लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रिया रोक्न अल्पकालिन आदेश

लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रिया रोक्न अल्पकालिन आदेश

‘सेटिङ’ भएको ठेक्काका मापदण्डहरु सच्याउन निर्देशन


ग्लोब नेपाल
189
Shares

भैरहवा । प्रदेश पूर्वाधार विकास प्राधिकरण लुम्बिनीले आह्वान गरेको लुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रक्रिया पुनः रोकिएको छ । उच्च अदालत तुलसीपुरको बुटवल ईजलासले अल्पकालिन आदेश जारी गर्दै ठेक्का प्रक्रिया अगाडि नबढाउन भनेपछि भवन निर्माणको ठेक्का प्रक्रिया दास्रो पटक रोकिएको हो । निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको हुन सक्ने भन्दै दायर गरेको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले प्रारम्भिक सुनुवाई गर्दै ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

निर्माण व्यवसायी संघका लुम्बिनी प्रदेश समितिका पूर्व अध्यक्ष समेत रहेका रानाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए। अदालतले भदौ १ गते पेसी तोकेर त्यसअघि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

यसअघि नै सार्वजनिक खरिद अनुगमन कार्यालयले लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्कामा ‘सेटिङ’ भएको ठेक्काका मापदण्डहरु सच्याउन निर्देशन दिएको थियो। अनुगमन कार्यालयको निर्देशनको बेवास्ता गर्दै प्राधिकरणले प्रक्रिया अगाडि बढाएपछि निर्माण व्यवसायीको तर्फबाट अदालतमा रिट दर्ता गरिउको थियो । टेण्डरका सर्तहरूका आधारमा निश्चित निर्माण व्यवसायीले भवनको ठेक्का पाउने गरी अस्पतालको टेण्डर आह्वान विषयलाई सर्वत्र आलोचना भएसँगै अदालतले तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश दिएको हो।

प्रदेश विकास पूर्वाधार प्राधिकरणले असार ९ गते कर सहित ६ अर्ब ७० करोड लागतमा भवन बनाउन आह्वान गरेको टेण्डर निश्चित निर्माण व्यवसायीलाई दिनेगरी प्रावधान राखिएको र ‘सेटिङ’मा ठेक्का लगाइएको भन्दै निर्माण व्यवसायी कम्पनीले विरोध गरेका थिए।