चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै

चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै


ग्लोब नेपाल
702
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ ।

एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरूका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सबै बैठक बसेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्नेछ । एमाले उपमहासचिव समेत रहेका नेता विष्णु रिमालले पनि बैठकको तयारी भइरहेको बताए ।

‘बैठक बस्ने निश्चित हो । तर समय तय भैसकेको छैन । आज भोलिभित्रै सचिवालय बैठक बसेर अरू बैठक कहिले कहिले बस्ने भन्ने टुङ्गो लाग्छ’, उपमहासचिव रिमालको भनाइ छ ।

एमालेको विधानअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तय गर्ने जिम्मा केन्द्रले नै पाएको छ । तर विगतको परम्पराअनुसार औपचारिकता लागि प्रदेश र जिल्ला कमिटीबाट समेत सम्भावित उम्मेदवारबारे सुझाव माग्न सकिने एमाले नेताहरूको भनाइ छ ।

५ दलीय सत्ता गठबन्धन मिलेर चुनाव लड्ने तयारी गरिरहेका बेला एमालेले उम्मेदवार छनोट गर्दा जित्न सक्ने र टिक्न सक्ने उम्मेदवारको खोजी गर्ने बताउँदै आएको छ ।