राष्ट्रिय अनुसन्धान विभागमा एआईजीसरहको पद थप

राष्ट्रिय अनुसन्धान विभागमा एआईजीसरहको पद थप

दुईजनाको बढुवा


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागमा एआईजी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पद थपसहित दुई जनालाई बढुवा गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थपसहित हुत्तराज थापा र ओम जोशीलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

यससँगै अव अनुसन्धानमा दुई जना अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुने भएका छन् । मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले आगामी भदौ २३ गते अनिवार्य अवकाश लिएसँगै अहिले बढुवा थापा र जोशीमध्ये एक जना सङ्गठन प्रमुख हुनेछन् । र, भदौ २३ पछि टेकेन्द्र कार्की अतिरिक्त अनुसन्धान निर्देशकमा बढुवा हुनेछन् ।

उच्च स्रोतका अनुसार थापा, जोशी र कार्की तीनै जना चिफ हुनेछन् । यदि पहिलो नम्बरमा थापालाई नै बढुवा गरेको अवस्थामा उनले तीन वर्ष नै खान पाउने छन् भने जोशी केही समय र त्यसपछि कार्कीले पालो पाउनेछन् ।

२३ सय हाराहारीमा रहेको अनुसन्धान विभागमा थप एआईजीपी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक आवश्यक नभएपछि खुमलटार र बालुवाटार मिलाउनकै लागि एक पद थप गरिएको हो । थापा प्रचण्ड निकट मानिन्छन् भने जोशी देउवा निकट हुन् ।