेरैको गुनासो भएकोले अहिले कर्मचारीहरुको मोबाइल नम्वर नै दूतावासमा वेभसाइटमा राखेर सेवा प्रदान गर्ने कार्यको थालनी गरेको र फोनको समस्यालाई दीर्घकालीन समाधानको प्रयास गरिरहेको बताएका थिए ।

भेटमा नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय उपसभापति केशब बराल,केन्द्रीय सदस्यद्वय गोपाल विश्वकर्मा र गौतम दाहाल,समितिका मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरी,समितिको भर्जिनिया च्याप्टरका कार्यवाहक सभापति यामकुमार सिटौला,मेरिल्याण्ड च्याप्टरका संस्थापक सभापति रामचन्द्र अधिकारी,संस्थापक उपसभापति सरोजकृष्ण पुरी, भर्जिनिया च्याप्टरका किरण लामा, चन्द्र लामा, दधि ढुंगाना, डाक्टर रामहरी सुबेदी,समितिको न्यू मेक्सिको च्याप्टरका पूर्व सभापति डाक्टर देशराज संयोक,एनआरएन न्यूयोर्क च्याप्टरक पूर्व अध्यक्ष तेम्वा शेर्पा,सिन्धु सोसाइटी,न्यूयोर्कका अध्यक्ष सूर्य केसीलगायत सहभागी थिए।